दैलेखका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम
मातृभूमी संवाददाता । २४ बैशाख दैलेख
स्थानीय तह निर्वाचनका लागि दैलेखमा मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई तालिम दिईएको छ । जिल्ला निर्वाचन कार्यालय दैलेखको आयोजनामा मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई तालिम दिईएको हो ।
स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तरगत मतदान स्थलमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई निर्वाचन सम्बन्धी एक दिने प्रशिक्षण तालीम दिइएको छ । जिल्ला निर्वाचन कार्यालयले स्थानीय निर्वाचन (जनशक्ति व्यवस्थापन निर्देशिका २०७८) बमोजिम निर्वाचन खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचन सम्बन्धी प्रशिक्षण तालिम दिएको हो ।
जिल्ला निर्वाचन अधिकारी मनमाया काउचाले निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई दुई समुहमा विभाजन गरी प्रशिक्षण गर्न लागेको बताइन् । उनले नारायण बहुमुखी क्याम्पस रामपुरमा पहिलो दिन दुल्लु नगरपालिका, आठबिस नगरपालिका, चामुण्डाबिन्द्रासैनी नगरपालिका, भैरवी गाउँपालिका, ठाटिकाँध गाउँपालिकामा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिईएको बताइन् ।
आइतवार दोस्रो दिन नारायण नगरपालिका, भगवतीमाई गाउँपालिका, नौमुले गाउँपालिका, महावु गाउँपालिका, गुराँस गाउँपालिका र डुङ्गेश्वर गाउँपालिकामा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण गरिएको जिल्ला निर्वाचन अधिकारी काउचाले बताइन् ।
प्रक्षिक्षण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले निर्वाचनलाई स्वच्छ मर्यादित बनाउन प्रमुख भूमिका मतदान अधिकृतको रहेको बताउँदै मतदान अधिकृतले आफ्नो जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्नुपर्ने बताए । प्रमुख जिल्ला अधिकारी प्याकुरेलले स्थानीय स्तरमा रहेका राजनीतिक दल, नागरिक समाज सबैलाई एक ढिक्का बनाएर लिने र निर्वाचन सफल पार्नुपर्ने बताए ।
जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायधिवक्ता हरि प्रसाद घिमिरेले मतदान अधिकृतहरूलाई कानुनी विषयमा जानकारी गराउँदै कानुन भन्दा बाहिर गएर कुनै पनि काम नगर्न आग्रह गरे । मतदान अधिकृतलाई जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत दण्डपाणी लामिछाने, प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल, डीएसपी भुवनेश्वरप्रसाद साह, निर्वाचन अधिकारी मनमाया काउचा लगायतले प्रशिक्षण गरेको बताईएको छ ।
जिल्लामा १ सय ३६ मतदान स्थल र २०७ मतदान केन्द्र रहेका छन् । मतदान अधिकृतलाई प्रशिक्षण सम्पन्न भएलगत्तै मतपत्र र अन्य निर्वाचन सामाग्री दिएर मतदान केन्द्रमा पठाईने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।