आन्दोलित कर्मचारीमाथी चल्यो गोलि, ३ जना घाइते
मातृभूमी संवाददाता । ३१ असार दैलेख
करार कर्मचारीहरुको म्याद थप नगर्ने गुराँस गाउँपालिकाको निर्णय विरुद्ध कर्मचारीहरु आन्दोलित भएका छन् । गाउँपालिकाको असार २९ गते सम्पन्न गाउँ सभाको १० औँ अधिवेशनले गाउँपालिकामा करारमा कार्यरत कर्मचारीहरुको म्याद थप नगर्ने निर्णय गरेको थियो । करार सम्झौताको म्याद थप नहुने भएपछि कर्मचारीहरु शुक्रवारदेखि आन्दोलनमा उत्रिएका छन् ।
आन्दोलित कर्मचारीहरुले शुक्रवार दिउँसो १ बजेदेखि शान्तिपूर्ण आन्दोलन थालेका थिए । शान्ति पूर्ण आन्दोलनमा उत्रिएका कर्मचारीहरुमाथी प्रहरीले गोली चलाएको छ । प्रहरीले चलाएको गोली लागेर करार कर्मचारीको म्याद थप हुनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका तीन जना कर्मचारीहरु गम्भिर घाइते भएको बताईएको छ । गुराँस गाउँपालिका वडा नं. १ मा कार्यरत कार्यालय सहायक बखत खत्री सहित ३ जना घाइते भएको जनाइएको छ ।
हामी आन्दोलित कर्मचारीको प्रतिनीधि, गाउँपालिकाका जनप्रतिनीधि र प्रमुख प्रशासकीय अधिकृतबीच वार्ता भईरहेको थियो । भित्र वार्ता भईरहँदा हामीले बाहिर करार कर्मचारीको म्याद थप हुनुपर्ने माग सहित नारा लगाईरहेका थियौँ । त्यति नै बेला प्रहरीले लाठी चार्ज गर्यो । आन्दोलित कर्मचारी श्यामसुन्दर खड्काले भने, ´प्रहरीले लाठी चार्ज गर्न थालेपछि आन्दोलित कर्मचारीहरुले पनि प्रहरीमाथी ढुंगा प्रहार गरेका थिए । आन्दोलित कर्मचारीहरुले प्रहरीमाथी ढुंगा प्रहार र प्रहरीले आन्दोलित कर्मचारीमाथी लाठी चार्ज गर्ने क्रममै प्रहरीले एक्कासी गोली चलाएको हो ।` उनिहरुले भागेर ज्यान जोगाएको बताएका छन् ।
गाउँपालिकाले पालिकाबाट तलब भत्ता भुक्तानी हुने सम्पूर्ण करार तथा ज्यालादारी कर्मचारी, शिक्षक, विद्यालय कर्मचारी तथा बाल विकास सहजकर्ताहरुको करार सम्झौता साउन १ गते देखि नविकरण नहुने निर्णय गरेको थियो । यो निर्णयसँगै झण्डै साढे दुई सय कर्मचारीहरुको करार सम्झौता नविकरण नहुने बताईएको छ ।