दैलेखको पेट्रोलियम पदार्थ अन्वेषण दोस्रो चरणको काम अझै अन्यौलमा

मातृभूमी संवाददाता । ३१ जेठ दैलेख
दैलेखको पेट्रोलियम पदार्थ उत्खनन्को काम अझै अनिश्चित बनेको छ । पेट्रोलियम पदार्थको अन्वेषणका लागि २०७३ साल वैशाख २३ गते पहिलो पटक चिनियाँसंगै नेपाली टोली दैलेख आएको थियो । ३ वर्षमा अन्वेषण सक्ने गरी दैलेख आएको टोली कोरोना महामारीका कारण पहिलो चरणको काम सकेर स्वदेश फर्किएको टोली नेपाल फर्किएको छैन । जसका कारण अहिलेसम्म अन्वेषणको दोस्रो चरणको काम सुरु हुन सकेको छैन । कोरोनाका कारण रोकिएको पेट्रोलियम पदार्थको अन्वेषण कार्य सुचारु गर्न नेपाल सरकार मन्त्रिपरिषद्ले दुई वर्षको म्याद थपेको छ ।
चिनियाँ टोलीले दुई वर्षभित्र दोस्रो चरणको अन्वेषण कार्य सक्न सरकारले म्याद दिएको छ । पहिलो चरणमा चिनियाँ टोली दैलेखमा झण्डै ६ महिना स्थलगत अध्ययन गरेको थियो । चिनियाँ टोलीले ६ महिना सम्म दैलेखका दुल्लु, नारायण र चामुण्डा विन्द्रासैनी नगरपालिका तथा डुङ्गेश्वर, महाँवु, भैरवी र भगवतीमाई गाउँपालिकालाई आधार मानेर ४ सय वर्ग किलोमिटर क्षेत्रमा अध्ययन गरेर फर्किएको थियो ।
पेट्रोलियम पदार्थ अन्वेषणका लागि चिनियाँ टोलीले साइस्मिक लाईन पूर्व पश्चिममा ३ वटा, उत्तर दक्षिणमा ७ वटा ब्लक बनाएर सर्वेको कार्य गरेको थियो । पहिलो चरणमा भएको अन्वेषणले प्राविधिक तथा विशेषज्ञहरुले चटान हेरेर जमिनमुनीको अवस्था कस्तो छ भनेर एमआरआई जस्तो सर्वे गरेको थियो । दोस्रो चरणमा हुने अन्वेषणमा स्यास्ट्रिक सर्भे गरिनेछ जसले जमिनमुनि कम्पनको तरंग पठाएर ड्रिलिङ गरिने छ । जसले भण्डारण कति छ कहाँसम्म फैलिएको छ । कहाँबाट निकाल्न मिल्छ या मिल्दैन आदि कुराहरु पत्ता लाग्ने खानी तथा भूगर्भ विभागका भूगर्भविद डा. गणेशनाथ त्रिपाठीले वताए ।
दोस्रो चरणमा अन्वेषण टोलीले ३ महिना स्थलगत रुपमा बसेर काम गर्ने छन् । पहिलो चरणबाट आएको रिपोर्ट अनुसार एक ठाउँमा ४ किलोमिटर तलसम्म ड्रिलिङ हुनेछ जसले गर्दा पेट्रोलिय पदार्थको परिमाण, भए/नभएको पुष्टी गर्ने भूगर्भ विभागका भूगर्भविद् डा. त्रिपाठीले बताए । ‘दोस्रो चरणको अन्वेषणबाट पेट्रोलिय पदार्थको अवस्था पत्ता लाग्छ,’ भूगर्भविद् डा. त्रिपाठीले भने, ‘कोरोना महामारीले रोकिएको अन्वेषण कार्य गर्न सरकारले २ वर्ष म्याद थपेको छ ।’
भूगर्भ विभागले अन्वेषण कार्य अति सवेदनशिल भएकाले तेल र ग्यास अन्वेषणका बारेमा आएको रिपोर्टहरु बाहिर नल्याई गोप्य राखिने जनाएको छ । भूगर्भविद डा. त्रिपाठीले भने, ‘आयोजनाले प्राविधिक टोली कुरिरहेको छ, उहाँहरु आउने वित्तिकै दोस्रो चरणको काम सुरु हुन्छ ।’ पहिलो चरणमा चिनियाँ प्राविधिक टोलीले गरेको अध्ययन अनुसार करिब १४ किलोमिटरको दूरीमा ४५ ठाउँमा ग्यास चुहावट भइरहेको पुष्टि गरेको थियो । सेस्मिक सर्भे अनुसार दैलेखमा पेट्रोलियम पदार्थ रहेको पुष्टि भइसकेको छ । तर कति मात्रामा पेट्रोल छ, उत्खनन् गर्न सकिन्छ कि सकिदैन भन्ने एकीन भएको छैन ।
२०७२ सालको नाकाबन्दीसँगै नेपाल आफैले पेट्रोलियम खानी उत्खनन् गर्ने सपना बाँढ्दै आएको छ । चिनीयाँ प्राविधिक टोली आउने समय भने टुङ्गो लाग्न सकेको छैन । पहिलो चरणको कोरोना महामारीसँगै अध्ययनलाई बीचमै छोडेर चिनियाँ टोली स्वदेश फर्किएको थियो । त्यसयता चिनियाँ टोली नेपाल फर्केको छैन ।

Leave a Reply

Your email address will not be published.