नेपालमा थप २१ जनामा ओमिक्रोन र ३ जना डेल्टा भेरियन्ट पुष्टि

मातृभूमी संवाददाता । १९ माघ काठमाण्डौ
नेपालमा थप २१ जनामा ओमिक्रोन संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ जनाको नमुना जिनसिक्वेन्सिङ गर्दा २१ जनामा ओमिक्रोन र ३ जनामा डेल्टा भेरियन्ट देखिएको स्वास्थ्य मन्त्रालयकी प्रवक्ता संगीता कौशल मिश्रले जानकारी दिइन् ।

ओमिक्रोनको ‘सब भेरियन्ट’ नेपालमा सक्रिय

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको ‘सब भेरियन्ट’ नेपाल लगायत विभिन्न देशहरुमा सक्रिय बन्न थालेको विश्व स्वास्थ्य संगठनका एक अधिकारीले जनाएका छन् । ती अधिकारीले तीव्ररुपमा संक्रमण फैलिने ओमिक्रोन भेरियन्टको सहायक भाइरस ‘बीए.२’ फैलिरहेको जनाएका हुन् । ‘बीए.२’ ओमिक्रोन ‘बीए.१’ जतिकै गम्भीर रहेको बताइएको छ ।
डब्लुएचओको कोभिड-१९ रेस्पोन्स टिमका डा. बोरिस पाभलिनले खोपले ओमिक्रोनको विभिन्न स्वरुपमा पनि समान सुरक्षा प्रदान गर्ने बताए । रोयटर्समा लेखिएको समाचारमा पाभालिनलाई उदृत गर्दै भनिएको छ, ‘ओमिक्रोनको ‘सब भेरियन्ट’ (सहप्रजाति) बीए.२ नेपाल सहित कतार, भारत, फिलिपिन्स र डेनमार्कमा सक्रिय बन्न थालेको छ ।
डेनमार्कको तथ्यांकलाई आधार मान्ने हो भने बीए.२ ले बीए.१ लाई उछिनेको छ । तर रोगको भिन्नतामा कुनै गम्भीरता देखिएको छैन । यद्यपि बीए.२ ले विश्वव्यापीरूपमा बीए.१ लाई प्रतिस्थापन गर्ने सम्भावना छ ।’
ओमिक्रोनको सहायक भाइरस (बीए.२)ले फिलिपिन्स, नेपाल, कतार, भारत र डेनमार्कमा सक्रिय रहेको डव्लुएचओका अधिकारी डा. बोरिस पाभलिनले बताएका हुन् ।

नेपालमा कोरोनावाट थप १२ जनाकाे मृत्यु

नेपालमा थप ३ हजार ६ सय ३७ जनामा कोरोना संक्रमण देखिएको छ । देशभरि ११ हजार ५ सय ८२ जनाको नमुना परीक्षण गर्दा यी पीसीआरबाट २ हजार २ सय ५ र एन्टिजेनबाट १ हजार ४ सय ३२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ७ हजार ५ सय ५५ संक्रमित कोरोनामुक्त भएका छन् भने थप १२ जना संक्रमितको मृत्यु भएको छ । हालः नेपालमा ६९ हजार २ सय ९१ सक्रिय संक्रमित रहेका छन् ।

संक्रमित संख्या घटे पनि जोखिम कायमै

नेपालमा कोरोना संक्रमितको संख्या घट्दै गए पनि जोखिम कायम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितको संख्या घटे पनि संक्रमणको नयाँ भेरियन्टको जोखिम कायम रहेको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. संगिता कौशल मिश्रले जोखिम अझै नटरेको बताइन् । उनले भनिन्, ‘संक्रमण जोखिम बढ्दो क्रममा छ । दिनप्रति दिन नयाँ भेरियन्ट देखिरहेका छन् । हेलचेक्रयाई नगरौं ।’
उनले संक्रमणबाट बच्न भौतिक दूरी कायम र व्यक्तिगत सरसफाई र मास्कको समूचित प्रयोग गर्नुपर्ने बताइन् । पछिल्लो २४ घण्टामा काठमाडौंमा ८ सय ६८, ललितपुर १ सय ७० र भक्तपुरमा ८५ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *