जुम्लामा एमबिबिएस पढ्न १० सिट थप
मातृभूमी संवाददाता । २६ बैशाख जुम्ला
चिकित्सा शिक्षा आयोगले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस अध्ययनका लागि १० वटा सिट थपेको छ । आयोगले आगामी शैक्षिक सत्रका लागि स्नातक तहको पठनपाठन सञ्चालन गर्न विश्वविद्यालय, प्रतिष्ठान र मेडिकल कलेजको थप सिट निर्धारण गरेसँगै कर्णाली प्रतिष्ठानमा डाक्टरी पढाईका लागि १० वटा सिट थप गरिएको हो ।
गत वर्ष २०७८ मङ्सिर २६ गते राष्ट्रपति विधादेवी भण्डारीले एक विशेष समारोहकाबीच एमबिबिएस लगायत बी–फर्ममा, बीएनएस, बीएमएस, बीपीएच लगायतका शैक्षिक कार्यक्रमको औपचारिक शुभारम्भ गरेका थिए ।
गत वर्ष एमबिबिएस अध्यापनका लागि २० सिटको अनुमति पाएको कर्णाली प्रतिष्ठानले यो वर्ष थप १० सिट सहित प्रतिष्ठानले ३० जना विद्यार्थीलाई जुम्लामै डाक्टर पढाउने प्रतिष्ठानका उपकुलपति डाक्टर मङ्गल रावलले बताए ।
उनेले भने, ‘अघिल्लो वर्षमा २० सिटको एमबिबिएसमा देशभरबाटै विद्यार्थी भर्ना लिने आयोगको निर्णयले कर्णालीका विद्यार्थी समेटिन सकेनन् । कर्णालीका लागि निश्चित कोटा छुटाउनु पर्ने माग यथावतै थियो । अहिले थप भएको १० सिटमा कर्णालीका छोराछोरीले डाक्टर पढ्न पाउने अपेक्षा छ ।’
फ्याकल्टी सङ्ख्या (प्राध्यापक), पूर्वाधार, अस्पतालको सेवा, बिरामीको चाप लगायत मापदण्डका आधारमा सिट निर्धारण गरिने व्यवस्था अनुसार जुम्लामा एमबिबिएसको १० सिट थपिएको उपकुलपति रावलको भनाई छ ।
कर्णाली प्रतिष्ठान स्थापनाले कर्णालीका बिरामीलाई महँगो खर्चमा जहाज चार्टड गरेर सुर्खेत, नेपालगन्ज, काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्य गरेको छ । तर चिकित्सा शिक्षा आयोगले एमबिबिएस अध्ययनका लागि कर्णाली प्रतिष्ठानलाई ३० सिटको अनुमति दिँदा कर्णालीमै डाक्टरी पढाइको बाटो खुलेको हो ।
हाल प्रतिष्ठानले सञ्चालन गरेको शैक्षिक कार्यक्रममा बी फर्ममा २० कोटा निर्धारण भएकोमा ११ जना, बीएनएसतर्फ १६ जना, बीएमएसतर्फ ८ र बीपीएचतर्फ ६ जना विद्यार्थी भर्ना भई अध्ययन गरिरहेका छन् । भने, एमबिबिएसका लागि थप गरिएको १० कोटाका विद्यार्थीको भर्ना प्रक्रिया शुरु गरिने छ ।
स्नातक तहमा ३०९ सिट थप
चिकित्सा शिक्षा आयोगले स्नातक तहमा थप ३ सय ९ सिट निर्धारण गरेको छ । जसमा एमबिबिएसतर्फ गत वर्षभन्दा ६० सिट थप गरिएको छ । कर्णाली प्रतिष्ठानमा १० सिट एमबिबिएस थपिएको हो ।
देवदह मेडिकल कलेजमा ४० सिट तोकिएको हो । काठमाडौँ विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित देवदह मेडिकल कलेजले अघिल्लो वर्ष एमबिबिएसमा विद्यार्थी अध्यापन गराउन एक सिट पनि पाएको थिएन ।
गतवर्ष आयोगले देवदहले मापदण्ड पूरा नगरेको भन्दै सिट कटौती गरेको थियो । शिक्षण संस्थाको सिट निर्धारण गरिएकाले शिक्षण शुल्क तोकेर म्याजिङ प्रक्रिया सुरु गर्ने आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले जानकारी दिए ।
आयोगले सबैभन्दा धेरै एमबिबिएसका लागि २१ शिक्षण संस्थामा १ हजार ८ सय ९५ सिट कायम गरेको छ । नर्सिङमा १ हजार ४ सय ६०, बीबीएचमा १ हजार ३ सय ५०, बीएनएसमा १ हजार १ सय ५०, बी फार्मेसीमा ८ सय ७० र बीबीएसमा ५ सय ६५ सिट कायम गरिएको आयोगका निमित्त सदस्य सचिव सेमन्तराज कोइरालाले जानकारी दिए ।
यसैगरी, एडल्ट नर्सिङ, कम्युनिट नर्सिङ, क्रिटिकल केयर, एमएलटी लगायत स्नातक तहका विभिन्न २१ विषय क्षेत्रमा सिट निर्धारण गरिएको छ । यस पटक पनि आयोगले एमबिबिएसमा अधिकतम एक सय सिट निर्धारण गरेको छ । २१ मध्ये अधिकांश शिक्षण संस्थामा एक सय सिट तोकिएका छन् ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६५, कर्णालीमा ३०, जानकारी मेडिकल कलेजमा ५० देवदहमा ५० बाहेक अरू एमबिबिएस पढाइ हुने शिक्षण संस्थाले एक सय सिट पाएका छन् ।