गफाडी अध्यक्ष, पाँच वर्षमा गफ मात्रै
मातृभूमी संवाददाता । १३ फागुन दैलेख
स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिन अव केहि दिन मात्र वाँकी छ । पहिलो पटक स्थानीय तह गठन भएर निर्वाचित भएका जनप्रतिनिधिको कार्यकाल सकिन झण्डै ७५ दिन मात्र वाँकी छ । यो पाँच वर्षको अवधीमा दैलेखका जनप्रतिनिधिले नागरिकले प्रत्यक्ष महसुस गर्ने गरी कुनै पनि काम गर्न नसकेको नागरिकहरु वताउँछन् ।
दैलेखका जनप्रतिनिधिको पहिलो प्राथमिकता सडक वाहेक अन्य कुनै पनि योजना पर्न नसकेको जानकारहरु वताउँछन् । तर स्थानीय तहको निर्वाचनताका उनीहरुले गरेका प्रतिवद्धता सयमा १० प्रतिशत पनि पुरा हुन नसकेको नागरिकको भनाई छ । उनीहरुले प्रतिवद्धता गरे वमोजजिम वर्षेनी सडकमा पैसा खन्याउने वाहेक अन्य कुनै पनि काम गर्न नसकेको नागरिकहरु वताउँछन् ।
यसैवीच ठाँटिकाँध गाउँपालिकाका अध्यक्ष धीरवहादुर शाहीले चुनावका वेला गरेका कुनै पनि प्रतिवद्धताहरु पुरा नभएको ठाँटिकाँधवासीको भनाई छ । अध्यक्ष शाहीले २०७४ वैशाख ३१ गते भएको निर्वाचनका लागी विभिन्न २५ वुँदे घोषणापत्र जारी गरेका थिए । उनले घोषणा गरेको घोषणापत्र वमोजिम कुनै पनि काम नभएको स्थानीय वताउँछन् ।
निर्वाचनताका अध्यक्ष शाहीले ठुला-ठुला सपना वाँडेका थिए । स्थानीय हिमवहादुर दशौंदीले भने, ‘अध्यक्ष धीरवहादुर शाहीले गरेका घोषणाहरु कुनै पनि पुरा भएका छैनन् । २५ वुँदामध्ये पाँच वर्षमा मुस्किलले एउटा वुँदा पनि पुरा गर्न सकेनन् । चुनावका वेला अध्यक्ष शाहीले आश्वासन वाँडे चुनाव पनि जिते तर चुनाव जितेपछि आफ्नो वाचा विर्से । उनले ती गाउँ वस्तीलाई फर्केर हेरेनन् । हाम्रो भोटको अवमुल्यन गरे ।’
नेकपा एमालेवाट उम्मेदवार वनेर विजयी भएका अध्यक्ष धीरवहादुर शाहीले एक घर दुई रोजगार, ठाँटिकाँधमा केवलकार, लकान्द्र प्राथमिक स्वास्थ्य केन्द्रलाई सय शैयामा स्तरोन्नती गर्ने, कृषि क्याम्पस स्थापना गर्ने, ठाँटिकाँधको उत्तरी क्षेत्रलाई आरक्षको रुपमा विकास गर्ने, गाउँपालिकाका विभिन्न खोलावाट विद्युत उत्पादन गरी निर्यात गर्ने लगाएतका महत्वकांक्षि योजना घोषणा गरेका थिए । पाँच वर्षमा यी मध्ये कुनैपनि कामको शुरु हुन त परको कुरा हो चुनावपछि यस विषयमा छलफल समेत नभएको स्थानीय कलम वहादुर शाहीले वताए ।
स्थानीय शाहीले भने, ‘एक घर दुई रोजगारको कार्यान्वयनका लागी अध्यक्ष ज्युले छलफल समेत गर्नुभएको छैन । गाउँपालिकामा विजुली वाल्न नपाएका वेला केवलकार र विद्युत उत्पादन कुन चरीको दुध हो । गाउँपालिकाका जनतालाई अध्यक्ष शाहीले झुक्याउने वाहेक कुनै पनि काम गर्न सकेनन् । अव आगामी चुनावमा जनतालाई धोका दिनेलाई ठेगान लगाउनुपर्छ । जनता जागरुक वन्नुपर्छ ।’
अध्यक्ष शाहीले लकान्द्र प्राथमिक स्वास्थ्य केन्द्रलाई सय शैयामा व्यवस्थापन गर्ने वताएका थिए । स्वास्थ्य केन्द्रमा डाक्टरको दरवन्दी भएपनि हाल सम्म स्वास्थ्य केन्द्रमा डाक्टर पुगेका छैनन् । डाक्टर त परको कुरा हो । दरवन्दी अनुसारका कर्मचारी समेत गाउँपालिकाका स्वास्थ्य संस्थामा छैनन् । स्वास्थ्य संस्थामा पर्याप्त उपकरण र स्वास्थ्यकर्मी नहुँदा सुत्केरी र गर्भवतीले अकालमै ज्यान गुमाएका छन् ।
अध्यक्ष शाहीले भोटका लागी गाउँपालिकाका सोझासाझा जनतालाई गफ मात्र लगाएर झुक्याएका छन् । पाँच वर्षको अवधिमा अध्यक्ष शाहीले जनतालाई भुक्याउने वाहेक अन्य कुनै काम गर्न नसकेको स्थानीयवासीले आरोप लगाएका छन् ।