कर्णालीमा कोरोनाका सक्रिय संक्रमितको संख्या २ सय ३०
मातृभूमी संवाददाता । ०४ माघ दैलेख
कोरोनाभाइरस (कोभिड-१९) को तेस्रो लहर रोकथाम र नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारले पूर्व तयारी तीव्र पारेको छ । प्रदेश सरकारले कोरोना संक्रमणको तेस्रो लहर सामना गर्ने पूर्व तयारी स्वरुप ७ करोड ४४ लाख बराबरको बजेट व्यवस्थापन गरेको छ ।
कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को असर न्यूनीकरणका लागि पीसीएमसीको बैठकबाट स्वास्थ्य संस्थाहरूको सवलीकरण, अक्सिजन प्लान्टहरूको सञ्चालन तथा स्वास्थ्यकर्मी परिचालनको प्रवन्ध मिलाईएको प्रदेश सरकारले जनाएको छ ।
कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले एम्बुलेन्स खरिद गर्न प्रदेश अस्पताल सुर्खेत, दैलेख, जाजरकोट र सल्यान स्वास्थ्य सेवा कार्यालयलाई प्रति अस्पताल २० लाखका दरले ८० लाख रुपैयाँ पठाई सकिएको जानकारी दिए । यसैगरी शव वाहन खरिद गर्न दैलेख, कालिकोट, सल्यान र रुकुमपश्चिम स्वास्थ्य सेवा कार्यालयलाई प्रति अस्पताल १२ लाखका दरले ४८ लाख पठाई सकिएको पनि उनले जानकारी दिए ।
प्रदेश अस्पताल सुर्खेतको मेसिनरी औजार (अनलाइन युपिएस सिस्टम) खरिदका लागि ३८ लाख, प्रदेश जनस्वास्थ्य प्रयोगशाला सुर्खेतका लागि आवश्यक मेसिनरी औजार खरिदको लागि २ करोड बजेट छुट्याईएको छ भने सुर्खेतको पञ्चपुरी नगरपालिकाको कोभिड-१९ व्यवस्थापकीय खर्चका लागि १० लाख गरी जम्मा २ करोड ४८ लाख बजेट सम्बन्धित कार्यालयलाई पठाई सकिएको पनि मुख्यमन्त्री शाहीले बताए ।
‘स्वास्थ्य संस्था तथा सुरक्षा निकायलाई पूणर् सतर्कता र तयारी अवस्थामा राखिएको छ,’ उनले भने, ‘प्रदेशवासीहरूमा स्वास्थ्य सतर्कता र सुरक्षित व्यवहारका लागि हामीले अपिल पनि गरेकै छौं ।’ जिल्लास्थित विभिन्न स्थानीय तहमा कर्णाली प्रदेशबाट स्थापना भई संचालनमा रहेका ६६ सामुदायिक स्वास्थ्य इकाईहरुका लागि प्रति इकाई ५ लाखका दरले ३ करोड ३० लाख सम्बन्धित स्थानीय तहलाई बजेट उपलब्ध गराई सामुदायिक स्वास्थ्य इकाईहरूको सेवा निरन्तर गरिएको उनको भनाइ छ ।
कर्णाली प्रदेशले कोरोनाको पहिलो र दोस्रो लहरमा अक्सिजनको ठूलो अभाव भोग्नु परेको थियो । अहिले कर्णाली प्रदेश अस्पतालमा १, वीरेन्द्रनगर नगरपालिकासँगको साझेदारी एवम् चौधरी फाउण्डेशनको सहयोगमा वीरेन्द्रनगर नगरअस्पतालमा १, गुर्भाकोट नगरपालिकास्थित मेहलकुना अस्पतालमा यूएनडीपीको साझेदारीमा १, जिल्ला अस्पताल दैलेखमा १, कालिकोटमा १, रुकुमपश्चिममा १ गरेर आठ वटा जिल्लामा अक्सिजन प्लान्ट स्थापना भएका छन् ।
कोरोना संक्रमणको दोस्रो लहरमा अक्सिजन अभावमै धेरै संक्रमितले ज्यान समेत गुमाएका थिए । मुख्यमन्त्री शाहीले भने, ‘कोरोनाको सम्भावित तेस्रो लहर रोक्नका लागि सरकार हरसम्भव प्रयासमा लागिरहेको छ । यसका लागि कर्णाली भित्रिने मुख्य तीन वटा नाकामध्ये सुर्खेतको कुइनेमा अष्ट्रेलियन नेप्लिज मेडिकल एण्ड डेन्टल एसोसिएसन र अष्ट्रेलिया नेपाल फ्रेण्डसीप सोसाइटीको सहयोग तथा वीड्स फाउण्डेशनको समन्वयमा भदौ १ गतेदेखि कोरोना परीक्षण तथा जामुमा १५ बेड सञ्चालनमा ल्याएको छ ।’
यस्तै कर्णालीको मुख्य प्रवेशद्वार रहेको बबईमा भारत, तेस्रो मुलुक र अन्य प्रदेशबाट आउने नागरिकलाई भेरीगंगा नगरपालिका १२ स्थित सरुवा रोग अस्पताल निर्माण हुने स्थलमा होल्डिङ सेन्टर निर्माणको काम सुरु भइसकेको उनले बताए । कर्णाली प्रदेश अस्पताललाई संक्रमितको चाप घटाउनका लागि भेरीगंगा, गुर्भाकोट र पञ्चपुरी तथा सल्यानको कपुरकोटमा विगतमा स्थानीय तहले सञ्चालनमा ल्याएका क्वारेन्टिन र आइसोलेसन सेन्टरलाई पुनः सञ्चालनमा ल्याउने तयारी थालिएको बताइएको छ ।
प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्काका अनुसार पछिल्लो एक महिनाको अवधिमा कणर्ालीमा २ सय ४५ जनामा कोरोना संक्रमण देखिएको छ । २ सय २० जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा ६६ जना र एक हजार ३ सय ७२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ७९ जनामा कोरोना पोजेटिभ देखिएको हो । अहिले कर्णालीमा २ सय २८ जना होम आइसोलेसनमा छन् भने दुई जना संस्थागत आइसोलेसनमा रहेका छन् । कर्णालीमा सक्रिय संक्रमितको संख्या २ सय ३० रहेको छ ।