‘महिलाको सीप र क्षमता विकास गर्नुपर्छ’
मातृभूमी संवाददाता । २४ फागुन दैलेख
नारायण नगरपालिका दैलेखका नगरप्रमुख रत्नबहादुर खड्काले महिला माथि हुने सबै खाले हिंसा रोकथाम गर्न महिलालाई आत्मनिर्भर बनाउन सीप र क्षमताको विकास गर्नुपर्ने बताएका छन् । ११२ औं अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा दैलेख सदरमुकाममा आयोजित कार्यक्रममा उनले महिलाहरुको क्षमता विकास र आत्मनिर्भरता अभिबृद्धिका निम्ति सरकारले थुप्रै कार्यक्रमहरु ल्याएको तर ती कार्यक्रमहरुको उचित सदुपयोग हुनुपर्ने नगरप्रमुख खड्काले वताए ।
कार्यक्रममा नेपाल काँग्रेसका महाधिवेसन प्रतिनिधि मीना थापाले महिला तथा पिछडिएको जाति, वर्ग, क्षेत्र र समुदायका निम्ति संघ, प्रदेश र स्थानीय सरकारले ठोस कार्यक्रमहरु ल्याउन नसकेको टिप्पणी गरिन् । थापाले महिला लक्षित कार्यक्रमहरु प्रभावकारी हुन सकेका छैनन् भन्ने कुरा अन्तरराष्ट्रिय महिला दिवसमा न्यून उपस्थितिले पनि प्रष्ट्याएको वताईन् ।
त्यस्तै नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाका सदस्य पार्वती बिशुन्केले पठाएको सन्देश पढेर सुनाइएको थियो । ‘महिला मुक्तिका लागि स्वयम् महिलाहरुको अग्रसरता जरुरी रहेको उनले पठाएको सन्देशमा उल्लेख गरिएको छ ।
दिवसका अवसरमा आयोजित कार्यक्रममा महिला नेतृ सरस्वती श्रेष्ठले विगतमा महिला तथा लक्षित वर्गका लागि वजेट विनियोजन गर्ने गरिएपछि स्थानीय सरकार आएपछि उक्त बजेट बढाउनु पर्नेमा कटौती गरिएकोमा आपत्ति जनाइन् ।
जनता आधारभूत विद्यालयकी प्रधाध्यापक मेनुका गौतमले महिलाहरुको सशक्तिकरण बढ्दै गए पनि पछाडि पारिएका महिलाहरुले लाभ लिन नसकेको बताइन् । प्रधानाध्यापक गौतमले देशमा महिला सशक्तिकरणका लागी विभिन्न कार्यक्रमहरु संचालन भैरहेको भएपनि यस्ता कार्यक्रमवाट महिलाहरुले लाभ लिन नसकेको धारणा राखिन् ।
नारायण नगरपालिका ७ का वडा सदस्य निर्मला खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल महिला संघका कार्यवहाक सभापति दुर्गा श्रेष्ठ, सामाजिक सेवा केन्द्र (सोसेक)का उपकार्यकारी निर्देशक दुर्गा गिरी, अधिकारकर्मी रमा श्रेष्ठ लगायतले आ-आफ्नो धारणा राखेका थिए ।
गिती नाटक प्रर्दशन
अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा भएको कार्यक्रममा गिती नाटक ‘बिहे वारी २० बर्ष पारी’ प्रर्दशन गरिएको छ । नारायण नगरपालिका १ दैलेखको पञ्चकोशी ज्वाला युवा प्रतिष्ठानले नाटक प्रर्दशन गरेको हो । नाटकमा लोकेश गिरी, गोमा थापा, कल्पना शाही, पुर्ण बुढा, शिवराज सारु, हिमराज बस्नेत, ममता सुनार, पबित्रा बि.क, सन्जिता सुनार, सर्मिला थापा, साक्षी गिरी, भावना थापा र अर्जुन थापाले अभिनय गरेका थिए ।
गिती नाटक ‘बिहे वारी २० बर्ष पारी’ मा विभिन्न बाहामा बाल विवाहलाई प्रोत्साहन गर्ने गरिएको, बाल विवाहले हुने असर जस्ता सवाललाई समावेश गरिएको थियो । नाटकमा बाल विवाह गर्ने र गराउनेलाई हुने सजायका वारेमा पनि जानकारी गराईएको थियो । मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा १७३ ले विवाह गर्ने व्यक्तिको उमेर बीस वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन हुँदैन भन्ने व्यवस्था गरेको छ । त्यस विपरीत भएको विवाह स्वतः बदर हुने र त्यस्तो कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजारसम्म जरिवाना हुनेछ, भनिएको छ । सोही ऐनको दफा १७६ ले बालविवाहको उजुरी गर्ने हद म्याद कसूर भए गरेको थाहा पाएको मितिले तीन महिना तोकेको छ ।
म्युजिकल चियर प्रतियोगीता
११२ औँ अन्तरराष्ट्रिय महिला दिवसका अबसरमा दैलेख सदरमुकाममा भएको कार्यक्रममा म्युजिकल चियर प्रतियोगिता सम्पन्न भएको छ । म्युजिकल चियर प्रतियोगीतामा पुजा खड्का प्रथम, शर्मिला रावल द्धितिय, शर्मिला देवकोटा तृतिय र रेचल थापाले सान्तवना स्थान हात पारेका छन् । प्रतियोगितामा २९ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा जिल्लाको सांस्कृतिक पहिचान बोकेको देउडा खेल समेत प्रदर्शन गरिएको थियो । सोहि अबसरमा मिसा दय् दवुले समेत नृत्य प्रर्दशन गरेको थियो । साथै ‘म हिंसा गर्दिन, म हिंसा सहदिन’ भन्दै कार्यक्रममा सहभागि जनप्रतिनीधि, कर्मचारी तथा स्थानीयले हस्ताक्षर समेत गरेका छन् ।
सदरमुकामको गणेश चोकबाट नारा, प्लेकार्ड सहितको जुलुसले नयाँ बजार, देवकोटा चोक, पुरानो बजार हुँदै नगर परिक्रमा गरेपछि स्थानीय टुँडिखेलमा कार्यक्रम गरिएको थियो । नारायण नगरपालिका, सोसेक, इन्सेक, सुन्दर नेपाल संस्था, सीवीओ महासंघ, एभरेष्ट क्लव, सीएमसी, महिला सशक्तिकरण मञ्च, नेपाल परिवार नियोजन संघ लगायतको संयुक्त आयोजनामा उक्त कार्यक्रम गरिएको थियो ।
सन् १९०९ मा संयुक्त राष्ट्र संघको निणर्य अनुसार सन् १९१० मा कोपेनहेगनमा भएको दोस्रो अन्तरराष्ट्रिय महिला सम्मेलनले ८ मार्चलाई अन्तरराष्ट्रिय महिला दिवसको रुपमा मनाउन थालिएको हो ।