दैलेखमा अन्तरराष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा पत्निमाथी चक्कू प्रहार

मातृभूमी संवाददाता । २४ फागुन दैलेख
अन्तरराष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा दैलेखमा एक गृहिणी माथि उनका श्रीमानले चक्कू प्रहार गरी घाइते बनाएका छन् । नारायण नगरपालिका ११ की २४ वर्षीया सावित्रा शाही माथि २७ वर्षीय उनका श्रीमानले बखतबहादुर शाहीले चक्कू प्रहार गरेका हुन् । घरमा बारम्बार कुटपिट र दुर्व्यवहार हुन थालेपछि गत पुस २९ गतेदेखि नौमूले गाउँपालिका ८ चौराठास्थित माइतीघरमा बस्दै आएकी सावित्रामाथी सोमवार साँझ माइतीघरमा पुगेर बखतले चक्कू प्रहार गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
सावित्रा माथि चक्कू प्रहार भएपछि जोगाउन गएका उनका बुबा ४६ वर्षीय बमबहादुर चन्द र भाई १४ वर्षीय सुरेश चन्दलाई पनि चक्कू प्रहार गरेर घाइते बनाएकोमा घटना लगतै गाउँकै मेडिकलमा प्राथमिक उपचारपछि दैलेख अस्पतालमा पुर्‍याइएको थियो । दिनहुँ जस्तो कुटपिट र दुर्व्यवहार गर्न थालेपछि गएको दुई महिनादेखि सावित्रा माइतीघरमा बस्दै आएकी थिईन् । वखतवहादुरले माइतीमै पुगेर एक्कासी चक्कू प्रहार गरी घाइते बनाएको पीडित महिलाले बताइन् । तीनै जनाको उपचार दैलेख अस्पतालमा भईरहेको जिल्ला अस्पताल दैलेखका डा. जगत थापाले जानकारी दिए ।
पीडित पक्षले मंगलवार दिएको ‘ज्यान मार्ने उद्योग’ सम्वन्धी जाहेरीका आधारमा आरोपित बखतबहादुर शाहीलाई प्रहरीले घरबाटै पक्राउ गरेको छ । उनलाई प्रहरी हिरासतमा राखिएको र अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक इन्द्रजीत सुनारले जानकारी दिए ।
आरोपित बखत र पीडित सावित्राको नौ वर्ष अघिको बैवाहिक सम्वन्धबाट सात वर्षको बिवेक र चार वर्षको बसन्त नामका दुई वटा छोरा
छन् । यी दुवै अहिले मावलीमै छन्, बिवेक अहिले नेपाल राष्ट्रिय आधारभूत विद्यालय ठानडाँडामा कक्षा ३ मा पढ्दै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *