वर्षौंदेखी भाडामै स्थानीय सरकार

मातृभूमी संवाददाता । २३ माघ दैलेख
अहिले पनि कतिपय स्थानीय तह भाडाकै घरमा छन् । भाडाका घरबाट व्यवस्थित सेवा प्रवाहमा समस्या भइरहेको पालिकाहरूले जनाएका छन् । बजेट र जग्गाको अभावमा स्थानीय सरकारले आफ्नै भवन बनाउन नसकेका हुन् । प्रशासनिक तथा विषयगत कार्यालय सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार नभएपछि पालिकाहरूले दिने सेवा गुणस्तरीय र व्यवस्थित हुन सकेको छैन । स्थानीय सरकारलाई पूर्वाधार अभावमा सेवा प्रवाहमा चुनौती भइरहेको हो । जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल सकिनै लाग्दा समेत स्थानीय सरकारले आफ्नै कार्यालय भवन नपाएका हुन् ।
दैलेखको भगवतीमाई गाउँपालिकाले मासिक एक लाख भाडा तिर्छ । भाडाको घरबाट सञ्चालित पालिकाले यति ठूलो रकम खर्च गर्दा पनि सहज रूपमा सेवा प्रवाह गर्न सकिरहेको छैन । गाउँपालिकाका सात वडामध्ये पाँच वटा वडाका आफ्ना भवन छैनन् । ती सबै कार्यालय भाडामै छन् । वडा नं. १ र ६ मात्र आफ्नै भवनबाट सञ्चालित छन् । वडा कार्यालयहरूले मासिक ७ देखि १० हजार रूपैयाँसम्म भाडा तिरिरहेका छन् ।
हाल गाउँपालिकाको भवन निर्माणधीन अवस्थामा छ । भवन निर्माणको काम भइरहेको गाउँपालिकाका अध्यक्ष दानबहादुुर थापाले बताए । ‘वैशाखसम्म आफ्नै भवनबाट सेवा दिने योजना छ,’ उनले भने, ‘आफ्नै भवन नहुँदा सेवा व्यवस्थित गर्न हम्मे-हम्मे हुँदो रहेछ ।’ दैलेखकै ठाँटिकाँध गाउँपालिकाको पनि आफ्नो भवन छैन । गाउँपालिकाले कार्यालयको दैनिक कार्यसम्पादनका लागी ठाँटिकाँध वजारमा विभिन्न घरहरु भाडामा लिएको छ । गाउँपालिकाले ठाँटिकाँध वजारका ३/४ वटा घरभाडामा लिएर कार्यालय संचालन गर्दै आएको जनप्रतिनिधीहरुको भनाई छ । गाउँपालिकाले कार्यालय भवन बनाउनका लागी हालसम्म कुनै पहल नै नगरेको स्वयम जनप्रतिनिधीहरु नै वताउँछन् ।
यसैगरी यहाँका विभिन्न वडा कार्यालय समेत भाडाको घरवाट संचालन हुँदै आएका छन् । ठाँटिकाँध गाउँपालिका वडा नं. १ को कार्यालय समेत ठाँटिकाँध वजारमा रहेको भाडाको घरवाट संचालन हुँदै आएको १ नं. वासीको भनाई छ ।
दुर्गममा मात्र नभई सुगम क्षेत्रका पालिकाको हालत पनि उस्तै छ । दैलेखकै नारायण नगरपालिकाका केही वडा कार्यालय भाडाको घरबाटै सञ्चालित छन् । नारायण नगरपालिका वडा नं. १, २, ४, ६, ७, ८ र ९ का कार्यालयहरु भाडाकै घरवाट संचालन भैरहेको स्थानीयले वताएका छन् ।
यस्तै वडा नं. २ ले दुई ठाउँवाट वडा कार्यालय संचालन गर्दै आईरहेको छ । वडा नं. २ ले कोटथाप्लावाट र देवकोटा चोकवाट कार्यालय संचालन गर्दै आईरहेको स्थानीयले वताएका छन् । दुई/दुई ठाँउमा भाडा तिर्दा वडा कार्यालयमा आर्थिक भार थोपरिएको स्थानीय वताउँछन् ।
वडाअध्यक्षहरुले आफ्नो मान्छेको घर भाडामा लिनका लागी भवन वनाउन कुनै पहल नगरेको स्थानीयको आरोप छ । नारायण नगरपालिका वडा नं. ९ ले निर्माणाधिन भवन अधुरै छोडेर भाडाको घरवाट सेवा प्रवाह गर्दै आईरहेको छ । निर्माणाधिन भवन अधुरै छोडेर भाडाको घरवाट नियमित कामकाज गर्दै आईरहेको भन्दै स्थानीयले विरोध समेत गरेका छन् । वडा कार्यालयका आफ्नै कार्यालय भवन नहुँदा अनेक समस्या झेल्नुु परेको र भाडामा बस्दा आर्थिक भारसमेत धेरै पर्ने गरेको स्थानीयको भनाई छ ।
दैलेखकै चामुण्डाविन्द्रासैनी नगरपालिकाले विद्यालयको भवन भाडामा लिएर नगरपालिकाको कार्यालय संचालन गर्दै आईरहेको छ । उसले जम्भुकाँध वजारमा रहेको जयदेव माध्यामिक विद्यालयको भवन भाडामा लिएर कार्यालय संचालन गर्दै आएको स्थानीयले वताएका छन् । उता आठविस पनि भाडाको भवनवाट संचालन हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *