वालापनमै विहे, पढाईवाट वन्चित

भिम वहादुर सिजापति । १० माघ दैलेख
गुराँस गाउँपालिका २ डुडापोखराकी मोतीकला नेपाली उमेरले ३२ बर्षकी भईन् । उनको १२ बर्षको उमेरमै विवाह भयो । उनी १७ वर्षको हुँदा पहिलो सन्तान छोरी जन्माईन् । कलिलैमा विहे गरेपछि उनले पढ्न समेत पाइनन् । ‘छोरी हुर्किदै गएको भन्दै बाबुआमाले राम्रो केटा भनेर मागी बिहे गरिदिए,’ उनि सम्झिन्छिन् ‘सानैमा विहे गरेका कारण पढाई छुट्यो, अहिले मेरो स्वास्थ्य असाध्यै कमजोर छ, कमाएको पैसा जत्ति औषधी उपचारमै सकिन्छ ।’
उनका अहिले एक छोरा र एक छोरी छन् । दुवै सन्तान शल्यक्रिया मार्फत जन्मिएको मोतिकलाले वताईन् । ‘कलिलैमा बिहे भयो, हाँस्ने, खेल्ने र पढ्ने उमेरमा आमा बन्नु पर्‍यो, अहिले स्वास्थ्य अवस्था निकै कमजोर बनेको छ, अर्कोतिर पढ्न पनि पाईन,’ उनले भनिन् । मोतिकलाको सपना आफ्ना सन्तानलाई उच्च शिक्षा अध्ययन गराउने छ । आफुले उमेर नपुग्दै बिहे गरेकी उनी अहिले बाल विवाह विरुद्धकी अभियान्ता वनेकी छन् ।
सोहि ठाउँकी यशोदा नेपाली २४ बर्षकी भइन् । उनले कक्षा ५ मा पढ्दा पढ्दै १४ बर्षको उमेरमा बिहे गरीन् । कानुनी रूपमा बिहे गर्ने उमेरमा उनी तीन छोराछोरीकी आमा बनिन् । बिहेपछि उनको पढाई छुट्यो । बालापनमै आमा बन्नुपर्‍यो । अहिले उनका पनि ३ सन्तान छन् । ‘पढ्ने उमेरमा छोराछोरीको स्याहार सुसारमा लाग्नुपर्‍यो,’ उनि भन्छिन् ‘अहिले आएर पछुतो लाग्छ ।’
२५ बर्षीया डिलु नेपालीको कथा पनि उस्तै छ । डिलु १५ बर्षकी हुँदा नै बिहे भयो । अहिले उनका तीन सन्तान छन् । आमाले दोस्रो बिहे गरेको र आर्थिक अवस्था कमजोर भएपछि कलिलैमा बिहे गर्नुपर्ने बाध्यता भएको डिलुको अनुभव छ ।
मोतिकला, यशोदा र डिलु त प्रतिनिधी पात्र मात्रै हुन् । उनीहरु जस्तै वालविवाह गर्ने र कलिलैमा आमा वन्नेको संख्या जिल्लामा नगन्य मात्रमा छ । कुरीति, अशिक्षा र आर्थिक अभावकै कारण बालविवाह गरेकाहरु अहिले पछुताउँछन् । बाल विवाह गरेकाहरुको बिहेसँगै पढाई समेत छुट्ने गरेको अधिकारकर्मीहरु बताउँछन् ।
आमाको दुःखलाई नजिकबाट नियालेकी मोतीकलाकी छोरी १५ बर्षीया सुस्मिता उमेर नपुगी बिहे गर्नु हुँदैन भन्नेमा सचेत छिन् । कक्षा १० मा अध्ययनरत सुस्मिता भन्छिन् ‘बाल विवाह कानूनी अपराध हो, बाल विवाह गर्दा स्वास्थ्यमा समस्या त आउँछ नै पढाई पनि छुट्छ । वाल विवाह गर्दा पछि जीवनमा थुप्रै समस्यहरु आउँछन् ।’
पहिला मागेर हुने विवाह अहिले आफै गर्ने प्रचलन बढेको छ । कलिलैमा विवाह गर्ने पारिवारिक संस्कारले पनि प्रभाव पार्ने गुराँस गाउँपालिकाकी जानकी पुनमगर बताउँछिन् । केहिले आर्थिक तथा सामाजिक कारण तथा कोही पढाई बिग्रेपछि कलिलैमा बिहे गर्ने गरेको उनको भनाई छ ।
विवाह छिटो हुनुमा आर्थिक समस्या पनि एक प्रमुख कारण रहेको सोसेक नेपालका बालसंरक्षण संयोजक निर्मल अधिकारी बताउँछन् । ‘बाल विवाह नरोकिनुमा गरिबी प्रमुख कारण हो,’ अधिकारी भन्छन् ‘केही यस्ता परिवार छन् उनीहरुलाई अहिले पनि बिहान खाए बेलुकी के खाउँ भन्ने समस्या हुन्छ ।’ अभिभावकले आफ्ना सन्तानको भावना नबुझ्दा समेत बाल विवाह बढिरहेको उनको भनाई छ ।
जिल्लामा बाल विवाह न्यूनिकरणका लागि थुप्रै प्रयासहरु पनि भएका भईरहेका छन् । वाल विवाह न्युनिकरणका लागी जिल्लामा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले सचेतनामुलक कार्यक्रम समेत संचालन गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *