दैलेखमा रहेकाे पेट्राेलियम पदार्थ उत्खननकाे काम २ वर्षदेखी ठप्प
मातृभूमी संवाददाता । २१ फागुन दैलेख
दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषणको काम २ वर्षदेखि ठप्प छ । सन् २०२२ सम्ममा सक्ने गरी सम्झौता भए पनि नियमित काम नहुँदा अन्वेषणको मिति पटक-पटक सर्दै आएको छ । चिनियाँ प्राविधिकको टोलीले २०७६ फागुन ९ मा स्थलगत अध्ययन सकेको थियो । त्यसपछि स्वदेश फर्किएको टोली अहिलेसम्म नेपाल नआउँदा अन्वेषणको बाँकी काम हुन नसकेको हो ।
झन्डै ६ महिनाअघि चिनियाँ टोलीले स्थलगत अध्ययनको प्रतिवेदन खानी तथा भूगर्भ विभागलाई पठाएको थियो । तर कोरोना महामारीको कारण देखाउँदै प्राविधिक टोलीलाई चीन सरकारले नेपाल आउन दिएको छैन । २०७२ चैतमा पेट्रोलियम पदार्थ अन्वेषण गर्न चीन र नेपालका प्रधानमन्त्रीबीच द्विपक्षीय समझदारी भएको थियो । त्यही वर्ष तत्कालीन उद्योगमन्त्री सोमप्रसाद पाण्डे सहित पुगेको चिनियाँ टोलीले उत्खननको काम थालेको थियो । खानी तथा भूगर्भ विभाग र चीनको जिओजिकल सर्भे कम्पनीबीच अन्वेषण तथा उत्खनन गर्न २ अर्ब ४० करोड रुपैयाँमा सम्झौता भएको थियो । तर आयोजना कोरोना महामारीका कारण झन्डै २ वर्ष पछि धकेलिएको छ ।
दैलेख उद्योग वाणिज्य संघका उपाध्यक्ष रूपक थापाले दैलेखका ठूला योजना तोकिएको समयमा हुन नसक्नुमा सरकारकै कमजोरी रहेकाे वताए । ‘पञ्चकोसी क्षेत्रमा बगिरहेको पेट्रोलियम पदार्थ, ग्यासको उत्खनन र सम्भावनाबारे अध्ययन गर्न थालेको पनि दुई वर्ष बित्यो,’ उनले भने, ‘अझै आयोजना पूरा गर्न कति समय लाग्ने हो ?’
चिनियाँ टोलीले २० हजार वर्गमिटर क्षेत्रमा गरेको सर्भेको रिपोर्टका आधारमा ड्रिलिङ गर्ने विभागको तयारी थियो । चिनियाँ टोली आउने बाटो हेर्दाहेर्दै २०१९ फेव्रुअरीमा गरिएको सम्झौताको म्याद सकिन थालेको खानी तथा भूगर्भ विभागका भूगर्भविद् डा. सुधीर रजौरेले बताए । सम्झौता भएको ३ वर्ष भए पनि १ वर्ष मात्र काम भएको छ । ‘ड्रिलिङ गरेर तेल र ग्यास पत्ता लगाएपछि व्यापारिक प्रयोजनका लागि उपयोग हुन्छ या हुँदैन भन्नेबारे अध्यनन गरिनेछ,’ उनले भने, ‘त्यसपछि हामी उत्पादन सुरु गर्छौं ।’ सेस्मिक सर्भेको स्थलगत अध्ययन गरेर फर्किएको चिनियाँ प्राविधिक टोलीले अन्वेषणका लागि सकारात्मक सुझाव दिएको छ ।
सेस्किम सर्भेको प्रतिवेदनले दैलेखमा पेट्रोलियम ग्यास भएको पुष्टि गरिसकेको विभागको भनाइ छ । सर्भे भएको स्थानमा पेट्रोलियम ग्यास भएको पुष्टि भइसकेकाले प्रविधिक र विज्ञ टोली आउनासाथ काम अघि बढाउने विभागका भूगर्भविद् डा. गणेशनाथ त्रिपाठीले बताए । भण्डारणको पुष्टि भने भइसकेको छैन । ‘ड्रिलिङ भएपछि उक्त क्षेत्रमा भण्डारण कति छ भन्ने थाहा हुन्छ,’ उनले भने, ‘अरू काम गर्न हामी चिनियाँ टोलीको बाटो कुरेर बसिरहेका छौं ।’
चिनियाँ प्राविधिक टोलीले दैलेखको नारायण, दुल्लु र चामुण्डा विन्द्रासैनी नगरपालिका तथा महावु, भैरवी, डुङ्गेश्वर र भगवतीमाई गाउँपालिकालाई आधार मानेर सेस्मिक सर्भे गरेको थियो । सेस्मिक सर्भेको काम सकेर स्वदेश फर्किएको चिनियाँ टोली अझैपनि नेपाल आएको छैन ।