भारतमा मजदुरी गर्नेहरुको सुरक्षा नै प्रमुख चुनौती
मातृभूमी संवाददाता । २७ जेठ दैलेख
दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले भारतमा मजदूरी गर्ने नेपाली श्रमिकहरुको जीवन सुरक्षा र सुविधाका लागि अभिलेख तयार गर्न जरुरी रहेको बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगले शुक्रवार दैलेखमा आयोजना गरेको भारतमा श्रम गर्नेहरुको मानव अधिकार सवालमा कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी थापाले दैलेखका प्राय युवाहरु रोजगारीका लागि भारतमा मजदूरी गर्ने भएकाले उनीहरुको जीवन सुरक्षाका निम्ति वीमा, रोजगार कम्पनीले नियुक्ति तथा परिचयपत्र, आवागमनमा सहजता गराउने विषयमा आयोगले सरकारलाई सुझाव दिन आग्रह गरे ।
यस्तै त्रिभुवन विश्वविद्यालयका प्रा.डा. गोविन्द सुवेदीले भारतमा मजदूरी गर्ने नेपाली श्रमिकहरुले त्यहाँ गरिने श्रमशोषण, स्वास्थ्य जोखिम, फर्किंदा सीमा नाकाको सास्ती र भारतमा श्रम गर्नेहरुप्रति समाजको हेपाई भोगिरहेको अनुसन्धानबाट पत्ता लागेको वताए ।
कार्यक्रममा जिल्ला सरकारी वकील कार्यालय दैलेखका जिल्ला न्यायाधिवक्ता हरिप्रसाद घिमिरेले भारतमा मजदूरी गर्न जानेहरुको श्रम स्वीकृती, जाँदा आउँदा पालिकाको सिफारिस, सीमा नाकामा अभिलेख राख्ने व्यवस्था गर्न सके समस्या पर्दा कानूनी उपचार पाउन सजिलो हुने वताए ।
नारायण नगर कार्यपालिका सदस्य गीता रम्तेलले दैलेखबाट भारतमा श्रम गर्नेहरु प्राय दलित समुदायका भएको उल्लेख गर्दै नारायण नगरपालिका क्षेत्रका दलित नागरिकहरुको स्वास्थ्य वीमा गर्ने योजनाको तयारीमा आफूहरु जुटेको वताईन् ।
अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग केन्द्रीय कार्यालयका उपसचिव हरिप्रसाद ज्ञवालीले भारतमा श्रम गर्न जाने केही जिल्लाका प्रभावित परिवार, पीडितहरुसंग भेटेपछि कुटनीतिक नियोग लगायतसंग छलफल गरेर श्रमिकहरुको हक अधिकार विषयमा आयोगले परिणामुखी काम गर्न खोजेको बताए ।