दैलेखको जनसंख्या घट्यो
मातृभूमी संवाददाता । १६ माघ दैलेख
दैलेखको जनसंख्या घटेको छ । केन्द्रिय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार दैलेखको जनसंख्या घटेको हो । जिल्लाको जनसंख्या २ लाख ५३ हजार ३ सय १९ मा झरेको छ । विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार दैलेख जिल्लाको जनसंख्या २ लाख ५३ हजार ३ सय १९ मा झरेको हो । यसअघि वि.सं. २०६८ सालमा गरिएको जनगणनामा दैलेखको जनसंख्या २ लाख ६१ हजार ७ सय ७० रहेको थियो ।
राष्ट्रिय जनगणना २०६८ सालको भन्दा २०७८ मा जिल्लाको जनसंख्या ८ हजार ४ सय ५१ ले कम रहेको छ । प्रारम्भिक नतिजा अनुसार दैलेखमा पुरुषको जनसंख्या १ लाख २१ हजार ६ सय ७७ छ भने महिलाको जनसंख्या १ लाख ३१ हजार ६ सय ४४ रहेको छ । तथ्यांक अनुसार जिल्लाको ४८ हजार ७ सय ७६ घरधुरीमा जनगणना गरिएको विभागले जनाएको छ । जिल्लामा परिवार संख्या ५५ हजार ७ सय ८ छ ।
जिल्लाको लैंगिक अनुपात ९२.४३ रहेको जनाईएको छ । विभागका अनुसार जिल्लाको जनघनत्व १६९ जना प्रति वर्गकिलोमिटर छ भने परिवारको औषत आकार ४.५५ छ । जिल्लामा वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक देखिएको तथ्यांक विभागको प्रारम्भिक नतिजामा देखिएको छ । प्रारम्भिक तथ्यांक अनुसार जिल्लाको बार्षिक जनसंख्या बृद्धिदर-०.३१ प्रतिशत छ ।
कुन स्थानीय तहको जनसंख्या कति ?
केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ प्रारम्भिक नतिजा अनुसार दैलेखका ११ वटा स्थानीय तह मध्ये जिल्लाको दुल्लु नगरपालिकाको जनसंख्या सबै भन्दा धेरै छ । नतिजा अनुसार दुल्लु नगरपालिकाको जनसंख्या १८ हजार ५ सय ६ पुरुष र २१ हजार ७६ महिला गरी ३९ हजार ५ सय ८२ छ ।
यस्तै आठबीस नगरपालिकाको जनसंख्या १५ हजार ५सय ६५ पुरुष र १६ हजार २ सय ७४ गरी ३१ हजार ८ सय ३९ छ । भगवतीमाई गाउँपालिकाको १८ हजार ३ सय ६६, भैरबी गाउँपालिकाको १७ हजार ७ सय ८१, चामुण्डाविन्द्रासैनी नगरपालिकाको २६ हजार ५ सय ७५, डुङ्गेश्वर गाउँपालिकाको जनसंख्या १४ हजार ५ सय ९७ छ ।
प्रारम्भिक नतिजा अनुसार गुराँस गाउँपालिकाको २१ हजार २ सय ७८, महाबु गाउँपालिकाको १८ हजार ३७, नारायण नगरपालिकाको २५ हजार ८ सय ३, नौमूले गाउँपालिकाको २० हजार ५ सय ८९ र ठाटीकाँध गाउँपालिकाको जनसंख्या १८ हजार ६ सय ६६ छ ।
कर्णाली कुन जिल्लाको जनसंख्या कति ?
कर्णाली प्रदेशमा १६ लाख ९४ हजार ८ सय ८९ पुगेको छ । तथ्यांक विभागले सार्वजनिक गरेको जनगणना २०७८ को प्रारम्भिक विवरण अनुसार सबै भन्दा बढी सुर्खेत र सबै भन्दा कम जनसंख्या डोल्पामा रहेको छ ।
सुर्खेतको जनसंख्या चार लाख १७ हजार ७ सय ७६ रहेको छ भने डोल्पाको जनसंख्या ४२ हजार ९ सय ५९ पुगेको छ । यस्तै दैलेखमा जनसंख्या दुई लाख ५३ हजार ३ सय १९, सल्यानमा दुई लाख ३८ हजार ६ सय ६८, जाजरकोटमा एक लाख ८९ हजार ३ सय ६५, रुकुमपश्चिममा एक लाख ६६ हजार ३ सय ५४, कालीकोटमा एक लाख ४४ हजार ९ सय १७, जुम्लामा एक लाख १९ हजार ३ सय ७७, मुगुमा ६६ हजार ५ सय ४८ र हुम्लामा ५५ हजार ४ सय ९६ रहेको छ ।