दैलेखका नवनिर्वाचित जनप्रतिनिधीकाे पहिलाे निर्णय : टाेलफ्री देखी वस संचालन सम्म

मातृभूमी राजनितिक व्यरो । ०७ जेष्ठ दैलेख
दैलेखमा स्थानीय तहका जनप्रतिनिधीले पदभार ग्रहण गर्दै विभिन्न निणर्यहरु गरेका छन् । यहाँका पालिका प्रमुखले पदभार ग्रहण गरेकै दिन गरेका निणर्यको सर्वत्र प्रसंशा भैरहेको छ । यहाँका जनप्रतिनिधीले गाउँमा निःशुल्क वस संचालनदेखी लिएर टाेलफ्रि नम्वर संचालनका याेजना वनाएका छन् । कुनैकुनै पालिकाका जनप्रतिनिधीले त अाफ्नाे पारिश्रमिकवाट अक्षय काेष स्थापना गर्ने समेत निर्णय गरेका छन् । मातृभूमी राजनितिक व्युरोले जिल्लामा पदभार ग्रहण गरेकै दिन गरेको निणर्यको चर्चा गर्ने प्रयास गरेका छौँ ।

चामुण्डामा टोल फ्री नम्वर संचालन गर्ने निणर्य

दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकाका नवनिर्वाचित मेयर गणेश कुमार शाहीले जनताका समस्या बुझ्नका लागि सिधा सम्पर्क गर्न ‘टोल फ्री’ नम्बरको व्यवस्था गर्ने निणर्य गरेका छन् । पद बहाली लगत्तै उनले यस्तो निणर्य गरेका हुन् । पालिकाका केही स्थानमा हालसम्म पनि यातायातको सहज पहुँच नभएको भन्दै उनले भौगोलिक रुपमा छरिएका बस्तीका जनतालाई स्थानीय सरकारसँग सम्पर्क गर्न शुल्क नलाग्ने फोन नम्बर उपलब्ध गराइने बताए ।
‘नागरिकका समस्या र गुनासा राख्न नेपाल टेलिकमको टोल फ्रि नम्बर आवश्यक भएको थियो,’ उनले भने, ‘यसबाट नागरिक र स्थानीय सरकारबीच समधुर सम्बन्ध विकास भई प्रभावकारी सेवा प्रवाहमा टेवा पुग्ने अपेक्षा लिएको छु ।’ साथै उनले त्यसका लागि नेपाल टेलिकमलाई टोल फ्री नम्बर उपलब्ध र सञ्चालनमा सहयोग गर्नका लागि अनुरोध गर्ने निणर्य गरिएको बताए ।

दुल्लुमा गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा निणर्य

दैलेखकै दुल्लू नगरपालिकाका नवनिर्वाचित मेयर भरतप्रसाद रिजालले पनि पदभार ग्रहण गर्दै निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निणर्य गरेका छन् । काँग्रेसबाट निर्वाचित रिजालका अनुसार दुल्लूमा गर्भवती महिलाका लागि प्रसूति सेवा उपलब्ध गराउन निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइन लागेको हो ।
दुल्लू अस्पतालबाट प्रदान हुने सेवा अपर्याप्त तथा सुरक्षित नहुन सक्छ,’ उनले भने, ‘त्यो अवस्थामा दैलेख जिल्ला अस्पताल, प्रदेश अस्पताल सुर्खेत लगायत आवश्यकता अनुसार सोभन्दा उच्च तहको सेवाका लागि उपयुक्त अस्पतालमा त्यस्तो प्रकृतिका बिरामीलाई लैजानुपर्ने अवस्था आएको खण्डमा आकस्मिक रुपमा गर्भवतीलाई सेवा उपलब्ध गराउन निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिने छ ।’ त्यसका लागि दुल्लू अस्पतालको सिफारिस अनिवार्य हुनुपर्ने उनले बताए ।

नौमूलेमा अध्यक्षको पारिश्रमीकवाट अक्षय कोष स्थापना गर्ने निणर्य

दैलेखकै नौमुले गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष छविराम सुवेदीले आफूले पाउने सेवा, सुविधाको रकमबाट अक्षय कोष स्थापना गर्ने निणर्य गरेका छन् । नवनिर्वाचित अध्यक्ष सुवेदीले आफुले पाउने सेवा सुविधाको रकमवाट अक्षय कोष स्थापना गरी सम्पूणर् जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेका हुन् ।

ठाँटिकाँधका विद्यालयमा नैतिक शिक्षा अध्यापन गराउने निणर्य

यहाँको ठाँटिकाँध गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष रक्षबहादुर शाहीले पहिलो निणर्य शिक्षा सम्बन्धी गरेका छन् । ‘यहाँ अझै पनि शिक्षाको गुणस्तर कायम हुन सकिरहेको छैन,’ अध्यक्ष शाहीले भने, ‘सामाजिक सद्भाव र नैतिक शिक्षाको अभाव छ । सम्पूणर् विद्यालयमा कार्यरत शिक्षकले कम्तीमा पनि ४५ मिनेट विद्यार्थीलाई नैतिक शिक्षा सम्बन्धी अध्यापन गराउने छन् ।’ जिल्लाकै दुर्गम स्थानमा पर्ने यो पालिकामा गुणस्तरीय शिक्षाका लागि आफ्नो जोड रहेको उनले बताए ।

