कविरामले पाए आफ्नै नामको नागरिकता, खुसीको सिमा नभएको प्रतिक्रिया
मातृभूमी संवाददाता । ०५ भाद्र दैलेख
नागरिकतामा अपमानजनक नाम भएका दैलेखका दुई जना व्यक्तिले नयाँ नामको नागरिकता पाएका छन् । नागरिकताको प्रमाणपत्रमा ‘कुकूर कामी’ लेखिएका कविराम कामी र ‘ठगे कामी’ लेखिएका कणर्बहादुर विकले आफ्नै नामको नयाँ नागरिकता पाएका हुन् ।
भगवतीमाई गाउँपालिका ३ (साविक मेहेलतोली गाविस ६) का कविराम र भगवतीमाई गाउँपालिका ५ (साविक कट्टी गाविस ६) का कणर्बहादुरको आइतवार नयाँ नागरिकताको प्रमाणपत्र जारी भएको हो । आइतवार जिल्ला प्रशासन कार्यालयले अपमानजनक नाम सच्चाएर नयाँ नागरिकताको प्रमाणपत्र जारी गरेको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए ।
भगवतीमाई गाउँपालिका ३ (साविक मेहेलतोली गाउँ पञ्चायत ६) मा २०१७ पुस २५ गते जन्मिएका कविराम कामी अहिले उमेरले ६२ वर्षका भए । उनले श्री ५ को सरकार, जिल्ला कार्यालय दैलेखबाट २०४६ जेठ ७ गते नेपाली नागरिकताको प्रमाणपत्र पाएका थिए । तत्कालीन समयमा गाउँमा पुगेको नागरिकता टोलीले कविरामलाई ‘कुकूर कामी’ नाम राखेर नेपाली नागरिकता थमाएको थियो ।
गएको साउन २३ गते गृह मन्त्रालयले नाममा अपमानजनक शब्द प्रयोग गरेर विभिन्न जिल्ला प्रशासन कार्यालयबाट जारी भएका नागरिकता प्रमाणपत्र सच्याउन परिपत्र गरेको थियो । गृहको परिपत्रसँगै कविरामले साउन २४ गते अपमानजनक नाम सच्चाएर नयाँ नागरिकताको प्रतिलिपि पाउँ भनि जिल्ला प्रशासन कार्यालय दैलेखमा निवेदन दिएका थिए ।
कविराम जस्तै नेपाली नागरिकतामा ठगे कामी लेखिएका भगवतीमाई गाउँपालिका ५ (साविक कट्टी गाविस ६) का कणर्बहादुरले पनि नागरिताको महलमा कणर्बहादुर विक लेखिएको नयाँ नागरिकताको प्रतिलिपि पाएका छन् ।
नामकै कारण अपमानित हुनु परेका कणर्बहादुरले साउन २९ गते जिल्ला प्रशासन कार्यालय दैलेखमा नाम सच्याई नयाँ नागरिकता पाउँ भनि निवेदन दिएका थिए । आवश्यक प्रक्रिया पुर्याएर कविराम कामी र कणर्बहादुर विकको नयाँ नागरिकताको प्रमाणपत्र जारी गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी प्याकुरेलले बताए ।
प्रमुख जिल्ला अधिकारी प्याकुरेलले भने, ‘हामीले नागरिकतामा कुकूर कामी लेखिएका कविराम कामी र ठगे कामी लेखिएका कणर्बहादुर विकको नागरिकताको नाम सच्चाएर नयाँ नागरिकताको प्रतिलिपि जारी गरेका छौँ ।’ प्रमुख जिल्ला अधिकारी प्याकुरेलले नागरिकतामा अपमानजनक नाम लेखिएका अन्य व्यक्तिलाई पनि जिल्ला प्रशासनको सम्पर्कमा आउन आग्रह गरेका छन् ।
आफ्नै नामको नागरिकता प्राप्त गरी घर फर्किने तरखरमा रहेका कविरामसँग मातृभूमी टिमले भेटका क्रममा खुसीको सिमा नै नरहेको प्रतिक्रिया दिए । कविरामले भने, ‘३३ वर्षपछि आफ्नै नामको नागरिकता प्राप्त गरेको छु । अहिले खुसीको सिमा छैन । निकै खुसी छु । सम्पुणर् पत्रकार, नागरिक समाज लगाएत प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल लगाएत तपाँईहरु सवैलाई धन्यवाद छ ।’