वेथिति श्रृंखला-४१ : सरकारी वजेटमा मुक्तिनाथको यात्रा
मातृभूमी संवाददाता व्युरो । २७ जेठ दैलेख
दैलेखको नारायण नगरपालिकाका नयाँ तथा पुराना जनप्रतिनिधी र कर्मचारी सरकारी वजेटको दुरुपयोग गर्दै मुक्तिनाथको यात्रामा निस्किएका छन् । अन्तर जिल्ला स्तरीय भ्रमण भन्दै नगरपालिकाका नयाँ तथा पुराना जनप्रतिनिधी सहित कर्मचारी मुक्तिनाको यात्रामा निस्किएका हुन् ।
बाहिरी जिल्लामा यहाँका पर्यटकीय स्थलको प्रचार-प्रसार गर्न नगरपालिका १ ले आर्थिक वर्ष २०७८/०७९ मा विनियोजन गरेको पाँच लाख बजेट सिध्याउन नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर मल्ल सहित अन्य कर्मचारी र नयाँ तथा पुराना गरी २१ जना लाईन लागेर मुक्तिनाथको यात्रामा निस्केका हुन् ।
देशमा आर्थिक संकट चुलिदै गएपछि नेपाल सरकारले फर्जुल खर्च कटौतीका लागि आर्थिक मितव्ययिताको नीति अपनाएको भए पनि दैलेखको नारायण नगपालिकाका जनप्रतिनिधि र कर्मचारीले सरकारी बजेट सिध्याउन अन्तर जिल्ला भ्रमणको कार्यक्रम तय गरेका हुन् ।
आर्थिक वर्ष सकिनै लाग्दा यहाँ आएको विकासे बजेट कार्यान्वयनतर्फ ध्यान दिनु भन्दा जनप्रतिनिधि र कर्मचारी लाईन लागेर मुक्तिनाथको यात्रामा निस्कनु पाँच लाख सिध्याउने बाहेक अन्य कुनै उद्देश्य नरहेको स्थानीयले वताएका छन् ।
पालिकामा थुप्रै गरिव, तथा विपन्न नागरिक औषधी नपाएर उपचार विहीन हुनु परेको छ । पाँच लाख भ्रमणमा सकाउनु भन्दा गरिबको उपचार र यहाँको विकासमा खर्च गरेको भए हुन्थ्यो । एक स्थानीयले नाम नछाप्ने शर्तमा भने, ‘गाउँका सरकारले जनताका समस्या भन्दा पनि आफ्नो मस्तीमा ध्यान दिएको देखियो ।’
दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले संघीय सरकारले आर्थिक मितव्ययिताको नीति ल्याएका वेला फजुल खर्चका लागि भ्रमण लगायतका अनावश्यक तथा उत्पादनहीन कामहरू गरिनु गलत भएको बताए । ‘भ्रमणले जिल्लालाई के फाइदा हुन्छ, भ्रमणको उद्देश्य के हो ? सरकारको नीति विपरीत कोही पनि जान पाइँदैन’, प्रमुख जिल्ला अधिकारी प्याकुरेलले भने । कर्मचारी भ्रमणमा जाँदा प्रशासनलाई जानकारी गराउनु पर्ने भए पनि को, कहाँ, कसरी भ्रमणमा गए आफूलाई जानकारी नभएको प्रमुख जिल्ला अधिकारी प्याकुरेलले वताए ।
यता नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर मल्लले प्रशासनलाई कुनै पनि जानकारी गराउनु नपर्ने जिकिर गरे । ‘हाम्रो हाकिम भनेको नगर प्रमुख हो, मैले भ्रमणमा निस्कने कुरा नगर प्रमुखलाई जानकारी गराएको छु, प्रशासनलाई पर्दैन’, प्रमुख प्रशासकीय अधिकृत मल्लले भने ।
वडा नम्बर १ का वडा अध्यक्ष सन्देश श्रेष्ठले भ्रमण गर्ने बजेट वडा कार्यालयको नभई नगरपालिकाको भएको बताएका छन् । उनले नगरको पाँच लाख बजेटबाट नयाँ केही सिक्नका लागि भ्रमणमा निस्केको बताए । ‘अन्य कुरा जानकारी छैन, विस्तृत जानकारीका लागि वडा सचिवलाई बुझ्नु पर्छ’, वडा अध्यक्ष श्रेष्ठले भने ।
भ्रमण बजेट वडा कार्यालय वा नगरपालिकाको भन्ने विषयमा कुरा बाझिएको छ, भ्रमणमा रहेका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मल्लले वडाको बजेट भएको बताए । वडा अध्यक्ष श्रेष्ठले भने नगरको बजेट रहेको बताए । वडा नं. १ का वडा सचिव गोपाल श्रेष्ठले नगरको वजेटवाट जिल्लामा रहेका पर्यटकीय स्थलको प्रचार-प्रसारका लागि अन्तर पालिका भ्रमण गर्न बजेटको व्यवस्थापन गरिएको थियो । उनले भने, ‘वडा नं. १ भनिए पनि नगरपालिकामा अन्तर पालिका भ्रमणको कार्यक्रमका लागि पाँच लाख वजेटवाट छुट्ट्याईएको थियो । त्यसवाट जिल्लामा रहेका धार्मिक तथा पर्यटकीय स्थलहरुको प्रचार हुने खालका तस्वीर लिएर अन्य जिल्लाका पालिका जाने कार्यक्रम रहेको थियो ।’
यस्तै नारायण नगरपालिका वडा नं. १ का निवर्तमान वडाध्यक्ष तिर्थ नारायण श्रेष्ठले अन्तर जिल्ला भ्रमणका लागि पाँच लाख बजेट भएको वताए । उनले भने, ‘भ्रमणमा जाँदा यहाँका धार्मिक ऐतिहासिक सम्पदा, कला संस्कृतिको पोस्टर, फोटो लगायतका सामाग्री लिएर जाने भन्ने योजना थियो । नयाँ आएका जनप्रतिनिधिले के कसरी कार्यक्रम बनाएर भ्रमणमा निस्किए थाहा भएन ।’
यता, नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्माले पूर्व निर्धारित कार्यक्रम भएकाले रोक्न नसकिएको बताए । नगर प्रमुख शर्माले भने, ‘हाकिमलाई बिदा स्वीकृति दिईएको छैन । ‘हाकिमलाई बिदा स्वीकृति गरिएको पनि छैन र मिल्दैन पनि । उहाँ भ्रमणमा जाँदा जानकारी भने गराउनु भएको हो ।
असार आउनै लाग्दा कर्मचारी र जनप्रतिनिधी लाईन लागेर भ्रमणमा जानुलाई नगरपालिका र जनप्रतिनिधी आम नागरिकको काम र सेवाप्रति उदासिन रहेको स्थानीय वुद्धिजीवी वताउँछन् । भ्रमण टोलीमा नारायण नगरपालिका दैलेखका निवर्तमान जनप्रतिनिधी, वर्तमान जनप्रतिनिधी, कर्मचारी र कर्मचारीका श्रीमती तथा छोराछोरी समेत रहेको जनाईएको छ ।