शुसासन, जवाफदेहिता र पारदर्शिता पहिलो प्राथमिकता : अध्यक्ष सुवेदी
मातृभूमी राजनितिक व्युरो । ०८ असार दैलेख
दैलेखको नौमुले गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को निति, कार्यक्रम तथा वजेट प्रस्तुत गरेको छ । मंगलवारको दोस्रो गाउँ सभा तथा १० औँ अधिवेसनमा उपाध्यक्ष गंगबहादुर शाहीले आगामी वर्षको निति, कार्यक्रम तथा वजेट प्रस्तुत गरेका हुन् । गाउँ सभामा उपाध्यक्ष शाहीले आर्थिक वर्ष २०७९/०८० को वार्षिक निति, कार्यक्रमका साथै ५० करोड रुँपैयाको बजेट प्रस्तुत गरेको जनाईएको छ ।
स्थानीय तहको निर्वाचनपछि गाउँपालिकामा नयाँ आएका जनप्रतिनिधिहरुले ल्याएको निति, कार्यक्रम तथा वजेट फरक र नौलो कार्यक्रमका रुपमा लिईएको छ । मंगलवार प्रस्तुत गरिएको उक्त निति, कार्यक्रम तथा वजेट विगत वर्षको भन्दा भिन्न र फरक भएको स्थानीय जानकारहरु वताउँछन् ।
आगामी वर्षका लागी निति, कार्यक्रम तथा वजेट प्रस्तुत पछि बोल्दै नौमुले गाउँपालिका अध्यक्ष छबिराम सुवेदिले शुसासन, जवाफदेहिता र पारदर्शिता पहिलो प्राथमिकता रहेको वताए । अध्यक्ष सुवेदीले भने, ‘सेवा प्रवाहमा हुने ढिला सुस्तीलाई हटाउँदै भौतिक पुर्वाधार र गरिबि निवारणका लागि जिविकोपार्जनका कार्यक्रमहरु संचालन गर्ने, विद्यमान वेरोजगारी समस्यलाई समाधान गर्न उत्पादनमुखी कार्यक्रमहरु संचालन गर्दै रोजगार जन्य क्रियाकलाप श्रृजना गर्ने, आफ्नो गाउँ-आफै वनाउँनका लागि जनस्वयम सेवा र श्रम अभियान संचालन गर्ने लगायतका स-साना कामहरु जुन जनताले प्रत्यक्ष अनुभुति गर्ने र निगरानी गर्ने खालका योजनाहरु आगामी वर्षको निति, कार्यक्रम तथा वजेटमा समेटेका छौँ ।’
अध्यक्ष सुवेदीले प्रस्तुत निति, कार्यक्रम तथा वजेटमा कुनै महत्वकांक्षी योजना नरहेको स्पष्ट पार्दै जनताले प्रत्यक्ष लाभ लिने खालका कार्यक्रमहरु मात्र रहेको वताए ।
यसैगरि गाउँपालिकाका उपाध्यक्ष गंगबहादुर शाहीले संमृद्ध नौमुले निर्माणको अभियानसँगै विकट नौमुलेलाई शान्ति, सुरक्षाको अनुभुति र विकास निर्माणमा हातेमालो गर्ने खालका निति, कार्यक्रम ल्याइएको भन्दै समृद्ध नौमुले र सुखी नौमूलेवासी वनाउन प्रतिवद्ध रहेको बताए ।
यस्तै गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रेशम बहादुर बुढाले यस पटकको निति, कार्यक्रममा चालु खर्चलाई व्यापक कटौति गरिएको वताए । प्रमुख प्रशासकीय अधिकृत वुढाले भने, ‘पालिकाले विकास खर्च र पुँजीगत खर्चमा वृद्धि गरेको, विगतको सरकारले संचालन गरेका राम्रा क्रियाकलापलाई निरन्तरता दिने, नौमुले गाउँपालिकाको समृद्धिका लागि तत्कालै प्रतिफल दिने खालका कार्यक्रमहरु रहेकोले यहाँको आर्थिक विकास र समृद्धिका लागि टेवा पुर्याउने विश्वास लिएका छौँ ।’
मंगलवार प्रस्तुत गरिएको निति, कार्यक्रम तथा वजेट कार्यपालिकाको वैठक वसेर आवश्यक सल्लाह, सुझाव सहित यहि असार २५ गते पारित गरिने जनाईएको छ । गाउँ सभा यहि २५ गते सम्मका लागि स्थगित गरिएको जनाईएको छ ।