एमाले दैलेखको अध्यक्षका लागी ७ जनाको उम्मेदवारी प्रस्तुत

मातृभूमी राजनितिक व्युरो । २४ पौष दैलेख
नेकपा एमाले दैलेखको आगामी अध्यक्षका लागी ७ जनाले आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन् । शुक्रवार (पौष २३ गते) देखी शुरु भएको सातौँ जिल्ला अधिवेशनवाट जिल्ला अध्यक्ष सहित १०५ सदस्यीय जिल्ला कमिटि चयन गरिने छ । एमाले अधिवेशनमा नेतृत्व लिन नयाँ तथा पुराना अनुहारवीच रस्साकस्सी सुरु भएको छ । जिल्ला अध्यक्षका लागी ७ जना नेताहरुले आफ्नो उम्मेदवारी प्रस्तुत गरेका हुन् ।
एमाले दैलेखको अध्यक्षका लागी वर्तमान अध्यक्ष एवं प्रतिनिधीसभा सदस्य रबिन्द्रराज शर्मा पुनः अध्यक्ष पद दोहोर्‍याउने तयारीमा छन् । वर्तमान अध्यक्ष शर्मासँगै वर्तमान पार्टी उपाध्यक्ष एवं जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेमबहादुर थापा, पूर्व जिल्ला विकास समितिका उपसभापति सुर्यबहादुर शाही, औधोगिक क्षेत्र विकास लिमिटेडका अध्यक्ष नन्द किशोर बस्नेतले अध्यक्षमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन् ।
यस्तै चामुण्डा बिन्द्रासैनी नगरपालिकाका प्रमुख सुर्यबहादुर शाही, कर्णाली प्रदेशसभा सदस्य सुशिल थापा र गुराँस गाउँपालिकाका नेता कर्ण खड्काले समेत अध्यक्षका लागी आफ्नो उम्मेदवारी प्रस्तुत गरेको एमाले दैलेखका एक नेताले जानकारी दिए । वर्तमान अध्यक्ष रविन्द्रराज शर्मा यसअघि सम्पन्न छैठौं जिल्ला अधिवेशनवाट चामुण्डाविन्द्रासैनी नगरपालिकाका प्रमुख सुर्यवहादुर शाहीलाई झिनो मतान्तरले पराजित गर्दै विजयी भएका थिए ।
जिल्लाका शिर्षस्थ नेताहरुले सर्वसम्मत नेतृत्व चयन गर्ने बिषयमा निरन्तर छलफल गरिरहेको बताएका छन् । एमाले स्रोतका अनुसार बन्दसत्र सम्पन्न भएपछि निर्वाचन समिति र निर्वाचन कार्यतालिका सार्वजनिक गरिने छ । जिल्लाभरबाट सात सय बढि प्रतिनीधि अधिवेशनमा सहभागी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *