कर छल्दै झोलेपोके व्यापारी

भिम वहादुर सिजापति । २१ माघ दैलेख
कानुनी दायरा विपरीत पछिल्लो समय दैलेखमा झोलेपोके व्यापार फस्टाउँदै गएको छ । नियामक निकायले गम्भीरताका साथ नियन्त्रणमा ध्यान नदिँदा झोलेपोके व्यापार फस्टाउँदै गएको हो ।
सहरी तथा बजारी क्षेत्रभन्दा झोलेपोके व्यापार ग्रामीण बस्तीमा फस्टाउँदो छ । ति व्यापारीहरु राज्यलाई कर तिर्नबाट पन्छिरहेका छन् । झोलेपोके व्यापारीलाई नियन्त्रणमा नलिँदासम्म एकातिर राज्यलाई ठूलो राजस्व घाटा भइरहेको छ भने अर्कोतिर गुणस्तरहीन तथा अखाद्य सामान गाउँसम्म सहजै पुगेका छन् । म्याद गुज्रेका र खान अयोग्य सामान सहजै गाउँसम्म पुर्‍याउने सजिलो माध्यम नै झोले व्यापार बनेको यहाँका व्यापारीहरु बताउँछन् ।
झोलेपोकेले गुणस्तरहीन सामान गाउँ-गाउँसम्म पुर्‍याउने गरेको उपभोक्ताहरुको भनाई छ । हेर्दा राम्रो भए पनि त्यसको गुणस्तर राम्रो हुँदैन । कर तिरेर व्यवसाय गरेका व्यवसायी मारमा परेका छन् । राज्यलाई कर तिर्दै गरेका व्यापारीहरुको व्यापार खस्कँदो छ । सडक सञ्जालको समस्या हुँदा ठूला व्यापारी त्यहाँसम्म पुग्न सक्दैनन् । ठूला व्यापारीहरु हिच्कच्याउने परिस्थिति छ ।
झोलेपोके व्यापारले कानुनी दायरामा आएका व्यापारीलाई ठूलो नोक्सानी पुगेको दैलेख उद्योग वाणिज्य संघ दैलेखका महासचिव राजेश कुमार हमालले वताए । ‘झोलेपोके व्यापारीले कम गुणस्तर तथा अखाद्य वस्तु सस्तोमा दिन्छन्,’ उनले भने, ‘उपभोक्ताले सस्तो मानेरै झोलेपोकेबाट सामान किन्छन् । तर त्यसको गुणस्तरको पहिचान
गर्दैनन् ।’ यस विषयमा उपभोक्ता पनि चनाखो हुनुपर्ने उनी बताउँछन् ।
कतिपय ठूला व्यापारीले पनि कर छल्नलाई झोलेपोके मार्फत गाउँसम्म सामान पठाउने गरेको कतिपयको भनाई छ । उनीहरुले कर छल्नकै लागि केही सामान त्यसरी गाउँसम्म पुर्‍याउने गरेको बताइएको छ । झोलेपोकेले पिठ्युँमा झोलापोका वोकेर सामानहरु गाउँ-गाउँसम्म पुर्‍याउने गरेका छन् ।
झोलेपोके व्यापारीहरुले घर भाडा, राजस्व लगायतका करहरु तिर्न नपर्ने भएकाले पनि उनीहरुले गाउँ-गाउँमा सस्तो मूल्यमा सामान दिने गरेको यहाँका व्यापारीहरु बताउँछन् । झोलेपोके व्यापारीले कर तिर्नु नपर्ने भन्दै उद्योग वाणिज्य संघ दैलेखका महासचिव हमालले भने, ‘उनीहरुले थोक व्यापारीभन्दा सस्तोमा दिइदिन्छन् ।’ तर सस्तो भयो भन्दैमा ति सामानहरु गुणस्तरयुक्त हुन होइनन् भन्ने विषयमा उपभोक्ता सचेत हुनुपर्ने उनी बताउँछन् ।
गाउँमै झोलेपोके व्यापारीले सामान पुर्‍याउन थालेपछि ठूलो तथा मझौला व्यापारीलाई झन ठूलो समस्या भएको छ । पहिलाभन्दा अहिले गाउँमा सामान कम जान लागेको थोक व्यापारीहरु बताउँछन् । ‘पहिला झोलेपोके व्यापार कम थियो,’ दैलेख सदरमुकामका व्यापारी दुर्गा न्यौपानेले भने, ‘अहिले झोलेपोके व्यापार बढ्दै गएको छ । थोक व्यापारीबाट कम सामान गाउँ जान थालेको छ ।’
झोलेपोकेबाट आएको सामान सस्तो हुने र बजारबाट सामान ल्याउने ढुवानी खर्च तथा आफ्नो खर्च कम हुँने, समयको पनि वचत हुने दुल्लु नगरपालिका १२ का भुपेन्द्र शाहीको भनाई छ । नियमितरुपमा भन्दा पनि कहिलेकसो झोलेपोके व्यापारीबाट सामान राख्ने गरेको शाहीले वताए ।
जिल्लामा झोलेपोके व्यापार फस्टाउँदै गएको छ । झोलेपोके व्यापार फस्टाउँदै गएपनि राज्यले कानुनी दायरामा ल्याउन खासै पहल गरेको देखिँदैन । नियामक निकाय नारायण नगरपालिका, दैलेख उद्योग वाणिज्य संघ, जिल्ला प्रशासन कार्यालय लगायत मौन छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *