कोरोनाको तेस्रो लहरमा दैलेखका ९० जनालाई कोरोना संक्रमण
मातृभूमी संवाददाता । १६ माघ दैलेख
कोरोनाको तेस्रो लहर फैलिएसँगै दैलेखमा हालसम्म ९० जनामा संक्रमण देखिएको छ । कोरोनाको तेस्रो लहर फैलिएसँगै पौषदेखी माघ १६ गते (आइतवार) सम्म ९० जनालाई संक्रमण देखिएको स्वास्थ्य सेवा कार्यालय दैलखका निमित्त प्रमुख थिरप्रसाद रेग्मीले जानकारी दिए ।
दैलेखमा जिल्लामा संचालित पिसिआर र एन्टिजेन विधिवाट विभिन्न समयमा गरिएको परिक्षणमा ९० जनालाई संक्रमण देखिएको हो । संक्रमण देखिएका सवै व्यक्ति होम आईसोलेसनमा वसिरहेका छन् ।
कोरोनाको जोखिम वढेको भन्दै जनस्वास्थ्यका सम्पुणर् मापदण्ड पालना गर्न निमित्त प्रमुख रेग्मीले जिल्लावासीसँग अनुरोध समेत गरेका छन् ।
नेपालमा ४ दिनमा कोरोनाबाट ३२ जनाको मृत्यु
नेपालमा पछिल्ला ४ दिनको अवधिमा कोरोना भाइरस संक्रमणबाट ३२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा. संगीता मिश्राले माघ १३ देखि १६ गतेसम्ममा संक्रमणबाट ३२ जनाको मृत्यु भएको जानकारी दिएकी हुन् । प्रवक्ता डा. मिश्राका अनुसार १२ जना श्री वीरेन्द्र अस्पतालमा र अन्य विभिन्न अस्पतालमा २० जनाको मृत्यु भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ४० जनामा कोरोना संक्रमण देखिएको छ । एन्टिजेन र पीसीआर विधिबाट १३ हजार १ सय ४५ जनामा गरिएको परीक्षणमा ३ हजार ५ सय ४० जना संक्रमण देखिएको प्रवक्ता मिश्राको भनाई छ । यसैगरी पछिल्लो २४ घण्टामा ६ हजार ३ सय ५९ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ८३ हजार ९ सय ९९ छ ।