एमाले दैलेखको स्थगित जिल्ला अधिवेशन चैत्र १ र २ गते हुने

मातृभूमी राजनितिक व्युरो । २४ फागुन दैलेख
नेकपा (एमाले) दैलेखको स्थगित जिल्ला अधिवेशन चैत्रमा हुने भएको छ । गएको पौष २७ गते भएको मतदानमा फर्जि मत खसेपछि स्थगित भएको नेकपा (एमाले) दैलेखको अधिवेशन चैत्रमा हुने भएको हो । जिल्ला अधिवेशन चैत्र १ र २ गते हुने एमाले दैलेखका अध्यक्ष रविन्द्रराज शर्माले जानकारी दिए । निर्वाचनको नयाँ मिति तोक्ने अधिकार पुरानै जिल्ला कमिटीलाई प्रदान गरेसँगै मंगलबार बसेको एमाले जिल्ला कमिटि दैलेखको बैठकले नयाँ मिति तय गरेको अध्यक्ष शर्माले बताए ।
निर्वाचनको नयाँ प्रक्रिया थालनी गरेसँगै यसअघि सर्वसम्मत चयन भएका पदहरुमा पुनः निर्वाचनको प्रक्रियाबाट आउनुपर्ने केन्द्रीय निर्वाचन आयोगको निणर्यसँगै सबै पदको उम्मेदवारी मनोनयन र पुनः मतदान प्रक्रिया सुरु गरिने अध्यक्ष शर्माले बताए । ‘अब पुनः पार्टीले पठाएको अन्तर पार्टी निर्देशन (अपानी) अनुसार उम्मेदवारी दर्ता हुन्छ, सबै निर्वाचन प्रक्रियाबाट टुंगोमा पुग्छ,’ अध्यक्ष शर्माले भने । पुरानो सर्वसहमतिमा चयन भएका सम्पुणर् सदस्य एवं पदाधिकारी सबैले समेत नयाँ प्रक्रियामा भाग लिनु पर्ने अध्यक्ष शर्माले बताए ।
एमाले दैलेखको सातौँ जिल्ला अधिवेशन गत पुस २३ गते उद्घाटन भएको थियो । पुस २४ गते बन्दसत्र सकिएपछि सर्वसम्मतीको प्रयास गरिएको थियो । यद्धपी सर्वसम्मतीको सबै प्रयासहरु असफल भएपछि पुष २५ गतेबाट निर्वाचन पक्रिया थालिएको थियो ।
पुष २७ गते भएको मतदानमा ७ सय १७ मत खसेको निर्वाचन कमिटिका प्रमुख निर्वाचन अधिकृत हिमालयजंग शाहले जानकारी दिएका थिए । मतदान सकिएको झण्डै दुई घण्टापछि सुरु भएको मत गणनाका क्रममा अध्यक्ष सहित पदाधिकारी चयनका लागि मतपेटिकामा ७ सय ४८ मत भेटिएको थियो । जुन एमाले अधिवेशन प्रतिनीधि (मतदाता) भन्दा २७ मत बढि थियो भने मतदान सकिएपछि खसेको भनिएको मत भन्दा ३१ मत बढि थियो ।
एमालेको अधिवेशनका लागि जिल्लाभरबाट ७ सय २१ जना प्रतिनीधि चयन भएका थिए । एमाले प्रतिनीधि भन्दा २७ र मतदान सकिए लगत्तै मुचुल्का उठाउँदा भनिएको मत संख्या भन्दा ३१ मत भेटिएपछि निर्वाचन प्रक्रिया नै बदर गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *