ग्लोवल आईएमई बैंक दैलेखद्धारा विशेषज्ञ स्वास्थ्य शिविर संचालन

मातृभूमी संवाददाता । ०९ असार दैलेख
दैलेखको नारायण नगरपालिका ५ को त्रिवेणी स्वास्थ्य चौकीमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर संचालन गरिएको छ । महिलाहरुको पाठेघर सम्बन्धि समस्या समाधानका लागि स्वास्थ्य चौकीमा एकदिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । शिविरमा १ सय ४१ जना महिलाहरुले सेवा लिएका थिए ।
ग्लोवल आईएमई बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत मेरो उनीलाई स्वस्थ नारी पहल कार्यक्रमको आयोजनामा शिविर संचालन गरिएको हो । बिशेषज्ञ डाक्टर अभिलासा नगरकोटीको टोलिले स्वास्थ्य चेकजाँच गरेको थियो । दुर्गम बस्तिका महिलाहरु पाठेघरको सामान्य समस्या भन्न नसक्ने र समस्या जटिल भईसकेपछि उपचारमा समस्या हुने भएपछि बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत दुर्गम क्षेत्रका महिलाहरुलाई निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको ग्लोवल आईएमई बैंक दैलेख शाखाका प्रवन्धक अरुण उपाध्यायले जानकारी दिए ।
आर्थिक अभावका कारण जिल्ला बाहिर जान नसक्ने र पाठेघरको समस्या भएका महिलाहरुले गाउँमै विशेषज्ञ सुविधा पाएपछि खुसी व्यक्त गरेका छन् । सामान्य समस्या देखिएका महिलाहरुलाई निःशुल्क औषधि सहित परामर्स समेत प्रदान गरिएको थियो । जटिल समस्या देखिएका महिलाहरुलाई अप्रेसनका लागि नाम संकलन गरिएको शाखा प्रवन्धक उपाध्यायले वताए ।
ग्लोवल आईएमई बैंक दैलेख शाखाको आर्थिक सहयोग र परिवार नियोजन संघ दैलेखको प्राविधिक सहयोगमा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । केन्द्र देखिनै परिवार नियोजन संघसँग समन्वय गरेर देशका दुर्गम स्थानहरुमा निःशुल्क शिविर सञ्चालन गरिएको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *