खानेपानी योजनाको उपभोक्ता समिति एकलौटी गठन गरेको आरोप

मातृभूमी संवाददाता । २३ असार दैलेख
धुलपुर, धाउने, पिडाल्ने खानेपानी योजनाको उपभोक्ता समिति एकलौटी ढंगले गठन गरेको आरोप लागेको छ । दैलेखको नारायण नगरपालिका वडा नं. १ मा रहेको धुलपुर, धाउने, पिडाल्ने खानेपानी योजनाको उपभोक्ता समिति एकलौटी ढंगले गठन गरेको आरोप लागेको हो ।
धुलपुर, धाउने, पिडाल्ने खानेपानी योजनाको उपभोक्ता समिति गठन गर्दा धुलपुर, धाउने र पिडाल्नेका उपभोक्ताहरुको उपस्थितिमा समावेसी ढंगले समिति गठन नगरी धुलपुर क्षेत्रका मात्र उपभोक्तालाई राखेर समिति गठन गरिएको नारायण नगरपालिका वडा नं. १ का एक स्थानीयले नाम नछाप्ने शर्तमा वताए ।
उनले भने, ‘तिन वटै क्षेत्रका उपभोक्ताहरुको उपस्थितिमा उपभोक्ता समिति गठन गर्नुपर्ने भएपनि एकलौटी ढंगले धुलपुर क्षेत्रका उपभोक्ताहरुलाई मात्र राखेर समिति गठन गरिएको छ । यसलाई रोक्नका लाखि खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालयमा निवेदन दिएका छौँ । अहिलेको उपभोक्ता समिति समावेसी छैन ।’
यस विषयमा हामीले नारायण नगरपालिका वडा नं. १ का अध्यक्ष सन्देश कुमार श्रेष्ठसँग वुझ्दा उनले आवश्यकताका आधारमा उपभोक्ता समिति गठन गरिएको वताए । अध्यक्ष श्रेष्ठले भने, ‘विषेश गरी आवश्यकता कहाँका नागरिकलाई छ ? भन्ने अध्ययन गरेर नै समिति गठन गरिएको हो । छोटो समयमा काम सम्पन्न भएर त्यहाँका स्थानीयले पानी खाईरहेका छन् । विरोधका नाममा विरोध गर्न उचित हुँदैन । वरु गुणस्तरीय काम भए नभएको अनुगमन गरी गुणस्तरीय काम गर्नका लागि खवरदारी गर्नुपर्छ ।’
आगामी दिनमा अन्य वस्ती र टोलहरुमा पनि खानेपानी योजना आवश्यकता भएमा पहल गर्ने वडाध्यक्ष श्रेष्ठले वचनवद्धता गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *