बँदेलले मकै वालि नष्ट गर्दा किसान चिन्तित

मातृभूमी संवाददाता । १९ भाद्र दैलेख
किसानले लगाएको मकैं बालिमा हुलका हुल बँदेल छिरेर छिन भरमै सखाप पार्न थालेपछि किसानहरु चिन्तित भएका छन् । आफूले लगाएको बाली जोगाउन हिजोआज दैलेखका किसानहरुलाई निकै सकस भईरहेको छ । दैलेखको नारायण र दुल्लु नगरपालिका, ठाटीकाँध र भैरवी गाउँपालिकामा जंगली जनावर बँदेलका कारण किसानहरुले लगाएको बालीनाली नष्ट भएको हो ।

किसानहरु मकैको घोगा लाग्न सुरु भएदेखी मकै पाकेर घर नलगुन्जेल हरेक रात मकै बारीमै जाग्राम बस्ने गरेका छन् । वनक्षेत्रमा जनावरले खाने कुराहरु कमी हुन थालेपछि गाउँमै पसेर वँदेलले मकै बालीमा क्षति पुर्‍याएको हो । बाली खाने जनावर व्यवस्थापन गर्न सरकारले आफूहरुलाई सहयोग नगरेको दुल्लुका स्थानीय किसान पाना योगीले बताईन् । कम्तिमा बँदेल भगाउन सरकारले किसानहरुलाई सहयोग गरे आभारी हुने योगीको भनाई छ ।

हिजोआज गाउँमा समूह बनाएर किसानहरुले मकै बाली जोगाउन दिनरात बारीमै कुर्ने गरेका छन् । आलोपालो गरेर दुल्लु लगायतका क्षेत्रका किसानहरुले रातभर जाग्राम बस्ने गरेको दुल्लुका किसान सेते बोहोराले बताए । ‘दिउँसो बाँदरले राती बँदेलले मकैं सखाप पार्छ ।’ किसान सेते बोहोराले भने, ‘बचेको बाली जोगाउन गाउँमा सबैले पालो गरेर कुर्छौ ।’ हातमा थाल, चम्चा लिएर बजाउँदै रातभर कुर्नुपर्ने दिनचार्य भएको दुल्लु नगरपालिका धामीगाउँका किसान ईन्द्र सार्कीले बताए । ‘मकै पाक्ने बेलासम्म यसरी नै दिनहुँ बारी कुर्नुपर्छ ।’ किसान ईन्द्रले भने, ‘यसरी नै जंगली जनावरले बाली खान थालेपछि वर्षदिन परिवारको खर्च कसरी जोहो गर्ने भन्ने चिन्ता लाग्ने गरेको छ ।’ बँदेलले लगाएको मकैं खाने नखाए पुरै ढालेर रातभरमा उजाड गराउने गरेको छ ।

दुल्लु नगरपालिका-९ का वडाअध्यक्ष तिलकप्रसाद उपाध्यायको नेतृत्वमा बँदेलले गरेको बाली नष्टको अनुगमन समेत गरेको छ । अनुगमन गरि सम्बन्धित निकायहरु जिल्ला प्रशासन, वन र प्रहरीमा जनावरले बालीनालीमा पुर्‍याएको क्षतीको विवरण सहित ध्यान आर्कषण गरेको वडा अध्यक्ष उपाध्यायले बताए । सरकारले बँदेल मार्न कानुनी बन्देज लगाएका कारण गाउँलेहरु रातभर बाजागाजा लगेर बारीमै नाचगान गर्ने र ठूलो आवाज बजाएर बँदेल भगाउने गरेका हुन् ।

यहाँका किसानहरुले जिल्ला प्रशासन कार्यालयमा वर्षेनी बँदेलले अन्नबालीमा क्षति गरेर दैनिक जिविकोपार्जनमा समेत असर परेको भन्दै गुनासो सुनाएका छन् । बँदेललाई गाउँ बस्न रोक्नका लागि प्रशासनलाई विगत लामो समयदेखी किसानहरुले निवेदन समेत दिँदा समेत सुनुवाई नहुँदा किसानहरु वर्षेनी निराश हुने गर्दछन् । बँदेलसँगै दुम्सी, बाँदर मकै बारी नष्ट गर्ने गरेको छन् । सबैभन्दा धेरै बँदेलले बाली नष्ट गर्ने किसानहरु बताउँछन् । नगरपालिकाले किसानहरुलाई बाली बिमाप्रति प्रोत्साहनका कार्यक्रम ल्याउनुपर्ने सरोकारवालाहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *