दैलेखका विद्यालय वन्द, पठनपाठन अन्यौलमा

मातृभूमी संवाददाता । ०१ माघ दैलेख
कोरोना भाइरस (कोभिड-१९) को महामारीका कारण करिब तीन वर्षयता शैक्षिक क्षेत्र निकै प्रभावित वनेका छन् । यो अवधिमा विद्यार्थीहरूले मुस्किलले सात-आठ महिना पनि विद्यालयमा नियमित पठनपाठन गर्न पाएका छैनन् । कोरोना संक्रमण बढ्न थालेपछि दैलेखका विद्यालयहरू फेरी बन्द गरिएका छन् । भौतिक उपस्थितिमा पढाई थालेको दुुई/तिन महिना नपुुग्दै विद्यालय फेरी बन्द भएका छन् । लामो समयपछि कार्तिकदेखी नियमित विद्यालय सञ्चालनमा आएका थिए । अब फेरि माघ १५ सम्म भौतिक उपस्थितिमा पठनपाठन नगर्ने भन्दै शिक्षा मन्त्रालयले निणर्य गरेपछि विद्यालय वन्द गरिएका हुन् ।
यो समयमा वैकल्पिक माध्यमबाट पठनपाठन सञ्चालन हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वताए पनि दैलेख जस्ता विकट जिल्लामा त्यो सम्भव देखिदैन । अर्कातिर लामो समय पढाई नभएकाले पाठ्यक्रम नसकिने र वैकल्पिक माध्यमबाट सबै विद्यार्थीलाई समेट्न समेत चुनौती रहेको सरोकारवालाहरू बताउँछन् । विगतको अनुभवले अनलाइन तथा अन्य वैकल्पिक माध्यमहरू प्रभावकारी हुन नसकेको उनीहरूसँग तितो यथार्थता छ । हिउँदे बिदालाई मिलान गर्ने गरी विद्यालय बन्द गर्न मन्त्रालयले अनुरोध गरेको छ ।
अहिले फेरि विद्यालय बन्द गर्ने निणर्यले शैक्षिक क्षेत्र थप अस्तव्यस्त बन्ने शिक्षा क्षेत्रका जानकारहरू बताउँछन् । सरकारले विद्यालय वन्द गर्ने निणर्य गर्दा शैक्षिक गतिविधि प्रभावित बन्ने निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) दैलेखका अध्यक्ष रमा प्याकुरेलले बताईन् । उनले हाम्रो तेस्राआँखा दैनिकसँगको कुराकानीमा स्वास्थ्य सावधानी अपनाएर विद्यालय खोल्नुपर्नेमा सरकारको पछिल्लो निणर्यले थला परेको शिक्षा क्षेत्र झनै धरासायी बन्ने वताईन् । ‘यस्तो अवस्थाले विद्यार्थी र विद्यालय दुुवै मारमा पर्ने देखिएको छ,’ उनले भनिन्, ‘पार्टीका अधिवेशन र सार्वजनिक ठाउँमा भिडभाड भएकै छ । विद्यालय मात्र बन्द गरेर संक्रमण कसरी न्यूनीकरण हुन्छ ?’ उनले थपिन्, ‘आपत्कालीन अवस्था आइसकेको भए सबै क्षेत्र बन्द हुनुपर्ने, विद्यालयलाई नै बन्द गर्ने सरकारी निणर्य व्यवहारिक देखिएन ।’
यस्तै निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) कर्णाली प्रदेशका वरिष्ट उपाध्यक्ष सुवास थापाले वर्षभरी नै विद्यालय बन्द भइरहँदा शैक्षिक गुणस्तर नै खस्किदै जाने वताए । गत वर्षहरूको अभ्यासले पनि अधिकांश बालबालिका वैकल्पिक शिक्षाको पहुुँचमा आउन नसकेको वरिष्ट उपाध्यक्ष थापाले वताए ।
यहि पौष २८ गतेदेखि सामुदायिक विद्यालयहरूले भौतिक उपस्थितिमा गरिँदै आएको पठनपाठन बन्द गरेका छन् । सरकारी विद्यालयमा भने विद्यालय बन्द रहने समयमा वैकल्पिक कक्षा सञ्चालन गर्ने वा नगर्ने भन्नेबारे अन्योल छ । जिल्लाका अधिकांश विद्यालयले वैकल्पिक पठनपाठन सम्भव नदेखिएको बताएका छन् । स्रोतसाधन र दक्ष जनशक्तिको अभाव रहेकाले सिकाइ गतिविधिलाई निरन्तरता दिन समस्या हुने देखिएको छ ।
सहर केन्द्रित केहि विद्यालयहरुले वैकल्पिक माध्यामवाट पठनपाठन गरेपनि ग्रामिण क्षेत्रका विद्यालयमा त्यो सम्भव नभएको भवानी माध्यामिक विद्यालय ठाँटिकाँध ३ वहाकोटका प्रधानाध्यापक भक्तिराम तिमिल्सेनाले वताए । प्रधानाध्यापक तिमिल्सेनाले भने, ‘सहर वजारमा इमेल इन्टरनेटको व्यवस्था हुन्छ । सवैका घरमा स्मार्ट मोवाईल फोन छन् । अनलाईन कक्षा संचालन होलान् । तर ग्रामिण क्षेत्रमा मोवाईलमा नेटवर्क नै राम्रोसँग आउँदैन । अनलाईन कक्षाको त कुरै नगरौँ । त्यसैले ग्रामिण क्षेत्रका विद्यालयमा वैकल्पिक सिकाई हुन सक्दैन । वरु स्वास्थ्यका मापदण्ड पालना गरेर पठनपाठन शुरु गर्नु नै वेश हुन सक्छ ।’ जिल्लाका संस्थागत विद्यालयले वैकल्पिक विधिबाट पठनपाठन गर्न सक्छन् । तर ग्रामिण क्षेत्रका सामुदायिक विद्यालय भने अझै अलमलमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *