एकीकृत समाजवादीले खटायो चुनावी कमान्डर, दैलेखमा अध्यक्ष थापा
मातृभूमी राजनितिक व्युरो । ०८ चैत दैलेख
नेकपा एकीकृत समाजवादी कर्णाली प्रदेश कमिटीले सबै जिल्लामा चुनावी कमान्डर खटाएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर प्रदेशका १० वटै जिल्लामा चुनावी कमान्डर खटाएको हो ।
जसअनुसार एकिकृत समाजावादी कर्णाली प्रदेशका अध्यक्ष अम्मरबहादुर थापालाई दैलेख, ठगेन्द्रप्रकाश पुरीलाई सुर्खेत, कृष्णबहादुर विसीलाई जाजरकोट, कुर्मराज शाहीलाई कालीकोट, नन्दा शर्मालाई सल्यान, शेरबहादुर केसीलाई रुकुम पश्चिम, देविलाल थापालाई जुम्ला, चन्द्रबहादुर शाहीलाई हुम्ला, हंशबहादुर शाहीलाई डोल्पा र गोपाल बमलाई मुगुमा खटाएको हो ।
चुनावी कमान्डरहरु ‘जनतामा जाऔं, एकीकृत समाजवादीलाई जिताऔं’ भन्ने नारा लिएर तोकीएका जिल्लाहरुमा पुगेका छन् । उनीहरुले चैत २० गतेसम्म जिल्लादेखि टोलस्तरसम्म १५ दिने जनपरिचालन अभियान सञ्चालन गर्नेछन् ।
समाजवादीको दोस्रो पूणर् बैठकले २७ वटा विभाग, १२ सदस्यीय कार्यालय र ४७ सदस्यीय सचिवालय गठन गरेर नेताहरुको जिम्मेवारी समेत बाँडफाँड गरेको प्रदेश कमिटी अध्यक्ष अम्मरबहादुर थापाले बताए । पार्टीले चैत १५ गते सबै जिल्लामा र १८ गते पालिकामा निर्वाचन परिचालन कमिटीहरु घोषणा गर्ने निणर्य गरेको अध्यक्ष थापाले जानकारी दिए ।
नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपमहासचिव प्रकाश ज्वालाले निर्वाचनमा गठबन्धनबीच चुनावी तालमेल हुने दाबी गरेका छन् । ‘हामी आफ्नै शक्तिमा चुनावमा जान सक्छौँ तर अहिलेको अवस्थामा कुनै पनि दलको स्पष्ट बहुमत आउने अवस्था छैन’ ज्वालाले भने, ‘एउटै दलको बहुमत नआउने हुँदा गठबन्धनबीच स्थानीय तहदेखि प्रतिनिधि सभाको चुनावसम्म तालमेत हुन्छ ।’