दैलेखको भैरवीमा हेलिकप्टर मार्फत गर्भवतीको उद्धार

याम वहादुर खत्री । १५ भाद्र दैलेख
दैलेखको भैरवी गाउँपालिका ५ की गर्भवती महिलाको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । भैरवी ५ की १९ वर्षिया सुनिता विष्टले अत्याधिक रक्तश्राव भएर वच्चा जन्माउन नसकेपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्र्तगत वुधवार सेनाको हेलिकप्टर मार्फत उद्धार गरी सुर्खेत लगिएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए । प्रमुख जिल्ला अधिकारी प्याकुरेलका अनुसार सेनाको हेलिकप्टरबाट उद्धार गरिएकी गर्भवतीको प्रदेश अस्पताल कालागाउ सुर्खेतमा उपचार भइरहेको छ ।
भैरवी गाउँपालिकामा कार्यरत हेल्थ असिस्टेन्ट वीरेन्द्रराज शाहीले दैलेखमा अप्रेसनको सुविधा नभएका कारण गर्भवतीको थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पठाईएको वताए । हेल्थ असिस्टेन्ट शाहीले भने, ‘बच्चा जन्मिनुअघि गर्भवतीको अत्यधिक रक्तस्राव भएको थियो । अत्यधिक रक्तस्राव हुँदा अप्रेसन गरेर बच्चा निकाल्नु पर्ने हुन्छ । जिल्ला अस्पताल दैलेखमा अप्रेसनका लागि एनेस्थेसिया नहुँदा सुर्खेत पठाउनु परेको हो ।’
स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख थिरप्रसाद रेग्मीले दैलेखमै बिरामीको अप्रेसन भैरहेको वताए । रेग्मीले भने, ‘एनेस्थेसिस्ट भनेर छुट्टै कर्मचारी उपलब्ध नभए पनि डाक्टरबाट अप्रेसन भैरहेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *