नागरिकतामा भएको ‘कुकुर’ नामले छोराछोरी र नातिनातिना सम्मलाई समस्या
मातृभूमी संवाददाता । १७ साउन दैलेख
नागरिकताको प्रमाणपत्रमा १९९० मा जन्मेको मान्छेको २०९० उल्लेख भएको, बाबुभन्दा छोरो जेठो हुने गरी जन्ममिति लेखिएको, शैक्षिक योग्यताका कागजमा एउटा नाम थर तर नागरिकतामा फरक उल्लेख भएको लगायतका त्रुटि धेरै देखिन्छन् ।
गोरे खत्री लेख्ने ठाउँमा गोरु खत्री भएको, इमानसिंह भारतीलाई बेइमानसिंह भारती जस्ता नियतवश नाम बिगारिएका उदाहरण पनि छन् । दैलेखमा त आफ्नो नाम कविराम कामी लेख्न भन्दाभन्दै नागरिकता बनाउने टोलीले ‘कुकुर कामी’ नाम राखेर नागरिकता दिएको भेटिएको छ ।
२०४६ जेठ ७ गते गाउँमै गएको नागरिकता टोलीले ‘कुकुर कामी’ लेखेको कारण कविराम ३३ वर्षयता गाउँ समाजमा हुने भेलामा जान छोडेका छन् । २०१७ पुस २५ गते जन्मिएका कविराम कामीलाई तत्कालीन मेहेलतोली गाउँपञ्चायतका प्रधानपञ्च बखतबहादुर खड्काको सिफारिसमा नागरिकता दिइएको हो ।
त्यसबेला मेहेलतोली गाउँपञ्चायत, अहिलेको संघिय पुर्नःसंरचनाअघि मेहेलतोली गाविस थियो । नागरिकतामा मेहेलतोली गाउँपञ्चायत–६ लेखिएको ठाउँ संघिय पुर्नःसंरचनापछि अहिले भगवतीमाई गाउँपालिका-३ नं. वडामा पर्दछ ।
नागरिकतामा ‘कुकुर कामी’ लेखिएका कबिराम भुन्टाे कामीका कान्छो छोरा हुन् । कविरामभन्दा अघि ६ जना दाजुहरु जन्मिएका थिए । तर जन्मने बित्तिकै दाजुहरुको ज्यान गयो । सातौँ सन्तानको रुपमा जन्मिएका कविरामको नाम कुकुर राखे बाँच्न सक्छन् भन्ने पण्डितको सल्लाहमा बाँचून् भनेर राखिएको नाम थियो ‘कुकुर’ ।
राशीको नाम कविराम आएको थियो, बाँचून् भनेर ‘कुकुर’ नाम भन्ने गरिएका कान्छो छोरा संयोग नै होला बाँचे । उनी त बाँचे तर नागरिकतामा ‘कुकुर’ लेखिएकै कारण उनी आफैँ, श्रीमती, सात छोराछोरी १३ नातिनातिनीहरु फलानोको श्रीमती, फलानोको छोराछोरी वा फलानोको नातिनातिनी भन्न गाह्रो हुने गरेको छ ।
जेठी छोरी लक्ष्मीको जाजरकोटको जुनीचाँदेमा विवाह भएको छ । एक छोरा र तीन छोरी जन्माइसकेकी उनले बुबाको नाम उल्लेख गरी नागरिकता लिन अप्ठ्यारो परेर नागरिकता लिएकी छैनन् । माइली छोरी कल्पनाको भगवतीमाई गाउँपालिका–७ तौलुम विवाह भएर दुई छोरी छन्, उनले पनि यही समस्याले नागरिकता बनाएकी छैनन् ।
जेठो छोरा जयबहादुर (२९) मलेसियामा तीन वर्ष काम गरे । बुबाको नागरिकतामा भएको नाम लेखेर पैसा पठाउन गाह्रो लागेर पठाएनन् । पछि त्यहाँ झण्डै तीन लाख रुपैयाँ सापटी लिएका नेपाली साथीले फर्काएनन्, उतै पच्यो ।
कान्छी छोरी रत्ना र माइलो छोरा सन्तरामले नागरिकता बनाएका छन् । तर बुबाको नाम ‘कुकुर’ लेखिएकै कारण त्यो नागरिकता देखाउन अप्ठ्यारोले गाउँका समूहमा बस्ने सामुदायिक क्रियाकलापमा सहभागी वा प्रधानमन्त्री रोजगार कार्यक्रम जस्ता आयआर्जनका कार्यक्रममा सहभागी नभएकाे रत्नाले वताइन् ।
साइलो छोरा पप्पुले कक्षा ८ मा पढ्दा चार वर्षअघि विद्यालयमा साथीहरुले जिस्काएकै कारण बिचैमा पढाइ छाेडे । अहिले उनी भारतमा मजदुरी गर्छन् । कान्छो छोरा शिवराज गाउँकै एक विद्यालयमा कक्षा १० मा पढ्दै छन् ।
साथीहरुले जिस्काइदिने गरेकै कारण शिवराज पनि हतोत्साहित हुने गरेको खड्गदेवी आधारभूत विद्यालयका प्रधानाध्यापक चन्द्रप्रसाद रेग्मीले वताए । उनले भने, ‘बुबाको नाम थाहा पाएर पनि साथीहरुले जिस्काउने गर्छन्, हामीले त्यसो नगर्नू भनेर सम्झाउने चाहिँ गरेका छौँ ।’
जन्मिँदै छोराहरु मर्न थालेपछि कविरामको जस्तै मेहेलतोली र छिमेकी गाउँ जगनाथमा समेत त्यो समयका करिब छ जनाको नाम ‘कुकुर’ भन्ने गरिएको थियो । समाजका अगुवाहरुले सभ्यताको विपरीत हुने भन्दै राशीको नाम लेखाए । कविरामले नागरिकता लिएकै समयमा त्यतिबेलाका जनप्रतिनिधि र सामाजिक अगुवाहरुको प्रयासमा ‘कुकुर’ नाम भन्ने गरिएका तीन जनामध्ये प्रेमबहादुर दमाई, पदमबहादुर कामी र धनबहादुर कामी नाम लेखेर नागरिकता पाए ।
त्यतिबेला नागरिकता वितरणमा गएका टोली प्रमुख दुर्गाप्रसाद गिरिले दस्तखत गर्दा नागरिकतामै ‘कुकुर’ नलेखौँ भनेर रोकेको भए बदलिन सक्थ्यो । नागरिकताको प्रमाणपत्र सम्बन्धी सिफारिसमा प्रधानपञ्चबाट सही गराउनुअघि त्यसबेलाका गाउँपञ्चायतका सचिवले ध्यान पुर्याएको भए पनि कविराम कामी लेखिएको हुन्थ्यो ।
मेहेलतोलीमा त्यो बेला तीन जनाको नाम ‘कुकुर’ लेखेरै नागरिकता दिइएको विवरण प्राप्त भएको छ । अरु दुई जनाको निधन भइसकेको छ । अरु दुई जना कविराम भन्दा १५–२० वर्ष जेठा थिए । नागरिकतामै ‘कुकुर’ नाम लेखिएका सबै जना दलित मात्र हुन् ।
‘बाँचून् भनेर राखिएको नाम बदल्न सकिन्थ्यो, हाम्रो गाउँमा बदल्यौँ’ भगवतीमाई गाउँपालिका–४ जगनाथका स्थानीय बासिन्दा पूर्व शिक्षक कृष्णप्रसाद अधिकारीले भने, ‘घरकाले बिगारेको नाऊँ, ठालुले बिगारेको गाऊँ’ उखान त्यसै चलेको होइन ।
दमाई कामीहरुकै नाम बिगार्ने शृङ्खला अझै पनि कायम रहेको अधिकारकर्मी मनिषा विकको टिप्पणी छ । ‘यो जातीय विभेदको स्वरुप हो’ उनको तर्क छ । ‘अगाडिका सन्तानहरु मरिरहन थालेपछि बाँचून् भनी ‘कुकुर’ क्षेत्री, बाहुन वा ठकुरीलाई चाहिँ किन भनिएन ?’ उनी प्रश्न गर्छिन् ।
कविराम कामीको नागरिकतामा ‘कुकुर कामी’ लेखिएकै विषयमा दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले के कसरी सुधार गर्न सकिन्छ र प्रक्रिया के हुन सक्छ मन्त्रालयमा सोधेर भन्न सकिने जानकारी दिए ।
गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाका इञ्चार्ज सहसचिव डा. भीष्मकुमार भुसालले नागरिकतामै ‘कुकुर कामी’ लेखिनु आपत्तिजनक भएको टिप्पणी गरे । उनले भने, ‘यसले धेरै अपमान बोध गराएको होला भन्ने सहजै महसुस भएको छ, नाम बदल्नेबारे समाधानको पहल हुन्छ ।’ साभारःउज्यालाे अनलाइन