नारायण नगरपालिकामा कर मात्रै, सुविधा छैन
मातृभूमी संवाददाता । २० फागुन दैलेख
दैलेखको नारायण नगरपालिका १० की शान्ता काफ्लेले सम्पत्ति करबापत नगरपालिकालाई वार्षिक ३ सय रुपैयाँ तिर्दै आएकी छन् । तर त्यसको लाभ भने उनले आजसम्म लिन पाएकी छैनन् । सदरमुकामबाट झन्डै ५ घण्टा टाढा भवानीमा बस्ने उनी फजुलमा नगरपालिकालाई पैसा तिर्दै आएको बताउँछिन् ।
नगरपालिकाले कर नतिरे अन्य सिफारिस समेत नपाइने बताउँदै रकम असुलिरहेको उनको गुनासो छ । ‘विभिन्न शीर्षकमा कर तिर्दै आएकी छु,’ उनले भनिन्, ‘तर हामीले उपयोग नगरेका विषयमा पनि कर तिर्नुपर्ने बाध्यता छ ।’
नौमुले गाउँपालिका-३ द्वारीकी पूजा थापाले गाउँमा सानो घुम्ती पसल चलाएकी छन् । उनले पसलको कर मात्रै वार्षिक ४५ सय रुपैयाँ तिर्नुपरेको छ । ‘लाखौं मूल्यको कारोबार गर्नेहरू र हाम्रो करको दायरा एउटै छ,’ उनले भनिन्, ‘बजार क्षेत्रको र गाउँको कर एउटै हुँदा हामीजस्ता विपन्नलाई मार पर्यो ।’
नारायण नगरपालिकाले यो वर्ष पसल दर्ता र नवीकरण बापत ३ सय २० देखि ११ सय रुपैयाँसम्म कर तोकेको छ । नगरपालिकामा कपाल काट्ने व्यवसाय गर्नेले २ सय ३० देखि ५ सय रुपैयाँ तिर्नुपर्छ भने हार्डवेयर पसलको नवीकरण शुल्क ८ सय रुपैयाँ मात्र तोकिएको छ । सदरमुकामका पान पसले २ सय ७५ देखि ३ सय ५० रुपैयाँ तिर्न बाध्य छन् । ठेलामा सामान बेच्नेको कर १ सयदेखि ७ सय रुपैयाँसम्म तोकिएको छ । यो वर्ष गत वर्षभन्दा ४८ वटा शीर्षकमा १० प्रतिशतले कर बढाइएको नगरपालिका स्रोतले वताएको छ । नगरपालिकाले गत वर्ष १ करोड ८ लाख रुपैयाँ राजस्व उठाएको थियो ।
तर नारायण नगरपालिकाले मनोरन्जन कर, विज्ञापन कर लगाएतका शिर्षकमा हालसम्म कर उठाएको देखिदैन । जिल्ला सदरमुकाममा रहेका व्यापारीले ठुला-ठुला होर्डिङ वोर्ड राखेका छन् । होर्डिङ वोर्डको लम्वाई, चौडाईको आधारमा विज्ञापन कर नतोकिनु स्थानीय सरकारको गैरजिम्मेवारीपन भएको स्थानीय वुद्धिजिवी वताउँछन् ।