स्वःमुल्यांङ्कनमा डुङ्गेश्वर गाउँपालिका प्रथम

मातृभूमी संवाददाता । ०३ असार दैलेख
स्थानीय तह संस्थागत क्षमता स्व:मुल्याङ्कमा दैलेख जिल्लाका ११ स्थानीय तह मध्ये डुङ्गेश्वर गाउँपालिका प्रथम भएको छ । शुक्रवार जिल्ला सदरमुकाममा प्रदेश सुशासन केन्द्रले आयोजना गरेको आर्थिक वर्ष २०७६/०७७ मा गरिएको स्थानीय तह संस्थागत क्षमता मुल्याङ्कनको गुणस्तर नतिजा समीक्षा कार्यक्रममा स्थानीय तह संस्थागत स्व:मुल्याङ्कन कार्यविधिको २०७७ को बमोजिम स्थानीय तहको स्व:मुल्याङ्कन गर्न उल्लेख गरेका ११ वटा सूचकहरू पुरा गरी ६१ अङ्क प्राप्त गरी डुङ्गेश्वर गाउँपालिका प्रथम भएको हो ।
त्यस्तै स्थानीय तह संस्थागत क्षमता स्व:मुल्याङ्कनमा ५८.५ अङ्क प्राप्त गरी भगवतिमाई गाउँपालिका दोस्रो भएको छ । दुल्लु नगरपालिका ५२ अङ्क ल्याएर तेस्रो, ठाटिकाँध गाउँपालिका ४४.५ चौथो, चामुण्डा बिन्द्रासैनी नगरपालिका ४३.७ पाँचौँ, नौमुले गाउँपालिका ४२ अङ्कका साथ छैठौ, नारायण नगरपालिका ४१.५ अङ्कका साथ सातौँ र महावु गाउँपालिकाले ३०.७५ अङ्क प्राप्त गरी आठौँ भएको छ ।
दैलेख जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी एवम् गुणस्तर प्रशिक्षक गणेश प्रसाद कोइरालाले स्थानीय सकारले संस्थागत स्व:मुल्याङ्कन गर्दा स्थानीय सरकारको शासकीय प्रबन्ध, वार्षिक बजेट तथा योजना, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सामाजिक समावेशीकरण, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पुर्बधार, वातावरण संरक्षण, सहकार्य र समन्वय जस्ता कार्यहरू गर्नु पर्ने भए पनि त्यस तर्फ स्थानीय सरकारले काम नगरेको बताए ।
उनले स्थानीय सरकारले संस्थागत स्व:मुल्याङ्कन नगरेको खण्डमा संघीय सरकारले दिने सशर्त र निर्शत अनुदानमा समेत प्रभाव पर्ने हुँदा भएका कामहरू पनि अभिलेखीकरण नगर्ने समस्याका कारण भने अनुसारको नतिजा नआएको बताए । उनले जिल्लाको भैरवी गाउँपालिका, आठबिस नगरपालिका र गुराँस गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्व:मुल्याङ्कनमा सहभागी नभएको जानकारी दिए ।
प्रदेश सुशासन केन्द्रका पाठ्यक्रम विकास विज्ञ गणेश प्रसाद जोशीले स्थानीय स्थानीय तहको कार्य प्रक्रिया र उपलब्धिको लेखाजोखा, सबल र दुर्लभ पक्षको पहिचान गरी सुशासनमा रहेका कमीकमजोरीलाई सच्याएर स्थानीय तहलाई सक्षम र प्रभावकारी बनाउन स्थानीय तह संस्थागत स्व:मुल्याङ्कन कार्यविधि २०७७ जारी भएको भए पनि केही स्थानीयले त्यसलाई अपनत्व लिन नचाहेको बताए । उनले भने प्रत्येक स्थानीय तहले संस्थागत स्व:मुल्याङ्कन गर्दा संघिय सरकारले दिने सशर्त र निर्शत अनुदानमा समेत अर्थ राख्दछ ।
नतिजा सार्वजनिक कार्यक्रममा सहभागी स्थानीय सरकारका प्रमुखहरूले आगामी वर्ष देखी नियमित रूपमा संस्थागत स्व:मुल्याङ्कन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनीहरूले काम भएको भए पनि सम्बन्धित कर्मचारीले नीति नियम कार्यविधि, बैठकका निणर्य समयमै नराख्दा यस्तो परिणाम आएको भन्दै अव देखी त्यसो नहुन बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *