दोस्रो कार्यकालका लागि अध्यक्षमा शर्मा विजयी
मातृभूमी राजनितिक व्युरो । ०३ चैत दैलेख
बुधवार भएको नेकपा एमाले दैलेखको पुनः निर्वाचनको अन्तिम परिणाम आएको छ । गत मंसिरमा खसेको मत भन्दा मतपेटिकामा बढी मत फेला परेका कारण बदर गरिएको निर्वाचन पछि मंगलवार परेको उम्मेदवारी अनुसार बुधवार भएको मतदानको विहीवार विहान मतगणना सकिएको हो । मतगणनाको परिणाम अनुसार रविन्द्रराज शर्माले चार सय १४ मत प्राप्त गरी अध्यक्ष पदमा पुनःविजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्दी सूर्यबहादुर शाहीले दुई सय ६३ मत प्राप्त गरे ।
कुल सात सय २३ मतदाता रहेको दैलेखमा वुधवार भएमो निर्वाचनमा ६ सय ८४ जनाले मतदान गरेका थिए । अघिल्लो पटक मतगणना गर्न खोलिएको मतपेटिकामा कुल मतदाता संख्या भन्दा ३१ मत बढी अर्थात सात सय ४८ मत फेला परेपछि निर्वाचन प्रक्रिया नै बदर गरिएको थियो । गत मंसिर २३ गते देशभर एकै पटक जिल्ला अधिवेशन तोकिएको समयमा भएको निर्वाचनमा सात सय २३ मतदाता मध्ये सात सय १७ मत खसेको थियो ।
खसेको मत भन्दा मतपेटिकामा ३१ बढी मत फेला परेपछि एकले अर्को पक्षलाई ‘किर्ते गरेको’ भन्दै सम्पूणर् निर्वाचन बदर गरी यस पटक उम्मेवारी लिनेदेखि मतदानसम्मको नयाँ प्रक्रिया लिंदा अरु पदहरुमा नयाँ उम्मेदवारी परे पनि अध्यक्ष पदमा रविन्द्रराज शर्मा र सूर्यबहादुर शाही पुरानै उम्मेदवारवीच भिडन्त भएको थियो ।
अध्यक्षमा निर्वाचित रविन्द्रराज शर्मा प्रतिनिधिसभा दैलेख निर्वाचन क्षेत्र नं. १ का साँसद हुन् । २०५४ को निर्वाचनमा शर्माले दैलेख सदरमुकाममको नारायण नगरपालिकाको मेयर जितेका थिए ।
उनी २०७१ सालमा भएको नेकपा एमालेको छैटौं जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित भएका थिए । एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेकपा कालिन समयमा पनि दैलेखमा अध्यक्ष एमालेको हिस्सा पर्दा शर्मा नै नेकपाको जिल्ला अध्यक्ष थिए ।
२०४७ सालमा नेकपा मालेको सुरुवाती पार्टी नेतृत्व गरेका शर्मा २०४८ र २०५१ को संसदीय निर्वाचनमा नेकपा एमालेको तर्फबाट उम्मेवार समेत वनेका थिए । त्यसबेला एमालेको संगठन कमजोर भएको कारण धौधौ धरौटी जोगिएको थियो ।
२०५२ मा नेमकिपाको ठूलो पङ्क्ति नेकपा एमालेमा समाहित भएपछि उनले नेतृत्व छोडेका थिए । नेमकिपाको ठूलो पङ्क्ति नेकपा एमालेमा समाहित भएपछि एमालेले दैलेखमा २०५४ को स्थानीय निकायको निर्वाचनमा एमालेको बर्चस्व कायम गराउन सकेको श्रेय शर्मालाई दिइन्छ ।
नेमकिपालाई एमालेमा समाहित गराउँदा वा सामाजिक प्रभाव भएको परिवर्तनगामीहरुलाई नेतृत्व सुम्पिएर हार्दिकता जनाएको श्रेय पाए पनि २०६१ मा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा पक्षधरता जनाएर गतिविधिमा लागेका कारण अहिले पनि साँसद शर्माको ‘राजावादी’को ताज मेटिएको छैन ।
जस्तै ठूलै समस्यालाई पनि सामान्य ढंगले लिने, जनसरोकारको समस्या सुन्ने तर काममा चासो नदिने, कार्यकर्ता तथा सरोकारवालाहरुले गरेको फोन नउठाउने नेता भनेर साँसद शर्माको बेला-बेला आलोचना हुने गर्दछ ।
नेकपा एमालेको दोहोर्याएर गरिएको निर्वाचनमा उपाध्यक्ष प्रेमबहादुर बुढा, सचिवमा तिलक रिजाल, दुई सहसचिवमा कलावती न्यौपाने र गंगाराम दाहाल विजयी भएका छन् । जिल्ला नेतृत्वमा अध्यक्ष सहित पाँच जना पदाधिकारी रहने व्यवस्था छ । स्थानीय तहको संख्या अनुसार फरक-फरक हुन सक्ने विधानले गरेको व्यवस्था अनुसार दैलेखमा पाँच पदाधिकारी र ९५ सदस्य गरी १०० सदस्यीय जिल्ला कमिटी निर्वाचित भएको छ ।
पार्टीको विधान अनुसार जिल्लाका ११ वटै स्थानीय तहबाट हरेक पालिकाका तीन पुरुष र दुई महिला गरी ५५ जना, तीन महिला सहित नौ जनजाति, चार महिला सहित १५ जना दलित, पाँच महिला सहित २१ जना खुला सदस्य निर्वाचित भएका छन् । दलित सदस्यहरु सर्वसम्मति भएको थियो ।
आन्तरिक चुनावमा पनि ‘किर्ते गरेको’ भनी आलोचना भएको बेला नेकपा एमालेको केन्द्रीय निर्वाचन विभाग प्रमुखको प्रत्यक्ष निगरानीमा अघिल्लो निर्वाचन अधिकृत हिमालयजंग शाहलाई नै निर्वाचन अधिकृत बनाई निर्वाचन कार्य सम्पन्न गरिएको छ । निर्वाचन अधिकृत शाहलाई अघिल्लो पटक सही नेतृत्व गर्न नसकेको भनी त्यतिवेला निकै आलोचना भएको थियो ।