लैङ्गिक विभेदको चेपुवामा ‘सुत्केरी आमा’
भिम वहादुर सिजापति । १० माघ दैलेख
कानूनले लिंगको आधारमा गरिने भेदभावलाई वर्जित गरेको छ । कणर्ालीमा छोरा र छोरीबीचको विभेदको चपेटामा थुप्रै आमाले अनेकौं समस्या झेल्दै आएका छन् । यतिसम्म कि पहिलो सन्तानको रूपमा छोरो जन्मिए दोस्रो सन्तान छोरो वा छोरी जे जन्मिए पनि त्यति महत्व दिइँदैन ।
यहाँको समाजमा के मानसिकता छ भने ‘एउटा छोरो त अनिवार्य चाहिन्छ ।’ यदि पहिलो सन्तान छोरी जन्मिएको खण्डमा अर्को बच्चा नपाउञ्जेल आमाहरूले सुखै पाउँदैनन् । यो सोचले परिवारका सदस्य, छिमेकी, आफन्त र स्वयं महिला आफैं पनि छोरो जन्माउनुपर्ने चर्को दबावमा हुन्छन् ।
छोरो पाउने आशमै दैलेख ठाँटीकाँधकी हस्तना रोकायले शिशु जन्मान्तर छोटो बनाइन् । तेस्रो सन्तानको रूपमा पनि छोरी जन्माउँदा परिवारबाट पाउनुपर्ने आवश्यक हेरचाह त परको कुरा आफ्नै श्रीमान्बाट पनि तिरस्कृत भइन् । त्यही तिरस्कार उनको मृत्युको कारण बन्न पुग्यो ।
यतिसम्म कि कर्णालीका ग्रामीण भेकमा छोरो जन्मिए दमाहा बजाउने, पगरी बाँध्ने र न्वारान गर्ने प्रचलन छ । छोरी जन्मिए खुसुक्क गोठमा लगेर राखिन्छ । न्वारान समेत गरिंदैन । प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रमा कार्यरत अनमी भूमिसरा शाही भन्छिन्, ‘रुढिवादी परम्पराले कतिसम्मको लैङ्गिक विभेद छ भन्ने यसले देखाउँछ ।’ यही कुसंस्कार नै कर्णालीमा लैङ्गिक विभेदको पराकाष्ठा बन्दै गएको र यसले आमा र बच्चाको ज्यान लिइरहेको छ ।
अनमी शाहीका भनाईमा, समाज जति शिक्षित बन्दै गयो त्यत्ति नै परिवर्तन हुँदै जाने अपेक्षा राखिन्छ । तर, पढेलेखेका महिला समेत यस्ता खालका रुढिवादी प्रचलनबाट टाढा भाग्न सकिरहेका छैनन् । त्यसैले यो प्रवृत्ति बदल्न समाज नै बदलिनु पर्ने अनमी शाहीको तर्क छ ।
कर्णाली प्रदेशको अधिकांश भूभाग पहाडी क्षेत्र छ । यहाँ आमा र बच्चाको जीवन असुरक्षित बनाउने अनेक कारण छन् । भौगोलिक विकटता, परिवारको लापरवाही, यातायातको असुविधा र स्वास्थ्य सेवाको पहुँच नहुँदा सुत्केरी तथा गर्भवतीले समयमा उपचार नपाएर ज्यान गुमाउन बाध्य छन् ।
अर्कोतिर विशेषज्ञ चिकित्सक र दक्ष तथा अनुभवी स्वास्थ्यकर्मी नहुनु, स्वास्थ्य संस्था तथा बर्थिङ सेन्टरमा आवश्यक सामग्रीको अभाव हुँदा सुत्केरी आमा र बच्चाहरूले ज्यान गुमाइरहेका थुप्रै घटनाहरु छन् ।
जिल्ला अस्पताल दैलेखका निमित्त प्रमुख डा. जगत थापा कर्णालीमा स्वास्थ्य पूर्वाधारमा निकै कमजोर रहेको बताउँछन् । ‘गुणस्तरीय स्वास्थ्य सेवाबाट नै टाढा हुनु यहाँका गर्भवती आमाहरूका लागि ठूलो अभिशाप हो । स्वास्थ्य संस्थासम्म सुत्केरी तथा गर्भवती महिलाको सहज पहुँच पुग्न सकेको छैन । त्यसैले उनीहरू समयमा उपचार नपाएर ज्यान गुमाउन बाध्य छन्’ डा. थापा भन्छन्, ‘भौगोलिक रूपमा दुर्गम भएकाले पनि यहाँका महिलाको स्वास्थ्य संस्थासम्म सहज पहुँच छैन । समयमा स्वास्थ्य सेवा नपाउँदा बीच बाटोमा उनीहरूको ज्यान जाने गरेको छ ।’
‘पहिलो कारण त गर्भवती महिलालाई व्यथा लागेपछि घरबाट नै अस्पताल पुर्याउन ढिलो हुन्छ’ कणर्ाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा.रविन खड्का भन्छन्, ‘स्ट्रेचरमा बोकेर ल्याउनु पर्दा सबैजसो गर्भवती महिलाको शारीरिक अवस्था कमजोर हुँदै गएको हुन्छ । अर्को अझै पनि मान्छेमा चेतनाको कमी, चेकजाँचमा बेवास्ता र स्वास्थ्य संस्थामा सुत्केरी गराउन नआउने समस्या पनि छ । यातायात सुविधाको पहुँच नहुनु, चिकित्सक तथा स्वास्थ्य सामग्रीको अभावले पनि आमा तथा शिशुको ज्यान जाने गरेको छ ।’
छाउ भन्दा क्रुर सुत्केरी आमा माथिको व्यवहार
कर्णालीमा छाउ प्रथाले जरा गाडेको कुरा भनिरहनु पर्दैन । तर महिला सुत्केरी हुँदा भैंसी, बाख्रा गोठमा राख्छन् भन्दा जो-कोहीलाई अचम्म लाग्न सक्छ । तर छाउ प्रथाको बारेमा जति बहस-अभियानहरू चलाइन्छन्, सुत्केरी अवस्थाको छाउबारे सामान्य छलफल पनि गरिंदैन । तर कर्णालीमा छाउ भन्दा ज्यानमारा प्रथा सुत्केरी छाउ छ । तथापि यो विषयमा सडकदेखि सदनसम्म आवाज उठेको सुनिंदैन ।
‘कर्णालीमा छाउ हुँदा ५-७ दिन गोठमा राखिन्छ तर सुत्केरी हुँदा त ११-१४ दिनसम्म सुत्केरी छाउ बार्नुपर्छ’, दैलेख ठाँटीकाँध गाउँपालिका ३ मा रहेको सामुदायिक स्वास्थ्य ईकाई वहाकोटकी अनमी भगवती मल्लका अनुसार ‘यहाँ छाउ भन्दा त कठोर सुत्केरीलाई छ । ११-१४ दिनसम्म सुत्केरीलाई छुन दिइँदैन । दूध, दही जस्ता खानेकुरा दिए भैंसीले दूध दिंदैन भन्ने मान्यता छ ।’
यतिसम्म कि सुत्केरी हुँदा महिलालाई तेलसँग भात मात्रै खान दिइन्छ । देउता रिसाउने डरले एक त स्वयं महिलाहरू नै आफैं कहिले कतै केही भइहाल्ने हो कि भन्ने सोचले आतंकित हुन्छन्, अर्कोतिर पहिलेदेखि नै चलिआएको कुरा क्षणभरमै उनीहरू पनि तोड्न सक्दैनन् ।
अनमी मल्ल भन्छिन्, ‘१२ दिनको बीचमा एक पटक सुत्केरीको अवस्था वुझ्न सम्भव भएसम्म उनीहरुको घरमा पुग्छौँ । अधिकांश महिला गोठमै सुतेका हुन्छन् । त्यो अवस्था देख्दा आफैंलाई वेचैन वनाउँछ । सामाजिक परम्पराले महिलालाई दास बनाएको देख्दा दिक्दार लागेर आउँछ ।’
छाउ प्रथा उन्मूलन भनेर राष्ट्रिय अभियानहरू समेत चलाइएका छन् । तर विडम्बना ‘सुत्केरी छाउ’ले कयौंको ज्यान लिइरहेको छ तर त्यो सामान्य छलफलको विषय समेत बन्न सकेको छैन ।