ठाँटिकाँधमा निसास्सिएर दुई जनाको मृत्यु

मातृभूमी संवाददाता । २० फागुन दैलेख

ठाँटिकाँध गाउँपालिकामा निस्सासिएर दुई जनाकाे मृत्यु भएकाे छ । ठाँटिकाँध गाउँपालिका १ पिपलचौकमा आगजनीबाट निस्सासिएर दुई जनाको मृत्यु भएको हाे । चुलो नजिक आगो बालेर बिहीबार साँझ सुतेका आमाछोरा शुक्रबार दिउँसो मृत अवस्थामा फेला परेका छन् । मृत्यु हुनेमा ४० वर्षकी हरिकला बादी र १८ वर्षका छोरा रमेश बादी रहेकाे दैलेख प्रहरीले जनाएकाे छ ।

स्थानीय एक बालिकाले शुक्रबार दिउँसो घरभित्रबाट धुँवा आएको देखेपछि स्थानीयहरुलाई खवर गरेकी थिइन् । स्थानीयहरु गएर हेर्दा ओछ्याउने सबै जलेको र आमाछोरा मृत अवस्थामा फेला पारेका थिए । एकान्तमा घर भएकाले घटनाका बारेमा स्थानीयहरुले ढिलो थाहा पाएका हुन् ।

चुलो छेउमा परालको गुन्द्री र बाक्लो ओछ्याउने डसनामा आगोले जलेको दैलेखका प्रहरी प्रमुख डिएसपी भुवनेश्वर साहले बताए । ‘मृतकको हात र खुट्टा जलेको अवस्थामा रहेको छ,’ डिएसपी साहले भने, ‘मृत्यु के कारण भयो । पोष्टमार्टम रिर्पोटपछि मात्र खुल्नेछ ।’

प्रहरीका अनुसार कोठाभित्रको भाग जलेको र बाहिर नजलेको अवस्था देखिएको छ । जिल्ला प्रहरी कार्यालयबाट र दुल्लु ईलाका प्रहरी कार्यालयबाट अनुसन्धानका लागि प्रहरी टोली खटिएको छ । डिएसपी साह आफै घटनास्थलमा पुगेका छन् ।

मृतक हरिकलाका श्रीमानकाे  ६ वर्षअघि मृत्यु भएको थियो भने छोरीको पनि ५ वर्षअघि विहेवारी भईसकेको छ । घरमा छोरासहित उनी एक्लै बस्ने गरेको स्थानीयले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *