अध्यक्ष र लेखा अधिकृतको विवादले पालिकाको काम ठप्प
मातृभूमी संवाददाता । १६ माघ दैलेख
दैलेखको गुरासँ गाउँपालिकाका अध्यक्ष खेमराज ओली र लेखा अधिकृत दिनेश दाहालविच विवाद बढ्दै जाँदा गाउँपालिकाको कार्यसम्पादनमा समस्या हुँदै आएको छ । गाउँपालिकाका अध्यक्ष र लेखा अधिकृतवीचको विवाद वढ्दै जाँदा एक महिनादेखि पालिकाबाट हुने कुनै पनि भुक्तानी हुन नसकेको जनाईएको छ । तीन जनाको नाममा रहेको खाता दुई जनाको नाममा भएयता शिक्षक, कर्मचारीको तलव भत्ता तथा उपभोक्ता समितिबाट भएका कामहरुको भुक्तानी रोकिएको गाउँपालिका स्रोतले जनाएको छ ।
दशैं अगाडिदेखि विवाद भएपनि अहिले विवाद चरम उत्कर्षमा पुगेकाले लेखा शाखावाट सम्पादन हुने कामकाज ठप्प रहेका छन् । आर्थिक श्रोत नभएपनि अध्यक्ष खेमराज ओलीले निकासाका लागी दवाव दिने गरेको तर, श्रोत नभएर निकास नहुने गरेपछि अध्यक्ष लेखा अधिृकतसंग रिसाएको श्रोतको भनाई छ । त्यही ईगोले अध्यक्षले लेखा अधिकृतलाई पेल्न सुरु गरे । एक कर्मचारीले नाम नवताउने शर्तमा भने, ‘लेखा अधिकृतले नियतवस निकासा रोकेका थिएनन् । कार्यक्रम एकातिर खर्च अर्कोतिर हुन थालेपछि लेखाबाट निकासा नियन्त्रण गरिएको झोकमा अध्यक्षले मन्त्रालयमा सरुवाको लागी चिठ्ठी पठाएका थिए ।’
मन्त्रालयबाट सरुवा गर्न नसकिने जवाफ पाएपछि अध्यक्षले लेखा अधिकृत दाहालको कुर्ची नै कार्यकक्षबाट हटाएका थिए । अध्यक्षले प्रमुख प्रशासकीय अधिकृत दिपककुमार आर्चायलाई लिखित रुपमा लेखा अधिकृतलाई कामकाज नगराउन उर्दी समेत जारी गरेको जनाईएको छ । अध्यक्षकोे लिखित आदेशभन्दै प्रमुख प्रशासकीय अधिकृत आर्चायले लेखा अधिकृतको हाजिरीमा एक महिनादेखि रातो लगाए । तर, पनि नियमित लेखा अधिकृत पालिकामा आईरहेको पालिकाका कर्मचारीहरु बताउँछन् ।
अडिट चलिरहेको र सबै हिसाव-किताव लेखा अधिकृतलाई थाहा भएकाले प्लाष्टिकको कुर्ची राखेर दाहालले अडिट गरे । ‘अडिट चलिरहेकै थियो अध्यक्ष आएर लेखा अधिकृतलाई किन बसेको भन्नुभयो,’ एक कर्मचारीले भने, ‘यहाँ तपाईको काम छैन । म आफै अडिट गराउँछु भन्दै अध्यक्षले झपारे । तर, लेखा अधिकृतले केही नबोली अडिटको काम सके ।’
कानुन अनुसार लेखा अधिकृतले तोकेको वा आफै खाता संञ्चालन हुने व्यवस्था छ । तर, लेखा अधिकृतले कोष तथा लेखा नियन्त्रण कार्यालय दैलेखको सल्लाह अनुसार आफ्नो नाम र प्रमुख प्रशासकीय अधिकृतको नामबाट मात्र खाता चलाए । यसअघि लेखापाल राज कसेरा सहित ३ जनाको हस्ताक्षरमा खाता सञ्चालन हुँदै आएको थियो । तीन जनामध्ये दुई जनाको हस्ताक्षर भए चेक साटिने बनाइएको थियो । महालेखा नियन्त्रण कार्यालयले सरुवा गर्न नमिल्ने भनेपछि कारबाहीका लागी अध्यक्षको निर्देशनमा प्रमुख प्रशासनिक अधिकृतले माघ १३ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्र पठाएका हुन् ।
‘एक महिना भईसक्यो विवादका कारण कुनै पनि भुक्तानी भएको छैन,’ एक कर्मचारीले भने, ‘अध्यक्षको पछाडी लागेर प्रमुख प्रशासकीय अधिकृतले लेखा अधिकृतको हाजिरी नै गर्न दिनु भएको छैन । अनि, कसरी निकाशा हुन्छ ?’ गुरासँ गाउँपालिकामा आउने प्रमुख प्रशासकीय अधिकृत पनि लामो समय टिक्दैनन् । केही महिनाअघि मात्र अहिले कार्यरत प्रमुख प्रशासनिक अधिकृत आर्चाय सरुवा भएर आएका हुन् ।
नियमअनुसार आफूले काम गर्दा अनेक बखेडा झिकेर आफूलाई दवाव दिने गरेको तर, आफूले नियम र कानुन फलो गर्दा मेरो पछाडी अध्यक्ष लागिरहेको लेखा अधिकृत दिनेश दाहालले बताए । कोरोना संक्रमणका कारण अहिले लेखा अधिकृत दाहाल उपचारमा छन् ।
गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले जनताको फाईल डस्बिनमा फाल्ने, फाईल लुकाउने, ठेकेदारबाट कमिसन खाने, विना जानकारी कार्यालय छोड्ने, सफ्टवयर बिग्रेको बहानामा काम नगर्ने, कार्यपालिकाको निणर्य विना बाईक खरिद गर्ने, बजेट ईन्ट्री गर्दा गाउँसभा भन्दा छुट्टै ईन्ट्री गर्ने र सुधार गर्नका लागी पाँच/पाँच पटक मौखिक र ३ पटक लिखित जवाफ माग्दा समेत नसुध्रिएको आरोप लगाएका छन् । ‘लेखा अधिकृतको आचरण राम्रो नभएपछि मैले नै कुर्ची हटाएर कार्यालयमा हाजिर हुन नदिएको हो,’ अध्यक्ष ओलीले भने, ‘उसले गल्ती सुधार गर्छु भनेपछि सुध्रिन फेरि पनि एक मौका दिनेछु ।’