दैलेखका ४६ मतदान स्थल अति संवेदनशील
मातृभूमी राजनितिक व्युरो । ०६ बैशाख दैलेख
दैलेखका ४६ मतदान स्थल अति संवेदनशील रहेका छन् । जिल्ला सुरक्षा समितिले मतदान स्थलको स्थलगत निरीक्षण गर्दै सुरक्षा चुनौतीका दृष्टिले अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन किसिममा वर्गीकरण गरेको छ । जिल्ला सुरक्षा समितिका संयोजक एव प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जिल्लाका १ सय ३६ मतदान स्थल मध्ये ४६ अति सवेदनशील, ५५ सवेदनशिल र ३५ सामान्य रहेको जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी प्याकुरेलले बिगतको निर्वाचनमा भएका घटना, दलको प्रतिष्पर्धा, भौगोलीक अवस्था लगायतलाई आधार बनाई मतदान स्थलको बर्गिकरण गरेको बताए । प्याकुरेलले भने, ‘स्थानीय तह निर्वाचनमा मतदन स्थलको अवस्थाका आधारमा सुरक्षा व्यवस्था मिलाएर ती मतदान स्थलबाट मतगणना स्थलसम्म मतपेटिकालाई सुरक्षित ढुवानी गर्न समेत आवश्यक सुरक्षा सजगता, सुरक्षा परिचालन गर्न सुरक्षा समितिको बैठक छिट्टै बस्ने छ ।’
सुरक्षा समितिले दिएको जानकारी अनुसार नारायण नगरपालिकाका १४ मतदान स्थल सामान्य, दुल्लु नगरपालिकाका ९ मतदान स्थल संवेदनशील, १३ सामान्य, आठबिस नगरपालिकाका ६ मतदान स्थल अति संवेदनशील, ७ सवेदनशील र २ मतदान स्थल सामान्य रहेको जानकारी दिएको छ ।
त्यस्तै महावु गाउँपालिकाका ३ मतदान स्थल अति संवेदनशील, ६ सामान्य, गुराँस गाउँपालिकाका ६ मतदान स्थल अति संवेदनशील, ४ संवेदनशील र २ सामान्य, डुङ्गेश्वर गाउँपालिकाका २ मतदान स्थल अति संवेदनशील, ५ संवेदनशील र २ सामान्य, नौमुले गाउँपालिकाका १० मतदान स्थल अति संवेदनशील र ६ सामान्य, भैरवी गाउँपालिकाका ३ मतदान स्थल अति संवेदनशील, ६ सामान्य, ठाटिकाँध गाउँपालिकाका ४ मतदान स्थल अति संवेदनशील, ४ सामान्य, भगवतिमाई गाउँपालिकाका ४ मतदान स्थल अति संवेदनशील, ६ सबेदनशील र २ सामान्य रहेका छन् ।
सुरक्षा समितिका संयोजक प्रमुख जिल्ला अधिकारी, निर्वाचन कार्यालय प्रमुखको टोलीले जिल्लाका ११ स्थानीय तह मध्ये केही स्थानीय तहमा रहेका मतदान स्थलहरुको निरीक्षण गरेको र केही स्थानीय तहमा रहेका मतदान स्थलहरुको निरीक्षण गर्नेक्रम जारी रहेको सुरक्षा समितिले जानकारी दिएको छ । सुरक्षा समितिले २०७४ सालको निर्वाचनमा जस्तो यस पटक भूमिगत समूहको हिंसात्मक गतिविधि नहुने विश्लेषण समेत गरेको छ । दैलेखमा एक लाख ५८ हजार ४ सय ८९ मतदाता छन् ।