दैलेख समन्वयमा पुनः निर्वाचनको माग गर्दै सर्वोच्चमा रिट
मातृभूमी राजनितिक व्युरो । ०१ असार दैलेख
जिल्ला समन्वय समिति दैलेखको पुनः निर्वाचनको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । यसअघि जेठ २६ गते भएको समन्वय समितिको निर्वाचनमा नेपाली कांग्रेसबाट प्रमुखको उम्मेदवार बनेकी दुर्गाकुमारी श्रेष्ठले मंगलबार रिट दायर गरेकी हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय दैलेख, मुख्य निर्वाचत अधिकृत दण्डपाणि लामिछाने, जिल्ला समन्वय समिति दैलेखको प्रमुखमा निर्वाचित भएका नमराज शाही, प्रस्तावक सुन्दर केसी र समर्थक विना कार्की लगायतलाई विपक्षी बनाएर परेको रिटमा जिल्ला समन्वय समिति दैलेखको प्रमुख पदमा फेरि कानुन बमोजिम निर्वाचन गराउन माग गरिएको छ ।
यसअघि भएको निर्वाचनमा कांग्रेसबाट बागी उठेका आठवीस नगरपालिकाका नमराज शाही निर्वाचित भएका थिए । उनी नेकपा एमालेको समर्थनमा समन्वय प्रमुख बनेका हुन् । स्थानीय तह निर्वाचन २०७९ मा दैलेखको आठबीस नगरपालिका ७ को वडा सदस्यमा शाही नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । जिसस प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिन नपाउने व्यवस्था भएको भन्दै पुनः निर्वाचनको माग गर्दै सर्वोच्चमा रिट हालिएको हो ।
‘स्वतन्त्र उम्मेदवारी दिई जिल्ला समन्वय समिति दैलेखको प्रमुखमा निर्वाचित शाहीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा वैशाख २३ गते उम्मेदवारी दर्ता गराएको मनोनयन पत्र, अन्तिम निर्वाचन मत परिणाम र समन्वय प्रमुखमा भएको सपथ ग्रहण लगाएत सबै गैरकानूनी कार्यलाई उत्प्रेरक आदेशले बदर गरी जिल्ला समन्वय समिति दैलेखको प्रमुख पदमा पुनः कानुन बमोजिम निर्वाचन गराउन परमादेश जारी गरीपाउँ,’ रिटमा भनिएको छ ।
जेठ २६ गतेको निर्वाचनबाट जिसस प्रमुखमा निर्वाचित शाहीले १३ मत प्राप्त गरेका थिए । सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको तर्फबाट प्रमुखको उम्मेदवार नेपाली कांग्रेसकी दुर्गा कुमारी श्रेष्ठले ९ मत मात्र पाएकी थिईन् । बागी उम्मेदवारी दिएर जिसस प्रमुखमा निर्वाचित भएका शाही नेपाली कांग्रेस दैलेखका उपसभापति हुन् । उनले स्वतन्त्र उम्मेदवारी दिएपछि कांग्रेसले साधारण सदस्य समेत नरहनेगरी उनलाई पार्टीबाट निष्कासन गरेको छ ।
उपप्रमुखमा सत्ता गठबन्धनलाई हराउँदै नेकपा एमालेका उम्मेदवार केशवबहादुर शाही निर्वाचित भएका थिए । यस्तै समन्वय समितिको सदस्यहरुमा नेकपा एकीकृत समाजवादीका कविताकुमारी गिरी, कोकीलाकुमारी खड्का, पुणर्ा विक, नेकपा माओवादी केन्द्रकी तुल्छा विक, फत्तबहादुर डांगी, नेपाली काँग्रेसका अङ्गबहादुर शाही र स्वतन्त्र उम्मेदवार दिलबहादुर शाही निर्वाचित भएका थिए ।
यस्तै जिल्ला समन्वय समिति दैलेखका प्रमुख र उपप्रमुखले मंगलवार पदभार ग्रहण गरेका छन् । जिसस प्रमुखमा निर्वाचित नमराज शाही र उपप्रमुखमा निर्वाचित केशवबहादुर शाहीले मंगलवार पदभार ग्रहण गरेका हुन् । जिसस प्रमुखले यसअघि नै मुख्य निर्वाचन अधिकृत दण्डपाणि लामिछाने समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरिसकेका थिए । प्रमुख शाहीले मंगलवार उपप्रमुख केशवबहादुर शाही र ७ जना सदस्यहरुलाई पद तथा गोपनियताको सपथ समेत गराएका थिए । मंगलवार नै निवर्तमान जिसस प्रमुख र सदस्यहरुको विदाई समेत गरिसकिएको छ ।