दैलेख निर्वाचन क्षेत्र नं. १ र २ ‘ख’ मा पूर्वसहकर्मीबीच नै भिडन्त
मातृभूमी राजनितिक व्युरो । २७ असोज दैलेख
दैलेखका केहि निर्वाचन क्षेत्रमा आफ्नै पूर्वसहकर्मीहरूबीच रोचक चुनावी प्रतिस्पर्धा हुने भएको छ । एउटै पार्टीमा लामो समय सहकार्य गरेका नेताहरू अहिले फरक-फरक दलबाट चुनावमा भिड्न लागेका छन् । एमाले विभाजन भई बनेको नेकपा एकीकृत समाजवादी सत्तारुढ गठबन्धनमा छ भने एमालेले गठबन्धनसँग प्रतिस्पर्धा गर्दैछ ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा यी दुई पक्षबीच नै मुख्य प्रतिस्पर्धा हुदैछ । सत्ता गठबन्धनमा एकीकृत समाजवादीको भाग परेका निर्वाचन क्षेत्रमा एमाले र एकीकृत समाजवादीका उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा हुन लागेको हो । दैलेखमा प्रत्यक्षतर्फ प्रतिनिधिसभाका २ र प्रदेशसभाका ४ सिट छन् । जसमा सत्तारुढ गठबन्धनको साझा उम्मेदवारका रूपमा एकीकृत समाजवादीले प्रतिनिधिसभाको क्षेत्र नं. १ मा टिकट पाएको छ ।
एकीकृत समाजवादीले गठबन्धनबाट दैलेखको एक सीटमा टिकट पाएको छ । टिकट पायको यस क्षेत्रका मुख्य प्रतिस्पर्धी उम्मेदवार पूर्व सहकर्मी नै हुन् । प्रतिनिधि सभाको दुई वटा निर्वाचन क्षेत्र रहेको दैलेख १ मा सत्तारुढ गठबन्धनले एकीकृत समाजवादीका कणर्ाली प्रदेश अध्यक्ष अम्मरबहादुर थापालाई उम्मेदवार बनाएको छ । थापासँग एमालेका तर्फबाट जिल्ला पार्टी अध्यक्ष रवीन्द्रराज शर्मा भिड्दै छन् ।
उनीहरू एमालेमा लामो समय सहकार्य गरेका र एउटै भूगोलमा मिलेर राजनीतिक गरेका नेताहरू हुन् । थापा र शर्माको उम्मेदवारी परेपछि यसपटक यहाँ प्रतिस्पर्धा निकै रोचक हुने अड्कलबाजीहरू सुरु हुन थालेका छन् । यी दुवैले एमालेबाट उक्त क्षेत्रमा यसअघि संसदीय निर्वाचन जितिसकेका छन् । यसपटक भने पुरानै सम्बन्ध भएका मित्रहरू नै फरक-फरक दलबाट नयाँ प्रतिस्पर्धीका रूपमा उत्रिएका छन् । एमालेको तुलनामा संगठन कमजोर भएपनि समाजवादीका थापाले गठन्धनसँगै एमालेका मत पनि धेरै लिने अनुमान गरिएको छ । त्यस्तो परिस्थिति बने शर्माका लागि थापा प्रतिस्पर्धामा भारी हुने देखिन्छ ।
यद्यपि, एमाले र समाजवादीका स्थानीय नेताहरूका अनुसार यस क्षेत्रमा पूर्वसहकर्मीहरूको टक्करका कारण परिणाम कसको पोल्टामा पर्छ भन्ने अहिले नै सहज अनुमान गर्न सकिने अवस्था छैन । यी दुवै यस क्षेत्रमा राम्रो जनाधार भएका प्रभावशाली नेता मानिन्छन् । आफूले एमालेमा रहँदा निर्माण गरेको संगठन र गठबन्धनको पनि साथ रहेकाले जित सुनिश्चित रहेको थापाको दाबी छ । थापा भन्छन्, ‘मेरो क्षेत्रमा एमालेभन्दा गठबन्धन ११ हजार भोटले अगाडि छ । पूर्वएमाले भएकाले मलाई एमालेका ४० प्रतिशत भोट थपिने छ ।’ शर्माले पनि एमालेको बलियो जनाधार भएकाले थापालाई सहजै जित्न सकिने दाबी गर्दै आएका छन् ।
यसैगरी, दैलेख २ प्रदेशसभा (ख) मा पनि एमाले र पूर्वएमालेबीच नै प्रतिस्पर्धा हुने भएको छ । सो क्षेत्रमा एमालेले पार्टीका कणर्ाली प्रदेश कमिटी अध्यक्ष विनोद शाहलाई उम्मेदवार बनाएको छ भने मनोनयन दर्ता गर्ने दिनमै एमाले छोडेर माओवादी केन्द्रमा गएका योगेन्द्र शाही उनकै प्रतिस्पर्धी बनेका छन् । एमालेको केन्द्रीय अर्थ विभागका सचिव योगन्द्रलाई माओवादी केन्द्रले आफ्ना उम्मेदवारलाई ‘ब्याक’ गर्दै अकस्मात् टिकट दिएको हो ।