तेस्रो लहरमा कर्णालीका १ हजार ३ सय वढीलाई कोरोना संक्रमण

मातृभूमी संवाददाता । ११ माघ दैलेख
कर्णाली प्रदेशमा २०७७ साल जेठ ५ गते पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको थियो । दैलेखको आठबीस नगरपालिकाका एक युवकमा कोरोना संक्रमण देखिएको थियो । कोरोना भाइरसको पहिलो लहर न्यून हुँदासम्म कोरोनाका कारण प्रदेशभर ३१ जनाले ज्यान गुमाए । यता दोस्रो लहरमा भने ३ सय ८८ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाए । यो संख्या प्रदेशको कुल जनसंख्याको ०.०२ प्रतिशत हो ।
कर्णाली प्रदेशमा अनुमानित जनसंख्या १८ लाख २४ हजार १ सय ३१ रहेको छ । हालसम्मको अवधिमा ३५ हजार ३ सय ९७ मानिसहरू कोरोनाको चपेटामा परिसकेका छन् । जुन प्रदेशको कुल जनसंख्याको १.९४ प्रतिशत हुन आउँछ । कोरोना भाइरसको तेस्रो लहर पनि सुरु भइसकेको छ । पछिल्लो साढे एक महिनाको तथ्याङ्कलाई हेर्ने हो भने भने एक हजारभन्दा बढी संक्रमित भइसकेका छन् । तेस्रो लहरमा हालसम्म कोरोना संक्रमणका कारण कसैले ज्यान भने गुमाएका छैनन् ।
हाल १ हजार ३ सय १ जना कोरोना संक्रमितहरू विभिन्न स्वास्थ्य संस्थाका आइसोलेसन र होमआइसोलेशनमा बसिरहेका छन् । ओमिक्रोन भेरियन्टको प्रभावले पछिल्लो समय दैनिक सयौँको मात्रामा कोरोना संक्रमितहरू थपिने क्रम जारी छ ।
स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका अनुसार पुस दोस्रो सातादेखि हालसम्म कणर्ालीमा १ सय ४० जना स्वास्थ्यकर्मीहरू कोरोना संक्रमण देखिएको छ ।
कोरोना संक्रमितको उपचारमै खटिने स्वास्थ्यकर्मी नै संक्रमित हुँदा कोरोना रोकथाम र प्रतिकार्यमा जटिलता थपिएको छ । जसमध्ये सबैभन्दा धेरै कर्णाली प्रदेश अस्पतालका मात्रै ५० जना भन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।
स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी पदम केसीका अनुसार सबैभन्दा धेरै ५६ जना स्वास्थ्य कार्यकर्ताहरूमा कोरोना संक्रमण देखिएको छ । त्यसपछि ४२ जना नर्स, १२ जना हेल्पर, ४ जना एचए, ४ डाक्टर, २ जना कम्प्युटर असिस्टेन्ट, ५ जना ल्याब टेक्निसियन र एक जना सवारी चालक लगायत रहेका छन् ।
निर्देशनालयले दिएको जनाकारी अनुसार कोरोना भाइरस संक्रमणबाट हालसम्म कणर्ालीमा २ हजार ३ सय ९४ जना अग्रपंत्तिमा खटिनेहरु प्रभावित बनेका छन् । दोस्रो लहर गत वैशाखदेखि असोज महिनाको अवधिसम्म १ सय ४४ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित बनेका थिए । यस्तै कृषिका २ सय ४४ जनामा संक्रमण देखिएको थियो ।
त्यसअघि २ सय ३८ जनामा संक्रमण देखिएको थियो । निर्देशनालयका अनुसार हालसम्म अग्रपंत्तिमा रहेर काम गर्ने २ सय ७० जना प्रहरी, ३ सय ६६ जना सरकारी कर्मचारी, १ सय १९ जना बैंकर, २ सय ५ जना व्यवसायी ४ जना सेक्युरेटी गार्डहरू, १७ जना पत्रकार लगायत रहेका छन् ।
निर्देशनालयका अनुसार माघ ४ गतेसम्म देखिएका कोरोना संक्रमितको तथ्याङ्कलाई केलाएर हेर्दा सबैभन्दा बढी २१ देखि ३० वर्ष उमेर समूहका युवाहरू कोरोना संक्रमणको चोपेटामा परेका
छन् । यस्तै ३६ देखि ४० वर्ष उमेर समूहका २५ प्रतिशत रहेका छन् । ४१ देखि ५९ वर्ष उमेर समूहका १२ प्रतिशत ५१ देखि ६० वर्षका ६ प्रतिशत र त्यसभन्दा माथिका ३ प्रतिशत रहेका छन् । यसैगरी ० देखि १० वर्ष उमेर समूहका ४ र ११ देखि २० वर्ष उमेर समूहका १४ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *