वेथिति श्रृंखला-३९ : रातो किताव छपाईमा अनियमितता, एउटैको मुल्य १ हजार ३ सय ४५
मातृभूमी संवाददाता । २५ चैत दैलेख
दैलेखको नारायण नगरपालिकाले प्रकाशन गरेको निति, बजेट तथा कार्यक्रम पुस्तक छपाईमा व्यापक अनियमितता भएको पाईएको छ । २०७८ साल असार ३० गतेको आठौँ नगरसभाले पारित गरेको निति, बजेट तथा कार्यक्रम पुस्तक छपाईमा व्यापक अनियमितता भएको पाईएको हो । नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक नीति बजेट तथा कार्यक्रम पुस्तक छपाईका लागि अस्वाभाविक रकम खर्च गरेको भन्दै अहिले तिव्र आलोचना भैरहेको छ ।
बाहिरी आवरण रातो रहेको उक्त पुस्तक २ सय ४७ पेजको छ । नगरपालिकाले एउटा पुस्तक छाप्न भ्याट बाहेक एक हजार ३ सय ४५ रुपैयाँका दरले २ सय ३० थान पुस्तकको भुक्तानी दिएको छ । पुस्तक वीरेन्द्रनगर सुर्खेतस्थित भवानी छापाखानामा छापिएको हो । छापाखानाले २०७८ कात्तिक ८ गते नारायण नगरपालिकाको नाममा जारी गरेको भ्याट बिलमा २ सय ३० थान पुस्तकको भ्याट सहित ३ लाख ४९ हजार ५ सय ६५ रुपैयाँ ५० पैसा उल्लेख छ । सुर्खेत र दैलेखका अन्य छापाखानामा वुझ्दा बजेट किताव छपाईका लागि अधिकतम मूल्य ४ सय रुपैयाँ पर्न जान्छ ।
यस विषयमा नारायण नगरपालिका दैलेखका सूचना अधिकारी निरक बहादुर रावलले उक्त बजेट पुस्तकको बारेमा आफूलाई कुनै पनि जानकारी नभएको प्रतिक्रिया दिए । सूचना अधिकारी रावलले भने, ‘रातो किताव छाप्न कसले भन्यो । कहाँ छापियो । यस विषयमा आफुलाई कुनै जानकारी छैन । एक्कासी किताव आएपछि रातो किताव प्रकाशन भएको रहेछ भनेर थाहा पाएको हुँ ।’
पुस्तक छपाईमा कुनैपनि बदमासी नभएको नगरपालिकाका सूचना प्रविधि अधिकृत प्रकास कुमार बिसीले जिकिर गरे । सूचना प्रविधि अधिकृत बिसीले भने, ‘हामी प्रक्रियामा चुकेका छैनौं । पुस्तक छपाईका लागि कोटेसन माग गरेका थियौं । फरक-फरक मूल्य सूची राखेर तीन वटा व्यवसायिक फर्मबाट कोटेसन परेको थियो । ती कोटेसन मध्ये सबैभन्दा कम मुल्य भवानी छापाखानाबाट पेश हुन आयो । सोही रकमलाई आधार मानेर नगरपालिकाले छपाईको काम गरेको हो ।’ तर नारायण नगरपालिका दैलेखको वेवसाईटमा २०७७ साल चैत्र २५ गते भन्दा पछाडी कुनै पनि किसिमको शिलवन्दी कोटेशन आह्वान गरिएको छैन । जवकी केहि वर्ष अगाडी सार्वजनिक सुनुवाई कार्यक्रम संचालन गर्नका लागी नगरपालिकाले शिलवन्दी कोटेशन आह्वान गरेको थियो ।
वजेट किताव प्रकाशन समितिको संयोजक उपमेयर सावित्री मल्ल छन् भने प्रमुख संरक्षक मेयर रत्नबहादुर खड्का छन् । सम्पादन मण्डलमा तत्कालिन प्रमुख प्रशासकीय अधिकृत रेमश बहादुर बुढा, अधिकृत छैठौँद्वय निरक बहादुर रावल र खमबहादुर थापा, सूचना प्रविधि अधिकृत प्रकास कुमार बिसी र नासु गोविन्द प्रसाद अधिकारी रहेको पुस्तिकामा उल्लेख गरिएको छ ।
पुस्तका छपाईमा भएको बदमासीबारे अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबीन गरिरहेको छ । नगरपालिकाका जनप्रतिनिनिहरुले बजेट पुस्तक छपाईमा आफूहरुको संलग्नता नभएको दावी गर्दै आएका छन् । तर नगरपालिकाकै एक जनप्रतिनिधीले रातो किताव छपाईमा जनप्रतिनिधीको मिलिमतोमा कर्मचारीले वदमासी गरेको नाम नछाप्ने शर्तमा वताए ।
सामाजिक संजाल फेसवुकमा पुस्तक छपाईको विषयलाई लिएर तिव्र आलोचना भैरहेको छ । नेपाल पत्रकार महासंघ दैलेखका सचिव भक्त वहादुर शाहीले ‘दैलेख नारायण नगरपालिकाको आ.ब. ०७८/०७९ को बार्षिक निति, बजेट तथा कार्यक्रम पुस्तिकाको छपाईमा आर्थिक अनियमितता भएको छ । एउटै किताब छपाईको मुल्य १३४५ रुपैयाँ । चांदिका अक्षरले नै लेखे छ कि क्या हो ।’ भनेर फेसवुकमा लेखेका छन् ।