करेन्ट लगाएर माछा मार्ने चार जनालाई जरिवाना
मातृभूमी संवाददाता । २० फागुन दैलेख
दैलेखका खोलामा करेन्ट लगाएर माछा मार्ने ४ जनालाई जिल्ला प्रशासन कार्यालय दैलेखले कारवाही गरेको छ । जिल्लाका विभिन्न खोला तथा नदिहरुमा करेन्ट लगाई, बिष्फोटक पदार्थ प्रयोग गरी तथा बिषालु पदार्थको प्रयोग गरी माछा मार्ने गरेको जनगुनासो आएपछि प्रहरीको गस्ती टोलिले करेन्ट लगाई माछा मारिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरी प्रशासनमा वुझाएको थियो ।
पक्राउ पर्नेमा दैलेखको नारायण नगरपालिका वडा नं. ८ का २६ वर्षिय रमेश रावल, २८ वर्षिय गणेश रावल, १८ वर्षिय कृष्ण बहादुर रावल र २८ वर्षिय धर्मराज सिंहलाई नियन्त्रणमा लिई प्रशासनलाई वुझाईएको दैलेख प्रहरी प्रमुख डिएसपी भुवनेश्वरप्रसाद साहले जानकारी दिए । पक्राउ परेकाहरुको साथबाट १ थान ब्यट्री, २ थान जाल, १ थान ईन्भटर, १ गुच्चा तार, बाँसका लठ्ठि लगाएत माछा वरामद गरिएको डिएसपी साहले वताए ।
दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले पक्राउ परेका चार जनालाई जरिवाना गरि छाडिएको वताए । प्रमुख जिल्ला अधिकारी प्याकुरेलले भने, ‘जिल्लाका खोला तथा नदिहरुमा अत्याधिक मात्रामा करेन्ट लगाई माछा मारिरहेको भन्ने जनगुनासो आईरहेको छ । अहिलेसम्म हामीले जरिवाना मात्र गरेर छोडेका छौँ । आगामी दिनमा जरिवाना सँगसँगै कैद पनि गरिने छ । खोलामा दिनप्रतिदिन माछाहरु सकिदै गएका छन् । माछाका भुरा समेत पाईन छोडेको छ । त्यसैले जलचरको संरक्षण गर्नु हरेक नागरिकको दायित्व हो । यन्यथा जलचरलाई असर पर्ने खालका गतिविधी गर्ने जोकोहिलाई पनि छाडिने छैन ।’
जलचर संरक्षण ऐन, २०१७ को दफा ८ को उपदफा १ वमोजिम खोला तथा नदिहरुमा करेन्ट लगाई, बिष्पोटक पदार्थ तथा बिषालु पदार्थको प्रयोग गरी माछा मार्नेलाई कारवाही गरिने उल्लेख छ । जसमा नियम उल्लघंन गर्ने वा गर्न दुरुत्साहन गर्ने व्यक्तिलाई स्थानीय अधिकारीको आदेशले कसूरको मात्रा हेरी हानी नोक्सानी भएकोमा बिगो बराबरको क्षतिपूर्ति भराई ६ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुन सक्ने व्यवस्था रहेको छ ।