एमालेमै फर्किए शाही दम्पती
मातृभूमी राजनितिक व्युरो । २५ बैशाख दैलेख
नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा दैलेख जिल्ला सह-इन्चार्ज तर्कबहादुर शाही र राष्ट्रिय पार्षद एवं प्रदेश कमिटी सदस्य सुस्मिता सिंह एमालेमा फर्किएका छन् । शाही दम्पतीले आइतबार एक विज्ञप्ति जारी गर्दै आफू एमालेमै फर्किएको उल्लेख गरेका हुन् । उनीहरुले अहिलेको गठबन्धन सत्ता लुछाचुँडीका लागि मात्र भएको उल्लेख गर्दै आफूले समाजवादी पार्टी परित्याग गरेको बताएका छन् । गठबन्धन प्रतिगमनका विरुद्ध नभई सत्ताको लुछाचुँडीका लागि मात्र बनेको शाही दम्पतीले जारी गरेको विज्ञप्तीमा जनाईएको छ ।
उनीहरुले गठबन्धनको भर्याङ चढेर गुमेको सत्ता पुनः प्राप्तिको खेलमा लागेको नेपाली कांग्रेसको नेतृत्वले आफ्ना इमानदार कार्यकर्तालाई जबाफ दिन नसकेको बताए । उग्र वामपन्थ भड्कावबाट उत्पत्ति भएको नेकपा माओवादी केन्द्र गठबन्धनको सहारामा खिइँदै गएको, आफ्नो अस्तित्व जोगाउन कांग्रेस रूपी गाईको पुच्छर समातेर वैतरणी पार गर्न खोजेको विज्ञप्तीमा उल्लेख छ ।
शाही दम्पतीले बिना कारण पार्टी फुटाउने र अप्राकृतिक गठबन्धन गरेर आफू सत्तामा जान र टिकी राख्न गरिने सम्पूणर् कार्य जनविरोधी भएको बताएका छन् । लोकतन्त्रभित्रका फरक-फरक विचारलाई कमजोर पार्ने र एक मात्र बलियो पार्टी नेकपा एमालेलाई फोड्ने खेललाई अस्वीकार गर्दै एमालेमा फर्किने निधो गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् । एकीकृत समाजवादी पार्टीका राष्ट्रिय पार्षद एवं प्रदेश कमिटी सदस्य सिंह ०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट ठाँटिकाँध गाउँपालिकाको उपाध्यक्ष निर्वाचित भएकी थिइन् ।