भीरवाट लडेर गर्भवती महिला घाईते, हेलिकप्टर मार्फत उद्दार

मातृभूमी संवाददाता । ०६ फागुन दैलेख
भीरमा घाँस काट्ने क्रममा लडेर गम्भिर घाइते भएकी गर्भवती महिलाको उद्धार गरिएको छ । जिल्लाको आठबीस नगरपालिका १ सात्तलास्थित ढांग्रेपानीकी २८ बर्षीया गर्भवती जिरा बिकलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको वडाध्यक्ष पर्वसिंह विश्वकर्माले बताए ।
भीरबाट खस्दा उनको बाँया खुट्टा भाँचिएको र शरिरका विभिन्न भागमा चोट लागेको वडाध्यक्ष विश्वकर्माले जानकारी दिए । उनी शुक्रवार बिहान गाउँ नजिकै रहेको नौतले भीरमा घाँस काट्न गएकी थिइन् । उनको गर्भमा ८ महिने शिशु रहेको बताईएको छ ।
दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलका अनुसार राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत गर्भवती महिलाको उद्धार गरिएको हो । घाँस काट्न गएकी गर्भवती महिला भीरबाट लडेर गम्भिर घाइते भएको सुचना पाए लगत्तै उद्धारको पहल गरिएको प्रमुख जिल्ला अधिकारी प्याकुरेलले बताए । गर्भवती महिला र शिशुको ज्यान जोगाउन राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत हेलिकप्टर मार्फत उद्धार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाईएको प्रमुख जिल्ला अधिकारी प्याकुरेलको भनाई छ । पछिल्लो ६ महिनाको अवधीमा दैलेखबाट ११ जना जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी प्याकुरेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *