वेथिति श्रृंखला-४० : राजनितिक पहुँचका भरमा विद्यालयका शिक्षक, नगरपालिकाको शिक्षा शाखा प्रमुख
मातृभूमी संवाददाता । २१ जेठ दैलेख
दैलेख सदरमुकाममा रहेको एक विद्यालयका शिक्षकले नपढाएरै तलव खाईरहेका छन् । सरस्वती माध्यामिक विद्यालय तर्ताङ्गका शिक्षक हिमालयजंग शाहले नपढाएरै तलव खाईरहेका हुन् । शिक्षक शाहले पहुँचका भरमा बिगत ४ बर्ष देखी नारायण नगरपालिकाको शिक्षा शाखा प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका छन् ।
शिक्षा नियमावली २०२८ बमोजिम शिक्षकलाई शाखा प्रमुख बनाउने सम्वन्धी कुनै प्राबधान छैन । तर नारायण नगरपालिकाले हालसम्म शिक्षक शाहलाई शाखा प्रमुखको जिम्मेवारी सुम्पेको छ । ऐन, कानुनको वर्खिलाप गर्दै शिक्षक शाह शिक्षा शाखाको प्रमुख वनेका छन् भने नगरपालिकाले समेत ऐन, कानुनको खिल्ली उडाएको छ ।
सरस्वती माध्यमिक बिद्यालय तर्ताङ्गमा प्रधानाध्यपक रहेका शाह पहुँचका आधारमा नारायण नगरपालिकाको शिक्षा शाखामा आएका हुन् । शिक्षा शाखा प्रमुख शिक्षा प्राबिधिक हुनु पर्नेमा नारायण नगरपालिकाले उक्त कर्मचारीको माग नै नगरी शिक्षकलाई प्राबिधिक कर्मचारीको रुपमा कामकाज गराई रहेको छ ।
शिक्षा शाखा प्रमुख रहेका शिक्षक शाह पटक-पटक विवादमा समेत आउने गरेका छन् । शाहले आर्थिक बर्ष २०७७/०७८ मा नगरपालिका भित्र रहेका कक्षा ६ देखी १२ सम्म पढाई हुने बिद्यालयका प्रधानाध्यापकहरुलाई भेला गराई कुनै एक निश्चित सप्लायर्सबाट स्यानीटरी प्याड खरिद गर्न लगाई आर्थिक अपचलन गरेको भन्दै बिवादमा तानिएका थिए । त्यस्तै नारायण नगरपालिकामा संचालन भएको विद्यालय नर्स कार्यक्रममा समेत शाहले आफ्ना छोरीहरुलाई जागिरमा लगाएको भन्दै विवाद समेत भएको थियो । यस्तै उनलाई तीन बर्षसम्म पनि त्रिभुवन माध्यमिक बिद्यालय नयाँ वजारको विद्यालय ब्यबस्थापन समिति गठन गर्न नसकेको आरोप समेत लागेको थियो ।
नारायण नगरपालिकाको शिक्षा शाखा अधिकृत तहको प्राबिधिक कर्मचारी हाजिर भैसक्दा पनि शिक्षक शाहले दादागिरी शैलीमा आफ्नो दरबन्दीमा हाजिर हुन नगई कर्मचारीकै रुपमा गतिबिधी संचालन गरिरहेका छन् । शिक्षा नियमावली २०५९ मा शिक्षक आफ्नो दरबन्दीमा हाजिर नभए तलब भत्ता समेत नपाउने ब्यबस्था छ । तर शिक्षक शाह विगत ४ बर्ष देखी बिद्यालयमा हाजिर नै नभई तलब भत्ता खाँदै आईरहेका छन् ।
नारायण नगरपालिका दैलेखका प्रमुख प्रशासकिय अधिकृत भक्त बहादुर मल्लले मातृभूमीसँगको कुराकानीमा शिक्षक शाहलाई यस आर्थिक बर्षसम्म मात्र शिक्षा शाखामा काम गर्न दिइने र आगामी आर्थिक बर्षदेखी आफ्नो दरवन्दी कायम रहेकै बिद्यालयमा कामकाज गर्न खटाईने वताए । यस्तै नारायण नगरपालिका शिक्षा शाखाका शिक्षा अधिकृत (छैटौं) पुर्ण प्रसाद उपाध्ययले शिक्षा ऐन र नियमावलीमा शिक्षकलाई गाउँ/नगर शिक्षा शाखाको जिम्मेवारी दिने भनेर कतै उल्लेख गरेको छैन । नारायण नगरपालिकाले शाहलाई कसरी प्रमुखको जिम्मेवारी दियो ? भन्दै प्रतिप्रश्न गरे ।
राजनितिक पहुँचका भरमा शिक्षक शाहले आफ्नो जिम्मेवारी पुरा नगरी नारायण नगरपालिकामा कामकाज गरिरहेको स्थानीय वुद्धिजीवीको भनाई छ । शाहले नगर स्तरीय कक्षा ८ को लब्धाङ्क पत्रमा शिक्षा शाखा अधिकृतले हस्ताक्षर गर्नुपर्ने ठाउँमा दादागिरी शैलीमा आफैले गरेको पाइएको छ ।