आठबीसका सम्पुर्ण घरमा तीन वर्षमा विद्युत पुर्‍याउने प्रतिबद्धता

दैलेखको आठबीस नगरपालिकाका नवनिर्वाचित मेयर र उपमेयरले आगामी ३ वर्षमा नगरपालिकाका सबै नागरिकको घरमा विद्युत पुर्‍याउने प्रतिबद्धता जनाएका छन् । मेयर तर्कबहादुर बडुवालले पदभार ग्रहण गर्दै हरेक नागरिकको घरमा विद्युत बाल्ने पहिलो निणर्य गरेका हुन् ।
‘हरेक बस्तीमा सडकको पहुँच करिब पुगेको छ । बनेका सडकहरुलाई बाह्रै महिना चल्ने खालको बनाउन स्तरोन्नति गर्ने योजना बनाएका छौं । हाम्रो लक्ष्य भनेको सबै जनताको घरमा बिजुली पुर्‍याउनु हो । मेयर बडुवालले भने, ‘बिजुली गाउँबस्तीमा पुर्‍याउँदा उद्योगहरु खुल्ने र त्यसबाट जनतालाई रोजगारीका अवसर वृद्धि भई आठबीस समृद्धिको आधार तयार हुनेछ ।’
यस्तै उपप्रमुख कल्पना थापाले आठबीसका गर्भवती तथा सुत्केरी महिलाहरुको उद्धारका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु गरिने बताइन् । उनले गरेको पहिलो निणर्य गर्भवती तथा सुत्केरी महिलाले उपचारका लागि एम्बुलेन्स सेवा निःशुल्क प्रदान गर्ने भएको हो ।

गुराँसका नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने निणर्य

दैलेखको गुराँस गाउँपालिकाले आफ्ना नगरवासीहरुको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ । गाउँपालिकामा नबनिर्वाचित अध्यक्ष टोपबहादुर बिसी र उपाध्यक्ष शिवा खड्काले पदभार ग्रहण गर्दै गाउँपालिकामा स्थायी बसोबास गर्ने दलित तथा एकल महिला घरमुली रहेको परिवारलाई प्रोत्साहन स्वरुप आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र वार्षिक बजेटमा स्वास्थ्य बीमा लगायत उचित सामाजिक सुरक्षा कार्यक्रमहरु समावेश गरिने भएको छ ।

भैरवीमा नगर वस संचालन गर्ने निणर्य

दैलेखको भैरवी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष रीता शाहीले नागरिकको यातायात सहजताका लागि नगर बस सञ्चालन गर्ने निणर्य गरेकी छन् । उनले शुक्रबार गाउँपालिकाको अध्यक्ष पद ग्रहण गर्दै गाउँपालिका १ देखि ७ सम्मका नागरिकलाई गाउँपालिका केन्द्रसम्म सहज पहुँचका लागि दुई वटा नगर बस सञ्चालन गर्ने निणर्य गरेकी हुन् ।
उनले गाउँपालिका भित्रका गर्भवती महिला तथा नवजात शिशुको अकालमा हुने मृत्युदरको जोखिम न्यूनीकरण गर्न गाउँपालिका भित्रका स्वास्थ्य चौकीको सुविधा अपर्याप्त भई बिरामीलाई बाहिर रिफर गरिएमा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने टिप्पणीमा उल्लेख गरेकी छन् ।

डुङ्गेश्वरमा सेवा प्रवाह झन्झट मुक्त बनाउन निर्देशन

दैलेखको डुङ्गेश्वर गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष सुन्दरकुमार केसीले गाउँपालिकाबाट प्रदान गरिने सेवा प्रवाह सहज सरल र झन्झट मुक्त बनाउन निर्देशन दिएका छन् । नवनिर्वाचित पदाधिकारीहरुको शपथग्रहण पछि गाउँपालिकाको विषयगत शाखाका प्रमुख र कर्मचारीहरुसँग भएको छलफलमा अध्यक्ष केसीले गाउँपालिकाको सेवा प्रवाहलाई छिटो, सहज, सरल, चुस्त दुरुस्त, झन्झट मुक्त र नागरीकप्रति उत्तरदायी बनाउन निर्देशन दिएका हुन् ।
गाउँपालिकाका अध्यक्ष केसीले आफुले जनताका आधारभुत समस्या समाधानका लागि प्राथमिकता दिएर काम गर्ने समेत बताएका छन् । ‘हामी जनताका सेवक हौँ, गाउँपालिकाबासी हरेक नागरिकको समस्यालाई समाधान गर्ने गरी काम गर्छौ,’ अध्यक्ष केसीले भने ।

नारायण १ का नागरिकको मृत्यु भए १५ हजार उपलव्ध गराउने निणर्य

जिल्लाको सदरमुकामस्थित नारायण नगरपालिका-१ का नवनिर्वाचित वडाध्यक्ष सन्देश कुमार श्रेष्ठले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणसँगै वसेको पहिलो बैठकले वडाका नागरिकको निधन भए १५ हजार रुपैयाँ उपलब्ध गराउने निणर्य गरेका छन् । वडाध्यक्ष श्रेष्ठका अनुसार नारायण नगरपालिका-१ मा बसोबास गर्ने कुनै पनि नागरिकको मृत्यु भएमा वडाबाट मृतकका परिवारलाई रु १५ हजार रुपैयाँ सहयोग उपलब्ध गराउने निणर्य भएको छ ।
यस्तै वडाध्यक्ष श्रेष्ठले आफुले पाउने पारिश्रमिकबाट कोष स्थापना गरि आपत्तकालिन अवस्थामा खर्च गर्ने वताएका छन् । वडाध्यक्ष श्रेष्ठले आफ्नो घोषणापत्रमा समेत आफुले पाउने पारिश्रमिकबाट कोष स्थापना गर्ने घोषणा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *