दैलेखका ४ नगरमा सत्तारुढ गठबन्धन र एमालेको स्थिति
मातृभूमी राजनितिक व्युरो । ०७ बैशाख दैलेख
स्थानीय तहको निर्वाचन आउन अव २३ दिन मात्र बाँकी छ । केन्द्रमा वनेको चुनावी गठवन्धन अनुसार जिल्लामा पनि ४ दलिय गठवन्धन वनेको छ । जिल्लामा वनेको गठवन्धनले कुन पालिकामा कुन दलले प्रमुख लिने, कुन दलले उपप्रमुख लिने भन्नेवारे अझैं टुंगो लागेको छैन । जिल्लामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबीच चुनावी गठवन्धन गर्ने निणर्य भएपनि यहाँ रहेका ४ नगरपालिकाको नेतृत्व भागवण्डा भने भएको छैन । यता नेकपा एमाले दैलेखले नेपाल मजदुर किसान पार्टीसँग चुनावी तालमेल गर्ने हल्ला गाँईगुँई सुनिन थालेको छ ।
२०७४ मा सम्पन्न स्थानीय तहको मत परिणामले पनि दुई गठबन्धनले यसवर्ष प्राप्त गर्ने सम्भावित मतको केही आकलन गर्न सकिन्छ । नयाँ मतदाताको निणर्य, उम्मेदवारको छनोट र स्थानीयस्तरमा उनीहरुको लोकप्रियता, यसअघि विजयी उम्मेदवार र पार्टीको कार्यकुशलता र गठबन्धनप्रति दलहरुको इमान्दारिताले यस पटकको मतपरिणामलाई प्रभावित पार्नेछ । नेकपा एमालेबाट विभाजित नेकपा एकीकृत समाजवादीले एमालेको कति हिस्सा प्रभावित पार्छ भन्ने अहिले खुलेको छैन । एकीकृत समाजवादीले एमालेमा पारेको क्षति स्थानीय तह अनुसार फरक हुन सक्छ ।
२०७४ सालको मत परिणाम हेर्दा कांग्रेस नेतृत्वको गठबन्धन र एमालेको अवस्था कस्तो छ त ?
नारायण नगरपालिका
२०७४ को चुनावमा नारायण नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार रत्नवहादुर खड्का नेपाली कांग्रेसका उम्मेदवार मणिराम रेग्मीलाई २ सय ७४ मतान्तरले पराजित गर्दै निर्वाचित भएका थिए । खड्काले ४ हजार ७ सय २५ र रेग्मीले ४ हजार ४ सय ५१ मत पाएका थिए । यहाँको तेस्रो दल राप्रपाका उम्मेदवारले ६ सय ११ मत, माओवादी केन्द्रका उम्मेदवारले ३ सय ९९, राष्ट्रिय जनमोर्चाका उम्मेदवारले ३२, नेपाल मजदुर किसान पार्टीका उम्मेदवारले २०, समाजवादी जनता पार्टीका उम्मेदवारले १९, नयाँ शक्ति पार्टी नेपालका उम्मेदवारले १५ र फोरम लोकतान्त्रिकका उम्मेदवारले १ मत पाएका थिए । अहिले जिल्लामा सत्ता गठबन्धनमा रहेका सबै दलको मत जोड्दा ४ हजार ८ सय ८२ मात्रै हुन्छ । सत्ता गठबन्धनका दलले पाएको मत भन्दा एमाले उम्मेदवार खड्काले पाएको मत १ सय ५७ ले कम छ ।
एमालेले २०७४ कै अनुपातमा मत पाउने अवस्था देखिन्न । नारायण नगरपालिमा २ हजार ६ सय ४० नयाँ मतदाता थपिएर कुल मतदाता संख्या १७ हजार ८ सय ६७ पुगेको छ ।
दुल्लु नगरपालिका
गत निर्वाचनमा दुल्लु नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार घनश्याम भण्डारी विजयी भएका थिए । २०७४ को चुनावमा दलहरूले ल्याएको मतपरिणामलाई अहिले बनेको गठबन्धन अनुसार हिसाब गर्दा गठबन्धनको समर्थन पाउने उम्मेदवारलाई सहज हुने देखिन्छ ।
नेकपा एमालेका मेयरका उम्मेदवारले ६ हजार २ सय ८० मत प्राप्त गरेका थिए । २०७४ सालमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनमोर्चाले पाएको सबै मत जोड्दा ८ हजार २ सय ९० मत हुन्छ । यस हिसाबमा एमाले २ हजार १० मतले पछाडि रहेको देखिन्छ ।
दुल्लुमा वडा अध्यक्ष पदमा प्राप्त मत हिसाब गर्दा एमालेको ६ हजार ३ सय ५१ मत र सत्तारुढ गठबन्धनको ८ हजार १ सय ७४ मत हुन्छ । यसरी हेर्दा एमाले सत्तारूढ गठबन्धनभन्दा वडाहरूमा १ हजार ८ सय २३ मतले पछाडि देखिन्छ । दुल्लुमा ४ हजार २१ नयाँ मतदाता थपिएका छन् ।
चामुण्डा विन्द्रासैनी नगरपालिका
गत स्थानीय तह निर्वाचनमा चामुण्डा विन्द्रासैनीमा नेकपा एमालेका सुर्यवहादुर शाही निर्वाचित भएका थिए । चामुण्डा विन्द्रासैनीमा नेपाली कांग्रेसले २ हजार ६ सय ७० मत पाएको थियो । सत्तारुढ गठबन्धनमा रहेका दलहरुले पाएको मत जोड्दा ३ हजार ६ सय ७८ पुग्छ । यसरी अहिलेको सत्तारुढ गठबन्धन र नेकपा एमालेवीचको मतान्तर ९ सय ५ देखिन्छ । तर यस पालिकामा नेकपा एमालेले नेपाल मजदुर किसान पार्टीसँग तालमेल गर्ने गाँईगुई हल्ला छ । यहाँ नेपाल मजदुर किसान पार्टीले १ हजार ३ सय ३३ मत प्राप्त गरेको थियो । नेकपा एमाले र नेपाल मजदुर किसान पार्टीको मत जोड्दा ४ हजार १ सय ६ हुन्छ जुन सत्तारुढ गठबन्धनको भन्दा एमालेले गठवन्धन गरेमा एमाले गठबन्धन ४ सय २८ मतले अगाडी छ ।
त्यस्तै, चामुण्डा विन्द्रासैनीका ९ वडामा एमाले नेतृत्वको गठबन्धनका उम्मेदवारले कुल ४ हजार १ सय ७६ मत प्राप्त गर्दा सत्तारुढ गठबन्धनका दलहरुले पाएको मत जोड्दा ३ हजार ५ सय २५ मत प्राप्त गरेको देखिन्छ । यस हिसाबले वडाको मतमा सत्तारुढ गठबन्धन ६ सय ५१ मतले पछाडि देखिन्छ । चामुण्डा विन्द्रासैनीमा ५ हजार ३ सय ५० नयाँ मतदाता थपिएका छन् ।
आठवीस नगरपालिका
आठवीसमा गत स्थानीय तह निर्वाचनमा एमालेका खड्गराज उपाध्याय निर्वाचित भएका थिए । यहाँ उपाध्यायले नेपाली कांग्रेसका उम्मेदवार प्रेमप्रकाश शाहीलाई ४७ मतले पराजित गरे । मेयरमा नेपाली कांग्रेसले पाएको मत ३ हजार ८ सय ८० छ भने एमालेले पाएको मत ३ हजार ९ सय २७ छ । यहाँको तेस्रो शक्ति नेपाल मजदुर किसान पार्टी हो । यस हिसाबले सत्तारुढ गठबन्धन ४७ मतले पछाडि देखिन्छ । तर यहाँ मजदुरलाई जसले साथमा लिन सक्यो उही विजयी हुने देखिन्छ ।
आठवीसमा ९ वडाहरूमा एमालेका उम्मेदवारले ३ हजार ९ सय ८६ मत प्राप्त गर्दा सत्तारुढ गठबन्धनमा सहभागी दलले पाएको मत ५ हजार ७ स ४ देखिन्छ । वडामा पनि कांग्रेस नेतृत्वको गठबन्धन एमाले भन्दा १ हजार ७ सय १८ मतले पछाडि देखिन्छ । आठवीसमा २ हजार ४ सय २४ मतदाता थपिएका छन् ।