दैलेखका तीन जनाले लिए उम्मेदवारी फिर्ता, ३३ जना चुनावी मैदानमा
ध्रुवविक्रम थापा । २६ असोज दैलेख
संघीय संसदका लागि दुई निर्वाचन क्षेत्र र चार प्रदेशसभाका समेत दैलेखमा असोज २३ गते परेका ३६ मध्ये तीन जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि ३३ जना चुनावी मैदानमा उत्रिएका छन् ।
दैलेख क्षेत्र नं. २ ‘क’ प्रदेशसभामा चक्रलाल सुनार र दैलेख क्षेत्र नं. २ ‘ख’ प्रदेशसभामा राजेशकुमार शाहीले सत्तारुढ गठबन्धनका उम्मेदवारलाई सघाउने गरी आफ्नो उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका छन् ।
सुनारले नेपाली काँग्रेसबाट क्षेत्र नं. २ ‘क’ प्रदेशसभा सदस्य उम्मेदवार घनश्याम भण्डारी र राजेशकुमार शाहीले क्षेत्र नं. २ ‘ख’ प्रदेशसभा सदस्य पदका लागि नेकपा माओवादी केन्द्रका उम्मेदवार योगेन्द्र शाहीलाई समर्थन गरी फिर्ता लिएको बताए । दैलेख क्षेत्र १ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार गणेशबहादुर शाहीले पनि बुधवार आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
उम्मेदवारी कायम रहेका ३३ मध्ये ५ जना स्वतन्त्र उम्मेदवारले वुधवार नै चुनाव चिन्ह पाएका छन् । दैलेख क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार गोपाल नेपालीले खरायो, यही क्षेत्रमा सोही पदका अर्का उम्मेदवार निरख बहादुर थापाले माछा चुनाव चिन्ह पाएका छन् ।
यस्तैगरी अरु तीन जना स्वतन्त्र उम्मेदवारहरु दैलेख क्षेत्र क्षेत्र नं. १ ‘क’ प्रदेशसभा सदस्य पदका उम्मेदवार चित्रबहादुर खत्रीले पानीको धारा, क्षेत्र नं. १ ‘ख’ प्रदेशसभा सदस्य पदका उम्मेदवार टेकबहादुर खाँणले ठेकी र क्षेत्र नं. २ ‘क’ प्रदेशसभा सदस्य उम्मेदवार पुरुषोत्तम रिजालले बिजुलीको बल्ब चुनाव चिन्ह पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश बलराम लम्सालका अनुसार स्वतन्त्र पाँच जनाले आफूले चाहेको चुनाव चिन्ह पाएको र अरु २८ जना उम्मेदवारलाई सम्वन्धित दलको चुनाव चिन्ह प्रदान गरिएको हो ।