प्रमुख पाउनु पर्ने दैलेखका उप-प्रमुखहरुको दावी

मातृभूमी संवाददाता । २२ चैत दैलेख
संघीयताको पहिलो अभ्यास गर्दैगर्दा २०७४ को स्थानीय तहको निर्वाचनमा अधिकांश स्थानीय तहका उपमेयर/उपाध्यक्षमा महिलालाई जिम्मेवारी दिइयो । उनीहरु आफ्नो कार्यकालको अन्त्यतिर आइपुगेका छन् । कर्णाली प्रदेशका विभिन्न पालिकाका उपमेयर/उपप्रमुखहरु अब भने आफूहरुले मेयर/अध्यक्ष पदमा मौका पाउनुपर्ने बताउँछन् ।
संविधानले स्थानीय तहको प्रमुख वा उपप्रमुख मध्ये एक जना महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ । ‘तर, यो भनेको महिलामात्र उप-प्रमुख हुनुपर्छ भनेको होइन,’ दैलेखको आठबीस नगरपालिकाकी उपमेयर दीपा बोहोरा भन्छिन्, ‘अब आउने चुनावमा हामीले आफूलाई अपग्रेड गराउनै पर्छ ।’
स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ४ को उपदफा १ बमोजिम नगरपालिका, गाउँपालिका तथा जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख मध्ये एक पदमा महिला सहित उम्मेदवारी दिनुपर्ने व्यवस्था छ । बोहोरा भन्छिन्, ‘यदि त्यो व्यवस्था नगरेको खण्डमा उप-प्रमुखमा पनि महिलाको उपस्थिति न्युन हुने थियो ।’
बोहोरा मात्र होइन, पाँच वर्षे कार्यकालको अन्त्यतिर पुगेका दैलेखका अधिकांश उपाध्यक्ष/उपप्रमुखहरूले अध्यक्ष/मेयरमा लड्ने चाहना व्यक्त गरेका छन् । दैलेखका ११ स्थानीय तहमध्ये ४ वटा नगरपालिका छन् । ती सबैमा महिला उपप्रमुख छन् । उनीहरुले नेतृत्वमा महिला आएको खण्डमा सामाजिक मुद्दाहरूले प्राथमिकता पाउने र सामाजिक विकास नभएसम्म अन्य विकास सम्भव नहुने तर्क गरेका छन् ।
आठबीस नगरपालिकाको उपप्रमुखमा एमालेकी गमता विकलाई पराजित गर्दै नेपाली काँग्रेसकी दीपा बोहोराले ४ हजार १ सय ८७ मत ल्याएकी थिइन् । गमताले ३ हजार ९ सय ९० मत ल्याएकी थिइन् । उसो त बोहोराले २०७४ मै मेयरमा दाबी गरेकी थिइन् । तर पार्टीमा आफूभन्दा सिनियर व्यक्तिले चाहना देखाएपछि उनी ‘ब्याक’ भएकी हुन् । उनले भनिन्, ‘यो पटक मेयरमा दाबी गरिसकेकी छु र पार्टीभित्र पनि लबिङ भइरहेको छ । पहिला पनि आँट नभएको होइन । मेयर भएर काम गर्न सक्ने आँट, सीप, क्षमता सबै कुराले १०० प्रतिशत सक्षम छु ।’
यो पाँच वर्षको अवधिमा आफ्नो क्षमता अभिवृद्धि भएको उनको भनाई छ । ‘नगरपालिकामा केही फरक गर्छु भन्ने विश्वासका साथ लागिसकेको छु । समुदायबाट पनि सकारात्मक प्रतिक्रिया पाएकाले मेयरमै लड्छु,’ उनले भनिन् ।
बोहोराले आफू कार्यकारी भूमिकामा नहुँदा पालिकामा घटेका सामाजिक मुद्दाले न्याय पाउन नसकेको अनुभव सुनाइन् । ‘मैले महिलाहरुलाई अझै पनि यो पार्टीलाई भोट दिनुस् भनेर भनेकी छैन । किनकि अब अब्बल महिलाहरु नेतृत्वमा आउनुपर्छ,’ उनले भनिन्, ‘सामाजिक विकासबिना भौतिक विकासले अर्थ राख्दैन । अर्बौं बजेट खर्च भइसकेको छ तर, गुणस्तर हुन सकिरहेको छैन ।’
यसैगरी काँग्रेसकी कृष्ण कुमारी शाहीलाई ३ सय ६९ मतले पराजित गर्दै एमालेबाट दुल्लु नगरपालिकाको उपप्रमुख पदमा निर्वाचित विष्णु थापाले कुल ६ हजार ४ सय ७८ मत ल्याएकी थिइन् । उनी पनि पार्टीले टिकट दिएको खण्डमा मेयरमा उम्मेदवारी दिने सोचमा छिन् ।
‘अहिलेसम्मको काम गरेको अनुभव र चाहनाले पनि त्यही भन्छ,’ उनले भनिन्, ‘पार्टीले विश्वास गरेर टिकट दिएको खण्डमा मेयरको भूमिका निर्वाह गर्न सक्छु भन्ने लाग्छ । काम गर्दै गर्दाको अनुभवले मेयर भएर दुल्लुलाई हाँक्न सक्छु भन्ने दृढ विश्वास पनि छ ।’
कार्य अनुभवका हिसाबले पनि अबको निर्वाचनमा उपप्रमुखहरुलाई प्रमुख पदका लागि उम्मेदवार बनाउन उपयुक्त हुने उनको भनाई छ । उनले भनिन्, ‘किनकि नयाँ व्यक्ति बाहिरबाट फ्याट्ट मेयर भएर आउँदा कार्यसम्पादनमा त्यति सहजता हुँदैन ।’
यता दैलेखको पुरानो र जेठो नारायण नगरपालिकामा एमालेबाट नगरपालिकाको उपप्रमुखमा जित हासिल गरी हाल नेकपा एकीकृत समाजवादी दल रोजेकी सावित्री मल्ल पनि अबको चुनावमा आफू नै मेयरको दाबेदार भएको बताउँछिन् । मल्ल एमाले छाडेर अहिले नेकपा एकीकृत समाजवादीमा गएका कारण पनि उनले मेयरको टिकट पाउने सम्भावना देखिन्छ ।
उनले भनिन्, ‘मेयरको भूमिकालाई सहज रुपमा निर्वाह गर्छु भन्ने आँट पनि छ । सकारात्मक सोच भएका व्यक्तिहरु कार्यकारी भूमिका आउनुपर्छ भन्ने लाग्छ ।’ महिलाहरुले कार्यकारी भूमिका पाएको खण्डमा भ्रष्टाचार जस्ता क्रियाकलापमा कमी आउने मल्लको भनाई छ ।
यसैगरी महावु गाउँपालिकाकी उपाध्यक्ष प्रेमकुमारी वुढाले ३ हजार ५ सय ८ मत ल्याएकी थिइन् । उनी अबको निर्वाचनमा आफू अध्यक्ष पदको प्रमुख दाबेदार रहेको बताइन् । वुढा भन्छिन्, ‘संघीयता आए पनि मान्छेको सोच परिवर्तन भने हुन सकिरहेको छैन । सामाजिक विकास हुन जरुरी छ । त्यो हिसाबले पनि महिलाहरु नेतृत्वमा आउनुपर्छ ।’
आउने निर्वाचनमा ५० प्रतिशत स्थानीय तहमा महिलाले नेतृत्व पाउनुपर्ने आफूहरुको माग रहेको उनले बताइन् । उनी भन्छिन्, ‘तर परम्परा के छ भने जित्ने ठाउँमा भएपछि पुरुषलाई अघि सार्ने र हार्ने ठाउँमा महिलालाई उठाउने चलन छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *