दैलेखमा झोलुङ्गे पुल निर्माण सम्वन्धी तालिम सम्पन्न
मातृभूमी संवाददाता । १४ जेठ दैलेख
दैलेखमा झोलुङ्गे पुल निर्माण सम्बन्धी आठ दिने तालिम दिईएको छ । दैलेखका विभिन्न स्थानिय तहका ४८ जना उपभोक्ताहरु र मिस्त्रिहरुलाई झोलुङ्गे पुल निर्माण तालिम दिईएको हो । ग्रामिण विकास सेवा केन्द्र दैलेखको साझेदारी तथा हुरन्डेक ईन ज्वाईन्ट भेन्चर वीथ सेवक जेभी नेपाल र टिवीएसयू हेल्भेटास कणर्ालि प्रदेश सुर्खेतको सहयोग तथा पुर्वाधार विकास कार्यालय दैलेखको आयोजनामा उक्त तालिम दिईएको हो ।
यस आर्थिक वर्षमा जिल्लाभरी १२ वटा झोलुङ्गे पुल निर्माण गर्न लागिएको पुर्वाधार विकास कार्यालय दैलेखका निमित्त प्रमुख प्रभाकर प्रसाद सिंहले जानकारी दिए । आर्थिक बर्ष २०७९/८० भित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने झोलुङ्गे पुल निर्माणका लागि जेठ ७ गतेदेखी १४ गतेसम्म ८ दिने तालिम प्रदान गरिएको हो । जनशक्ती उत्पादन र निर्माण कार्यमा थप सहज हुने उद्देश्यका साथ उपभोक्ताहरु र मिस्त्रिहरुलाई सिपमुलक तालिम दिईएको निमित्त कार्यालय प्रमुख सिंहले वताए ।
आर्थिक बर्ष २०७९/८० मा निर्माण हुन लागेका जिल्लाका १२ वटा झोलुङ्गे पुल निर्माणका लागि उपभोक्ता समिति गठन भईसकेको र उपभोक्ता समितीका पदाधिकारी २/२ जना तथा प्रत्येक पुल निर्माण आयोजनाका २/२ जना मिस्त्री गरि ४८ जनालाई तालिम दिईएको र उनीहरुवाट नै निर्माण कार्य संचालन गरिने पुल निर्माण साझेदार संस्था ग्रामिण विकास सेवा केन्द्र दैलेखका कार्यक्रम संयोजक नविन शर्माले बताए ।
आर्थिक बर्ष २०७९/०८० मा जिल्लाका आठबिस र चामुण्डाबिन्द्रासैनि नगरपालिका, ठाटिकाँध, भैरवी, नौमुले, भगवतिमाई, डुङ्गेश्वर, गुराँस र महाबू गाँउपालिकाका विभिन्न स्थानमा १२ वटा झोलुङ्गे पुल निर्माण हुने साझेदार संस्थाका कार्यक्रम संयोजक शर्माले बताए । उनले भने, ‘सबैले तालिममा सिकेका कुरा ब्यवहारमा उतार्नु होला । यो व्यवहारीक तालिम हो । यस्तो तालिम आगामी दिनहरुमा संचालन हुन सक्छन्/नहुन पनि सक्छन् ।’
तालिम अवधिमा पुर्वाधार विकास कार्यालय दैलेखको प्राङ्गण भित्र नमुना झोलुङ्गे पुल निर्माण गरिएको थियो । तालिमको समापन कार्याक्रममा नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष यज्ञराज थापाले आर्थिक पारदर्शिताका लागी सामाजिक परिक्षण, सार्वजनिक सुनुवाई लगाएतका कार्यहरुमा संचारकर्मीहरुलाई जानकारी गराएर गर्न उपभोक्ता समितिलाई अनुरोध गरेका थिए ।