जिसस प्रमुख पदका बागी विरुद्ध उजुरी : आयोगको निर्णय प्रतीक्षा

मातृभूमी राजनीतिक ब्युरो । २५ जेठ दैलेख
जिल्ला समन्वय समिति दैलेखको प्रमुख पदमा नेपाली काँग्रेसका बागी उम्मेदवारी खारेजको उजुरी परेपछि जेठ २६ गते बिहीबार हुने भनिएको मतदान अन्यौल भएको छ । जिल्ला समन्वय समिती दैलेखको प्रमुखमा काँग्रेसका आधिकारिक उम्मेदवार दुर्गाकुमारी श्रेष्ठले बागी उम्मेदवार नमराज शाहीको उम्मेदवारी खारेजिको माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएकी छन् ।
नेपाली काँग्रेसबाट निर्वाचित भएका व्यक्ति एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवारी दर्ता गराउन नपाउने कानूनी व्यवस्था भएको भन्दै श्रेष्ठले शाहीको उम्मेदवारी खारेजीको लागि उजुरी दिएपछि निर्वाचन आयोगको रायका निम्ति लेखी पठाएको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेले बताए ।
सोमवार बागी उम्मेदवार बिरुद्ध ढिला गरी दावी बिरोध आएकोले आयोगले स्वतन्त्र उम्मेदवारको नाम कायम रहने वा नरहने जे निर्णय गर्छ त्यस अनुसार विहीवार विहान १० बजेदेखि दिउँसो १ बजेभित्र मतदान गराउने कार्यक्रम रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले कार्यक्रम तय गरेको छ ।
जिल्ला समन्वय समितिको निर्वाचन सञ्चालन निर्देशिका २०७४ को दफा १८ मा कुनै एक दलबाट निर्वाचित व्यक्ति अर्को दलबाट जिसस प्रमुख, उपप्रमुख वा सदस्य कुनै पदमा उम्मेदवार हुन नपाउने कानूनी व्यवस्थालाई उजुरीकर्ताले उल्लेख गरेकि छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयको कार्यसूची अनुसार जेठ २३ गते सोमवार जिल्ला समन्वय समिति दैलेखको निर्वाचन निम्ति उम्मेदवारी परेको थियो । जस अनुसार समन्वय प्रमुख पदका लागि सत्ता गठबन्धनका तर्फबाट दुर्गाकुमारी श्रेष्ठ र एमालेको समर्थनमा बागी उम्मेदवार नमराज शाहीको उम्मेदवारी दर्ता भएको थियो ।
एक जना जिसस प्रमुख, एक जना उपप्रमुख, तीन महिला र एक दलित समेत ७ जना सदस्य पदका लागि गठबन्धन समूहका ९ जना र प्रमुख पदमा बागीलाई समर्थन गर्दै बाँकी एक उपप्रमुख र ८ सदस्य पदका लागि एमालेले उम्मेदवारी दिएको छ । जम्मा ९ पदका लागि १९ जनाको उम्मेदवारी परेको छ ।
कर्णाली प्रदेशमा सबै भन्दा धेरै ११ वटा पालिकाका २२ जना प्रमुख तथा उपप्रमुख मतदाता रहेको जिल्ला समन्वय समिति निर्वाचनका लागि एमालेका १०, नेपाली काँग्रेसका नौ, माओवादी केन्द्रका दुई र समाजवादीका एक जना मतदाता छन् ।
पहिले माओवादीलाई हातमा लिएर जिसस बनाउन खोजेको एमालेले काँग्रेसका दुई जनालाई फ्लोर क्रस गर्न सके आफूले प्रमुख जिताइदिने भन्दै काँग्रेसका असन्तुष्ट पक्षलाई जिसस प्रमुख पदमा उम्मेदवारी दर्ता गराउन प्रोत्साहित गरेको हो ।
जिसस निर्वाचनमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका मेयर र उपमेयर मतदाता हुने पाउने र जिसस प्रमुख, उपप्रमुख वा सदस्यको प्रस्तावक तथा समर्थक बस्न पाउने भन्ने कानूनी व्यवस्था अनुसार काँग्रेसका बागी उम्मेदवार शाहीको प्रस्तावकमा डुंगेश्वर गाउँपालिकाका अध्यक्ष सुन्दर केसी र समर्थकमा दुल्लू नगरपालिकाका उपमेयर बिना कार्की रहेकी छन् ।
जिसस दैलेखको प्रमुख पदमा बागी उम्मेदवारी दर्ता गर्ने नेपाली काँग्रेसका जिल्ला उपसभापति नमराज शाही आठबीस नगरपालिका वडा नंं. ७ बाट नेपाली काँग्रेस पार्टीको तर्फबाट वडासदस्य निर्वाचित भएका हुन् ।
आधिकारिक उम्मेदवार दुर्गाकुमारी श्रेष्ठ पालिका निर्वाचन २०७९ मा नारायण नगरपालिका–१ बाट नेपाली काँग्रेसबाट वडा सदस्य पदमा निर्वाचित भएकी हुन् । उनलाई सत्ता गठवन्धन काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थन छ । गठबन्धनमा १२ र एमालेका १० मतदाता छन् ।
बागी उम्मेदवार विरुद्ध उजुरी परेको आयोगको निर्णय पर्खिएको तर मतदान कार्य तालिका अनुसार विहीवार विहान १० बजेदेखि दिउँसो १ बजेसम्म मतदान गर्ने मुख्य निर्वाचन अधिकृतको कार्ययोजना रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *