बाह्र वर्षपछि दैलेख सदरमुकाममा हिमपात (तस्विर सहित)
मातृभूमी संवाददाता । २१ माघ दैलेख
बिहीवार बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भईरहेको दैलेखमा भारी हिमपात भएको छ । यसअघि महाबु, तिनचुले हिमाल लगाएत दैलेखको उच्च भू-भागमा मात्रै हिमपात भएको थियो । बिहीवार रातीदेखि भने गुराँस गाउँपालिकाको गुराँसे क्षेत्र, रानीमत्ता, महाबु गाउँपालिकाको महाबु लगाएत जिल्लाका ११ वटै स्थानीय तहका उच्च भू-भागहरुमा भारी हिमपात भएको छ । नौमूले गाउँपालिकाको तोली, बालुवाटार, सल्लेरी, चौराठा, भगवतीमाई गाउँपालिकाको रुम, जगनाथ, कट्टी, मेहेल्तोली, मन्घर, वडाभैरब, डुङ्गेश्वर गाउँपालिकाको लाँकुरी, अवलपराजुलको माथिल्लो भू-भाग, गुराँस गाउँपालिकाको गुराँसे, लाँलीकाडा, पिलाडी, घोडाबास लगाएतका क्षेत्रमा भारी हिमपात भएको छ ।
यस्तै महाबु गाउँपालिकाको काशिकाँध, गैडाबाज, रानीवन, भैरबी गाउँपालिकाको कुसापानी, गावुगौंडा, चामुण्डाविन्द्रासैनी नगरपालिकाको काफलमेला, चापागाउँ, ठाटीकाँध गाउँपालिकाको विशाला, गैरागाउँ, भिमपाईला, बिजारे, तोलीजैसी, आठबीस नगरपालिकाको सिंहासैन, पिपलकोट र तिलेपाटा तथा दुल्लु नगरपालिकाको मालिका क्षेत्रमा हिमपात भएको छ । नारायण नगरपालिकास्थित दैलेख जिल्ला सदरमुकाम सहित भवानी तथा आसपासका क्षेत्रमा समेत हिमपात भएको छ । जिल्ला सदरमुकाममा भने झण्डै १२ बर्षपछि सामान्य हिमपात भएको छ । यसअघि दैलेख जिल्ला सदरमुकाममा २०६६ सालमा हिमपात भएको थियो ।
गुराँसे क्षेत्रमा भारी हिमपात हुँदा यातायात सेवा अबरुद्ध भएको यातायात व्यवसायीले वताएका छन् । दैलेख देखि गुराँसे हुँदै सुर्खेतसम्मको यायातात सेवा अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वर प्रसाद साहले जानकारी दिए ।
हिउँ परेसँगै जिल्लाभर अत्याधिक चिसो बढेको छ । रातिदेखि नै हिमपात सुरु भएपछि जनजीवन कस्टकर बनेको छ । हिमपातले एक्कासी बढेको चिसोले विशेषगरी वृद्धवृद्धा, बालबालिका तथा गरिखाने वर्ग बढी प्रभावित भएका छन् । चिसो वढेसँगै प्रसश्त मात्रामा झोलिलो पदार्थ पिउन तथा शरिरलाई न्यानो पारी राख्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।
तस्विरमा दैलेख